२०८१ वैशाख ११ गते | 23rd of April 2024

काठमाडौ उपत्यकामा दिनहुँ सय बढि संक्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २९ गते १५:२९

काठमाडौँ – काठमाडौँ उपत्यकामा बिहीबार कोरोनाभाइरसका १२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडाैँ उपत्यकामा पछिल्लो तीन दिनयता लगातार एक सय जनाभन्दा बढी नयाँ सङ्क्रमित थपिएका हुन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाैँमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना गरी पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकामा १२७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । बिहीबार देशैभरि ५२५ जना नयाँ सङ्क्रमितको पुष्टि भएका थिए ।
पछिल्लो तीन दिनमा मात्रै काठमाडाैँ उपत्यकामा ३९९ जना सङ्क्रमित फेला परेका छन् । काठमाडाैँमा बुधबार १३८ र मङ्गलबार १३४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । बुधबार देशैभरि ४८४ र मङ्गलबार ६३८ जना सङ्क्रमित फेला परेको थियो । मन्त्रालयका अनुसार पछिल्लो तीन दिनमा काठमाडाैँ उपत्यकासहित देशैभरि एक हजार ६४७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये तीन सय ९९ जना काठमाडाैँ उपत्यकाका छन् । काठमाडाैँ उपत्यकामा तीन दिनमा पुष्टि भएका सङ्क्रमित देशैभरिमा सङ्क्रमण पुष्टि भएकाहरूको २४.२२ प्रतिशत हो ।
गृह मन्त्रालयले काठमाडाैँसहित देशैभरि बढ्दो सङ्क्रमणलाई लिएर आवागमन बन्द गर्ने निर्णय गरिसकेको छ । परिणामस्वरुप सार्वजनिक यातायात बन्द गरिएको छ । ७७ वटै जिल्लालाई सबारी पास जारी नगर्न निर्देशन दिइएको छ ।
सरकारी कार्यालयहरूमा ‘वर्क फ्रम होम’को अवधारणा ल्याइएको छ । अधिकांश सरकारी कार्यालयहरूले कार्यालयमा उपस्थित भई काम गर्नुपर्ने कर्मचारीको सङ्ख्यामा कटौती गरेको छ । जसले गर्दा काठमाडाैँ शहरको मुख्य बजार स्थलमा चहलपहल कम देखिएको छ । काठमाडाैँ उपत्यकामा बढ्दो सङ्क्रमणका बीच मुख्य बजार क्षेत्रका पसलहरू समेत स्वतः स्फूर्त बन्द गरिएका छन् ।
काठमाडाैँमा पछिल्लो तीन दिनमा पुष्टि भएको सङ्क्रमित देशैभरि पुष्टि भएको तीन दिनको सङ्क्रमितको करिब २५ प्रतिशत हो ।

काठमाडाैँ उपत्यकाको ११ प्रयोगशाला तथा हेटौँडास्थित कीटजन्य अनुसन्धान केन्द्रमा एक जना काठमाडाैँका गरी बिहीबार १२७ जना सङ्क्रमितको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला–टेकुमा काठमाडाैँका १३, हयाम्स अस्पतालमा काठमाडाैँका नौ र ललितपुरका एक, शुक्रराज ट्रपिकल अस्पताल, टेकुमा ललितपुरका दुई, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडाैँका तीन जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा काठमाडाैँका ४८ तथा लतिपुरका एक, बीआईडीएच ल्याबमा काठमाडाैँका चार, नेपाल–कोरिया मैत्री स्पतालमा काठमाडाैँका सात र भक्तपुरका चार तथा स्टार अस्पताल–सानेपामा काठमाडाैँका १९, ललितपुरका सात र भक्तपुरका एकमा कोरोनाभाइरसको सङ्क्रमित फेला परेका हुन ।
कीटजन्य अनुसन्धान केन्द्र, हेटौँडामा एक, धुलिखेल अस्पतालमा काठमाडाैँका दुई वीर अस्पतालमा काठमाडाैँका चार र सूर्या प्रयोगशाला लाजिम्पाटमा एकमा सङ्क्रमित पुष्टि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *