२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपालको ३९ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १ गते १४:५४

काठमाडौ -स्थानीय प्रशासन तथा स्थानीय तहले आवश्यकताको आधारमा ३९ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कोभिड–१९ को फैलन थालेसँगै स्थानीय प्रशासन तथा स्थानीय तहले पूर्ण तथा आंशिक लकडाउन गरेका हुन् ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाले ३९ जिल्लामा फरक फरक प्रकारले निषेधाज्ञा जारी गरिएको बताउनुभयो । जिल्लामै सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कतै जिल्ला प्रशासन कार्यालयबाटै सूचना जारी भएर निषेधाज्ञा लगाइएको छ भने अधिकांश स्थानीय तहले आफूले स्वतःस्फूर्त रुपमा लकडाउन गरेका छन् । उहाँका अनुसार सोमबार दिउँसोसम्म ३९ जिल्लामा आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी भएका छन् । २८ जिल्लामा स्थानीय प्रशासनले सङ्क्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरिएको उहाँले गोरखापत्र अनलाइनलाई बताउनुभयो । पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।

यता, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, पश्चिम रुकुम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक रुपमा लकडाउन रहेको छ । त्यो क्रम निरन्तर रुपमा बढिरहेको प्रवक्ता बुढाले बताउनुभयो । आफ्नो स्थानीय तहमा जोखिमको आधारमा स्थानीय तहले निषेधाज्ञाको फरक फरक शैली अपनाएका छन् ।निरन्तर कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि कोरोनाको नयाँ हटस्पटको रुपमा विकास भएको काठमाडौँ उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । सवारी साधनहरूमा जोर बिजोर, रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् । उपत्यकाभित्र १३ वटा समूहले निगरानी र अमुगमनमा राखिएको छ । नेपाल, प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालयको अधिकृत, स्वास्थ्यकर्मी सम्मिलित टोलीले मास्कको प्रयोग जोर बिजोर, होटेल, मल तथा रेष्टुराँहरूको अनुगमन गर्ने गृह मन्त्रालयका प्रवक्ता बुढाले बताउनुभयो । आवश्यकता हेरेर स्थानीय प्रशासनले काठमाडौँ उपत्यकामा थप कडाइ गर्न सक्ने प्रवक्ता बुढाले बताउनुभयो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएसँगै काठमाडौँ, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके जोखिम क्षेत्रमा परेका छन् । पाँचवटा जिल्ला अहिले कोरोनाको सङ्क्रमणबाट सुरक्षित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *