२०८१ वैशाख १५ गते | 27th of April 2024

नागरिकका लागि कोरोनाविरुद्धको खोप निःशुल्क दिने अष्ट्रेलियाको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ३ गते १४:४८

क्यानबेरा । बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ ।
प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिने बताउनुभएको छ । तर यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण सफल, सुरक्षित र प्रभावकारी हुनुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री मरिसनले अक्सफोर्डको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको र यो सफल हुन अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यदि यो खोप सफल प्रमाणित भए हामी तत्कालै उत्पादन गरेर २ करोड ५० लाख अस्ट्रेलियालीलाई निःशुल्क उपलब्ध गराउनेछौँ ।” प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका छिमेकी मुलुकलाई पनि यो खोप उपलब्ध गराउन सकिने बताउनुभएको थियो, तर उहाँले यस सम्बन्धी विस्तृत विवरण दिन अस्वीकार गर्नुभयो ।
उहाँले खोपका बारेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडा, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र फिजीका प्रधानमन्त्री फ्रान्क बैनीमारामासँग पनि हालै छलफल गर्नुभएको थियो । मरिसनले संवाददाताहरूलाई भन्नुभयो, “अस्ट्रेलियाले प्रशान्त क्षेत्रीय राष्ट्रहरूलाई मद्दत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *