२०८१ वैशाख १३ गते | 25th of April 2024

कोरोना महामारीमा ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहेकाहरुको उच्च सह्राना गर्न कांग्रेस सभापति देउवाको अपिल

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ७ गते १५:४१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयम, एकता र दृढताका साथ कोरोना भाइरसको सामना गर्न अपिल गरेका छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकार, स्वास्थ्यकर्मीसँगै सम्पूर्ण नेपालीलाई संयम, एकता र दृढताका साथ कोरोना भाइरसको सामना गर्न अपिल गरेका हुन् ।“देशका कैयौं भागमा लकडाउन र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको छ । कोरोना महामारीका कारण उत्पन्‍न यस्तो प्रतिकूल समयमा म समस्त दिदिबहिनी दाजुभाइलाई संयम र एकता साथ आजको परिस्थिति सामना गर्न हार्दिक अपिल गर्दछु,” उनले भनेका छन् ।सभापति देउवाले कोरोना महामारीमा ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहेकाहरुको उच्च सह्राना गर्दै उनीहरुका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल् हुन नदिन विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रह गरेका छन् ।

उनले केही स्थानमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्दा दुःख लागेको भन्दै स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन तीनवटै तहका सरकारहरुलाई सजग गराएका छन् ।“आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो । यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु,” सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपील पनि गरेका छन् । उनले पीसीआर परिक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता विस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पुर्‍याउन माग गरेका छन् ।“कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु,” सभापति देउवाले भनेका छन्, “खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *