२०८१ वैशाख १५ गते | 27th of April 2024

असोज १ गतेबाट आन्तरिक हवाई उडान र लामो दूरीका यातायातका साधन सञ्चालनमा ल्याउने निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १५ गते १४:५९

काठमाडौं । सरकारले, आगामी असोज १ गतेबाट आन्तरिक हवाई उडान र लामो दूरीका यातायातका साधन सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणको जोखिम यथावत रहेपछि सरकारले असोज १ गतेबाट मात्र अन्तरजिल्ला र लामो दुरीका यातायातका साधान सञ्चालनमा ल्याउने निर्णय गरेको बताउनुभयो । यसअघि भदौ १६ गतेबाट अन्तरजिल्ला र लामो दुरीका यातायातका साधन सञ्चालन गर्ने भनिएको थियो । सरकारले प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा त्यस क्षेत्रका समानुपातिक सांसदहरुलाई जनप्रतिनिधिको हैसियतले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको कामहरुको आवश्यक समन्वय र अनुगमन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ७५ औं महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेृतृत्वमा १० सदस्यीय प्रतिनिधि मण्डल गठन गरेको सरकारका प्रबक्ता डा. खतिवडाले जानकारी दिनुभयो ।यसैगरी सरकारले विदेशबाट दैनिक ८ सय जना नेपालीको उद्दार गर्ने निर्णय समेत गरेको छ ।सरकारले पिसिआर परीक्षण सहज नभएका देशहरु साउदी अरब, कुवेत र कतार लगायका मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाउने निर्णय गरेको मन्त्री डा. खतिवडाले बताउनुभयो ।यसैगरी सरकारले सबै प्रदेश सरकार र स्थानीय तहले संक्रमण जोखिम विश्लेषणका आधारमा प्रदेश र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा आईसोलेसन बेडको प्रबन्ध गर्ने, काठमाडौं उपत्यकाका हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथा वागमती प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले आवश्यकता अनुसार थप आईसोलेसन बेडको प्रबन्ध गर्ने निर्णय गरेको मन्त्री डा. खतिवडाले बताउनुभयो । सरकारले नेपालका शिक्षण संस्थामा पढ्न आउने विदेशी विद्यार्थीलाई नेपाल आउन दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता खतिवडाले नेपालमा अध्ययन गर्न र परीक्षा दिन आउनुपर्ने विदेशी विद्यार्थीहरूलाई ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ प्रमाणपत्र र सम्बन्धित शिक्षण संस्थामा आवेदन वा भर्ना भएको प्रमाणका आधारमा शिक्षा मन्त्रालयको सिफारिसमा नेपाल आउन अनुमति दिने निर्णय भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *