२०८१ वैशाख ७ गते | 19th of April 2024

काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्म निषेधाज्ञा कायमै

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १७ गते १५:०४

काठमाडौं । काठमाडौं उपत्यका प्रवेशमा कडाइ गर्दै भित्र केही सहजता अपनाउनेगरी निषेधाज्ञा कायमै गरिएको छ । यसअघि बिहान ९ बजेसम्म सञ्चालन गरिँदै आएका पसल अब ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । भदौ २४ गतेसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गर्दै त्यस अवधिमा अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि, पानी मात्र बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने भएको छ भने खाद्य वस्तु, दूध, फलफूल, तरकारी, माछामासु बिक्री वितरण गर्ने पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

त्यसैगरी विकास निर्माणसँग सम्बन्धित पसल, व्यवसाय साथै छोटो दुरीका ढुवानीका लागि प्रयोग हुने सवारीसाधन दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्नेछ । पीसीआर नेगेटिभ   भएका व्यक्तिबाट टेक अ वे सेवा सञ्चालन गर्न पाइनेछ भने सरकारले तोेकेको मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।

होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरुको अभिलेख राख्ने र अनलाइन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिनेछ । सो सेवाको मापदण्ड जारी भएपछि मात्रै सेवा सञ्चालन गर्न पाइनेछ ।

विमानस्थलदेखि होटलसम्म जाने सवारी पनि सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ ।  स्वाब परीक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेलसम्म अनिवार्यरुपमा होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *