२०८१ वैशाख १३ गते | 25th of April 2024

अत्यासलाग्दो आत्महत्या, नेपालमा बर्सेनि १७ प्रतिशत वृद्धि

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २५ गते ११:२७

काठमाडौं – सेप्टेम्बर १० तारिखमा ‘विश्व आत्महत्या रोकथाम दिवस’ मनाइन्छ । आत्महत्या गर्ने मानिसको संख्या बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को अग्रसरतामा सन् २००३ देखि आत्महत्या रोकथाम दिवस मनाउन थालिएको हो ।

हरेक वर्ष दिवस मनाइए पनि आत्महत्या भने घट्नुको साटो झन् बढ्दै गएको छ । मनोविद् तथा अनुसन्धाताहरूले आत्महत्या बढ्नुका अनेकौं कारण औंल्याएका छन् । यस्तै कारणको अध्ययनबाट विश्व स्वास्थ्य संगठनले आत्महत्या रोकथामका लागि विशेष नारा तय गर्ने गर्दछ । यस वर्षका लागि ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नारा तय गरिएको छ ।

बढ्दो दर :
आत्महत्या गर्ने दर नेपालमा पनि बढ्दै गएको छ । नेपालमा पाँच वर्षयता आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको पाइएको छ । बर्सेनि आत्महत्या गर्नेको संख्या कम्तीमा पनि १७ प्रतिशत वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । प्रहरीको तथ्यांकलाई हेर्दा नेपालमा दैनिक १४ देखि १६ जनाले आत्महत्या गरेको देखिन्छ ।

आर्थिक वर्ष ०७५र७६ मा देशभर ५ हजार ७ सय ९५ वटा आत्महत्याका घटना भएको नेपाल प्रहरीको तथ्याङ्क छ । त्यसको अघिल्लो आर्थिक बर्षमा यो संख्या ५ हजार ३ सय १७ थियो । २०६१ देखि २०७१ साल सम्मका १० वर्षमा नेपालमा २९ हजार ९ सय ५ जनाले आत्महत्या गरेको नेपाल प्रहरीले जनाएको छ । नेपालमा, आत्महत्या गर्ने बालबालिकाको संख्या पनि भयावह बन्दै गइरहेको छ । आर्थिक वर्ष ०७६र७७ मा ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेकोमा बालबालिका ६ सय ६२ जना रहेको नेपाल प्रहरीको तथ्याङ्कमा छ । जसमध्ये ४ सय १० जना बालिका र २ सय ५२ जना बालक छन् ।

प्रहरीले गरेका अनुसन्धानबाट पुरुष ४५ वर्षपछि र महिला ५० वर्षपछि आत्महत्या गर्ने जोखिम बढ्दै गएको पाइएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सुरु भएको लकडाउनदेखि अहिलेसम्म २ हजार २ सय १८ जनाले आत्महत्या गरेको नेपाल प्रहरीले जानकारी दिएको छ । जसमा २ सय ३५ जना बालबालिका छन् ।

मुख्य कारण डिप्रेसन र मानिसक समस्या :
नेपालमा हुने आत्महत्यामध्ये ९० देखि ९५ प्रतिशत मानसिक रोगका कारणले हुने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । त्यसमध्ये ८० प्रतिशतले डिप्रेसनको कारणले आत्महत्या गरेको पाइएको छ ।

मानसिक रोग भएका बिरामीमा आत्महत्याको जोखिम धेरै हुने मनोविद् डाक्टर गोपाल ढकाल बताउँछन् । उनले भने अन्तर्राष्ट्रियस्तरमा भएका अध्ययनका तथ्यांकअनुसार आत्महत्या गरेका करिब ९० प्रतिशत व्यक्तिमा कुनै न कुनै मानसिक रोग हुने गरेको पाइएको छ । स्किजोफ्रेनिया ९साइकोसिस०, डिप्रेसन, अनि दुर्व्यसनका बिरामीमा आत्महत्याको उच्च जोखिम रहेको पाइएको ढकालले बताए ।

सामान्य मानिने मानसिक रोगका कारण मानिसले आत्महत्या गर्ने गरेको पाइन्छ । डिप्रेसन भएको व्यक्तिले एकैपटक आत्महत्या नगरी धेरै कुरा सोच्ने र योजना बनाउँदै जाने र सामान्य अवस्थामा आउन नसके आत्महत्याको निर्णयमा पुग्ने गरेको मनोविद् ढकालको भनाइ छ ।

डिप्रेसनमा परेका १५ देखि २० प्रतिशत मान्छेले मात्रै आत्महत्या गर्ने गरेको अध्ययनहरूले देखाएका छन् । सन्तान जन्माएपछि नेपालका १० प्रतिशत महिलामा डिप्रेसन हुने र त्यसको उपचार नगरिए उनीहरूले आत्महत्या गर्ने गरेको विभिन्न अध्ययनले देखाएको मनोविद ढकालले जानकारी दिए ।

कडा खालको मानसिक समस्याले ५ प्रतिशत, बुढेसकालमा हुने अल्जाइमर्स ९बिर्सने० समस्याले ५ प्रतिशत र जाँडरक्सी, लागू औषध खाने लगायत कारणले आत्महत्या गर्ने गरेको पाइएको छ । यस्तै महिलातर्फ प्रजनन उमेरका १५ देखि ४५ वर्षसम्मका महिलाको मृत्युको पहिलो कारण आत्महत्या मानिँदै आएको पनि उनले बताए ।

प्रत्येक ३ सेकेन्डमा प्रयास, ४० सेकेन्डमा आत्महत्या :
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वार्षिक ८ लाख नागरिकले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक ३ सकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने संगठनले जनाएको छ ।

विश्वमा महिलाभन्दा पुरुषको आत्महत्या गर्ने संख्या धेरै रहेको पाइएको छ । आत्महत्या गर्ने प्रयास भने पुरुषको तुलनामा महिलाले धेरै गर्ने भए पनि आत्महत्या नै गर्ने संख्या चाहिँ पुरुषको धेरै रहेको संगठनको प्रतिवेदनमा छ ।

रोकथामका उपाय :
डिप्रेसनलगायत मानसिक समस्या भएका बेला एक्लोपनको महसुस धेरै हुन्छ । यस्तो समस्या भएका व्यक्तिलाई परिवारका सदस्यले धेरै सहयोग गर्नुपर्ने मनोविद्हरू बताउँछन् । उनीहरूका समस्या समाधान गर्न परिवारका सदस्य, साथी लगायतले मद्दत गर्नुपर्दछ । उनीहरूका समस्या सुनिदिने, बुझिदिने, समाधानका लागि उपाय खोज्ने, उनीहरूलाई हौसला दिने, अघि बढ्न प्रेरणा दिने र मनोवैज्ञानिक समस्या धेरै नै भए अस्पताल वा चिकित्सकको परामर्शमा लैजानुपर्ने मनोचिकित्सकहरूको सुझाव छ ।

आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने, उनीहरूको मनको कुरा सुनिदिने, काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी उपचार प्रक्रियामा सहयोग गर्ने जस्ता काम गर्नुपर्छ । सबै पक्षसँग समन्वय, सहयोगका लागि सहकार्य र आत्महत्याको जोखिममा रहेका व्यक्ति, वर्ग र समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्न सकियो भने आत्महत्याको रोकथाममा सहयोग हुने मनोविद्हरूको भनाइ छ ।

समाज, घरपरिवार, संघ–संस्था सबैको सहयोग भए आत्महत्या कम गर्न सकिने ढकाल बताउँछन् । ‘शून्यमै झार्न नसकिएला तर कम गर्ने प्रयास गर्नुपर्छ,’ मनोविद् ढकाल भन्छन्, ‘र यो सम्भव छ ।’

यसका लागि आत्महत्या र मानसिक रोगसम्बन्धी जानकारी दिने, परामर्शका लागि हटलाइन सेवा प्रदान गर्ने, र स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको कुल बजेटको १० प्रतिशत बजेट मानसिक स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने मनोविद ढकालको भनाइ छ ।

(शिक्षापत्रबाट लिइएको )

Leave a Reply

Your email address will not be published. Required fields are marked *