२०८१ वैशाख १४ गते | 26th of April 2024

नेकपा स्थायी कमिटी बैठक शुक्रबार सकियो ,ओली सरकार प्रचण्ड पार्टीमा केन्द्रित हुने

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २६ गते ११:३९

काठमाडौं । सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले  अध्यक्षद्वयको कार्यविभाजनलाई थप प्रष्टाएको छ।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका कामकारबाहीलाई प्रभावकारी ढंगले अगाडि बढाउने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका कामकारबाहीमा केन्द्रित रहने स्थायी कमिटी बैठकले निर्णय गरेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्षद्वयको कार्यविभाजनको हकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र प्रभावकारी ढंगले सरकारलाई सफल पार्ने निर्णय भएको छ।अर्का अध्यक्ष प्रचण्ड पार्टी कार्यकारी अधिकारसहित पार्टीमा काम गर्ने पनि निर्णय भएको उनले बताए। असार १० देखि जारी स्थायी कमिटी बैठक शुक्रबार सकिएको छ।बैठकमा अध्यक्षद्वयले तयार पारेको प्रस्तावमाथि १३ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए। उक्त धारणामाथि अध्यक्ष प्रचण्डले जवाफ दिएका थिए। बैठकले पार्टी एकता रक्षा गर्ने, सुदृढ गर्दै अगाडि बढाउने पनि निर्णय गरेको श्रेष्ठले बताए।

असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बालुवाटारमा भएको हो । यसअघि असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि मोडिन पुगेको थियो । विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेपछि स्थगित रहँदै आएको थियो । साउन १३ गते बहुमत (३१जना) स्थायी कमिटी सदस्य बालुवाटारमै भेला भए पनि पार्टी अध्यक्ष प्रचण्डले त्यसलाई जारी बैठकको निरन्तरता नमान्ने बताएका थिए ।

असार १० गतेबाट सुरु भएको बैठकमा १२, १३ गते कार्यसूचीमाथि छलफल भएको थियो । १६ गतेको बैठक प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्तिमाथि केन्द्रित भएको थियो भने १८ गतेको बैठक प्रधानमन्त्री ओलीले संसद् अधिवेशन हठात् अन्त्य गरिदिएपछि अन्यौलमा टुङ्गिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *