२०८१ वैशाख १४ गते | 26th of April 2024

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६४ प्रतिशत सकियो

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २७ गते १४:३९

काठमाडौ । पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना तोकिएकै समयभित्र सकिने बताएका छन्।  आयोजनाको निरीक्षण गर्दे  मन्त्री भट्टराईले  कोरोना भाइरसका महामारीका बाबजुद् आयोजनाको काम २०२१ जुनभित्रै सकिने  बताए। कोरोना भाइरसको महामारीका कारण चिनियाँ कामदार ल्याउन र आयोजना निर्माणमा चाहिने सामग्री ल्याउन नसकेको उनले बताए। चिनियाँ कामदार ल्याउन आयोजनाले पराराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गरेको भन्दै उनले चिनियाँ सरकारका एजेन्सीहरूसँग कुरा गरेर कामदार ल्याउने बताए।‘सरकारले ठूला आयोजनामा काम गर्ने कामदार तथा प्राविधिकलाई रोकेको छैन’, उनले भने, ‘उहाँहरू आउनका निम्ति चिनियाँ सरकारका विभिन्न एजेन्सीसँग हामी कुरा गर्छौं।’

अन्तर्राष्ट्रिय उडान खुल्दै गएकाले विदेशबाट आवत–जावत गर्न समस्या नपर्ने उनको भनाइ छ। आयोजना बनाउन आवश्यक प्रविधि तथा सामग्री ल्याउनका लागि पनि भन्सारमा आफूले सहजीकरण गर्ने उनले बताए। आयोजना निर्माणको काम सन्तोषजनक भएको भन्दै उनले आयोजनामा कार्यरत मजदूर एवं आयोजनाका प्रमुखलाई धन्यवाद दिए।आयोजना निर्माणमा देखिएको मुआब्जाको समस्या पनि समाधान भएको मन्त्री भट्टराईले दाबी गरे।यसका लागि स्थानीयले निवेदन दिएको भन्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छिटो सकिने बताए। आयोजना निर्माणमा देखिएको ल्याण्डफिल्ड साइट र डाँडा काट्नुपर्ने समस्या पोखरा महानगर र प्रदेश सरकारसँग समन्वय गरेर समाधान गर्ने उनले बताए।

विमानस्थल निर्माणमा अहिले १ सय ८० जना चिनियाँ र १ सय जना नेपाली कामदार गरी २ सय ८० जना कामदारले काम गरिरहेको आयोजना प्रमुख बिनेश मुनकर्मीले बताए।

आगामी डिसेम्बरभित्र २ सय जना बढी चिनियाँ दक्ष कामदार एवं प्राविधिकहरू ल्याउनुपर्ने उनले बताए। लकडाउन र अन्तर्राष्ट्रिय उडान नखुल्दा कामदार ल्याउन समस्या देखिएको उनको मुनकर्मीको भनाइ छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले २०१७ नोभेम्बर १ देखि काम थालेको थियो। उक्त कम्पनीसँग भएको सम्झौता अनुसार आयोजना निर्माणको काम २०२१ जुलाई १० भित्र सक्नुपर्छ। चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा २२ अर्ब रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको छ।हालसम्म आयोजना निर्माणको काम ६४ प्रतिशत सकिएको आयोजना प्रमुख मुनकर्मीले बताए।विमानस्थलको रनवे, एप्रोन, ह्याङ्गर, पार्किङ, पाइपलाइन, ट्रान्सफर्मर लगायतका काम अहिले सकिएको छ भने अहिले टर्मिनल भवन, विमानस्थलभित्र एक्सेस रोड निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *