२०८१ वैशाख ८ गते | 20th of April 2024

टिकटक अमेरिका प्रबेशमा ग्रिन सिग्नल

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ४ गते १३:५०

एजेन्सी ।  टिकटकमा अमेरिकी लगानी भित्र्याउने चिनियाँ टेक कम्पनी बाइट डान्सको प्रयास अन्ततः सफल हुने देखिएको छ । अमेरिकी सफ्टवेयर टाइकुन ओराकल कर्पोरेशनले लगानीका लागि अघि बढाएको प्रक्रियाले लामो समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट ‘ग्रीन सिग्नल’ पाएपछि अब टिकटकले ट्रम्प प्रशासनले दिएको प्रतिबन्धको चेतावनीबाट पनि राहत पाएको छ । चीन-अमेरिकाबीचको व्यापार युद्धको समस्या सुल्झन नपाउँदै चीनबाट उब्जिएको कोभिड-१९ ले अमेरिकी अर्थतन्त्र र जनजीवन सर्वाधिक प्रभावित भएपछि यी दुई देशबीचको सम्बन्ध जनस्तरमै चिसिएको बताइन्छ  । यसको असर द्विदेशीय लगानी र एकअर्को मुलुकमा संचालित ठूला अमेरिकी तथा चिनियाँ कम्पनी र तिनको उत्पादन/सेवा सम्म परेको छ ।

त्यसैको उपक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी र तिनका उत्पादनहरु अमेरिकामा निषेध गर्ने घोषित रुपमै बताउँदै आएका हुन् । चिनियाँ कम्पनी बाइट डान्स लिमिटेडको सोसल प्लेटफर्म मोबाइल एप ‘टिकटक’ लाई पनि अमेरिकामा प्रतिबन्ध लगाउने भन्दै आएकाले ट्रम्पले यसमा ओराकल र अन्य कम्पनीहरुको लगानी प्रक्रियालाई पनि रोकिराखेका थिए । ओराकल र वालमार्ट इंकले बाइट डान्सको सहायक कम्पनी टिकटक ग्लोबलको क्रमशः १२.५ % ७.५% हिस्सा लिन चाहेको बताइएको छ । यस्तै, टिकटकले पनि यी दुवैले गरी कुल २०% स्वामित्व पाउने जनाएको छ ।बाइट डान्सले दुई अमेरिकी कम्पनीसँगको डिलमा टिकटकको मूल्या‌ंकन ६० अर्ब डलरको दाबी गरेको स्रोतको हवाला दिँदै भारतीय मिडिया हिन्दुस्तान टाइम्सले लेखेको छ । दुवै कम्पनीले अमेरिकामा टिकटक ग्लोबलको प्रि-आइपीओमा भाग लिएर सोबराबरको फाइनान्सिङ गर्ने पनि टिकटकले ट्विटरमार्फत जानकारी गराएको हो । प्रि-आइपीओपछि टिकटकले एक वर्षभित्र आइपीओ जारी गर्ने बताइएको छ । ट्रम्पले प्रक्रिया हप्तौं रोकेर हालै यसका लागि अनुमति दिएपछि अब चीनको नियामक निकायबाट पनि अनुमति आउन बाँकी रहेको बताइएको छ । टिकटक ग्लोबलको प्यारेन्ट कम्पनी बाइट डान्स चिनियाँ कम्पनी भएकाले ‌ओराकलसँगको डिललाई अन्तिम रुप दिन चिनियाँ नियामकको अनुमति अनिवार्य भएको हो ।

यद्यपि, टिकटकमा अमेरिकी कम्पनीको लगानीका लागि मुख्य बाधकका रुपमा देखिएका ट्रम्पले नै बाटो खुला गरिदिएकाले अब यो डिल अन्तिम चरणमा पुगेको बताइएको छ ।यो म्युजिक तथा भिडियो सेयरिङ एप अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि चुनौति भएको भन्दै ट्रम्प प्रशासनले अमेरिकामा यसको व्यवसाय बन्द गर्ने चेतावनी दिएको थियो । त्यससँगै बाइट डान्सले अमेरिकी सम्भावित लगानीकर्ताहरुसँग त्यहाँ यसको संचालनका लागि साझेदारीबारे छलफल अघि बढाएको हो । त्यसक्रममा माइक्रोसफ्टसँग पनि यसले बातचित गरेको थियो । तर टिकटकको सम्पूर्ण अमेरिकी अपरेशनको नियन्त्रण आफूमा हुनुपर्ने शर्त माइक्रोसफ्टले राखेपछि बेइजिङले नै यसमा असहमति जनाएको थियो ।

प्रविधि कम्पनी ओराकलले टिकटकको ‘ट्रस्टेड टेक्नोलोजी प्रोभाइडर’ का रुपमा अमेरिकास्थित सर्भरको डाटा सुरक्षामा काम गर्ने बताइको छ । यसले टिकटकको सोर्स कोड र अल्गोरिदमको मोनिटरका लागि पनि पहुँच पाउने जनाइएको छ ।ओराकल विशेषगरी कम्प्युटर प्रविधिसँग सम्बन्धि विभिन्न सफ्वेयर उत्पादन तथा बिक्री गर्दै आएको बहुराष्ट्रिय अमेरिकी कम्पनी हो । यस्तै, अर्को प्रस्तावित लगानीकर्ता वालमार्टका सीईओ डोग म्याकमिलोन टिकटक ग्लोबलको संचालक समिति (बोर्ड) मा हुनेछन् । यो डिल सफल भएमा टिकटक ग्लोबलको मुख्यालय अमेरिकाको टेक्सासमा राख्ने र २५ हजार कामदार हायर गर्ने लगभग तय भएको ट्रम्पले ट्विटमार्फत उल्लेख गरेका छन् । यद्यपि यो कहिलेसम्ममा भन्ने खुलाइएको छैन ।दुई अमेरिकी कम्पनीलाई भित्र्याए पनि टिकटक ग्लोबल तथा यसका सम्पत्तिहरुको अधिकांश स्वामित्वको अधिकांश हिस्सा बाइट डान्ससँग नै हुने र अमेरिकाले नजिकबाट नियालिरहेको अल्गोरिदमको मुल नियन्त्रण पनि उसैसँग हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *