२०८१ वैशाख १४ गते | 26th of April 2024

एनआरएन नागरिकता बिधेयकमाथी कालो बादल

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ८ गते ०:४०

– सुमन वस्ती

२०६२/२०६३ को ऐतिहासीक जनआन्दोलन पछि बनेको संबिधान सभाले स्थापित गरेको गैह्र आवासिय नेपाली नागरिकता सम्बन्धि बिधेयक गत संसद अधिबेसनमै पेश हुने तयारीमा थियो । यस सम्बन्धमा नेपालका प्राय: सबै राजनैतिक दलका नेताहरु र सांसदहरुले एनआरएनहरुलाई राजनैतिक बाहेकको सबै अधिकार प्राप्त हुने गरि नागरिकता दिने सहमति भएको थियो । तर यो कुरा नेपालको सत्तारुढ दल नेकपाको एउटा खेमालाइ मन परेको छैन भन्ने कुरा सात समुन्द्र पारीबाट पनि स्पस्ट देख्न सकिन्छ । प्रजातान्त्रिक मुलुकमा स्वभावत: सत्तारुढ दल तुलनात्मक रुपमा आलोचित हुने गर्दछ तर नेकपाको वर्तमान सरकार प्रारम्भ देखि नै यसका अव्यबहारिक, गैह्र जिम्मेवार, अपारदर्शी, अप्रजातान्त्रिक, अदुरदर्शी र पदोलोलुप्त निर्णय र कदमका कारण चर्को आलोचनाको भुमरीमा पर्दै आएको छ ।

आलोचना गर्ने क्रम स्वदेशमा मात्रै सिमित छैन अन्य बिषय जस्तै भूमण्डलीकरणका कारण आलोचना पनि विश्व भरिका नेपाली डायस्पोराबाट समेत भै रहेको कारण सिद्धान्तत: आफुलाई कम्युनिष्ट देखाउन खोज्ने केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकार भविष्यमा एनआरएनहरुबाट हुन सक्ने बैचारिक हस्तक्षेपलाइ ध्यानमा राखेर गैह्र आवासिय नेपाली नागरिकताको बिषयलाई तत्काल सल्टाउन चाहदैंन । बरु बार्गेनिङ्गको बिषय बनाउन चाहान्छ । एनआरएन नागरिकताको बिषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि खासै धेरै चासो लिएर अगाडी आएको छैन ।

एनआरएन नेताहरुसंगका सम्बादमा आफ्नो पुरै समर्थन रहेको देखाए पनि कांग्रेसले समेत यो बिषयलाई गम्भीरतपुर्वक उठाउन खासै जाँगर देखाएको छैन । यसका मुलत: दुईटा कारण छन् ; पहिलो कारण भनेको राजनैतिक अधिकार नभएको बर्गलाई धेरै शक्ति लगाएर पार्टीलाई राजनैतिक लाभ हुने देखेको छैन भने परम्परागत सोच भएका नेताहरुले कालान्तरमा बिकसित देशमा बसेका एनआरएनहरुले आफ्नो परम्परागत सोचभन्दा अगाडी बढेर परिस्कृत र आधुनिक विचारधारालाई अगाडी ल्याउदै युवा पुस्तालाई बैचारिक र आर्थिक लगायतका सहयोगहरु उपलब्ध गराएर देशको नितिनिर्माणको तहमा पहुंच पुर्याए भने आफु पछाडी परिने मनोबैज्ञानिक त्रास पालेको देखिन्छ । खासगरी देशका सत्तापक्ष र प्रतिपक्षको पुरातन र संकीर्ण सोच राख्ने बर्गका नेताहरुको यो समान त्रासका कारण एक न एक बहानामा संसदमा निर्णयार्थ पेश गर्ने बेला भएको एनआरएन नागरिकता बिधेयकलाई पून: छलफलमा ल्याउने उल्टो निर्णय भएको छ ।

यो गम्भीर षड्यन्त्रलाई नबुझी अमेरिकी एनआरएनहरु लगायत विश्वका कतिपय देशका राष्ट्रिय समितिहरुले पून: एनआरएनहरुसंग सो सम्बन्धमा सल्लाह सुझाब मागेका छन् । एनआरएन नागरिकता बिधेयकलाइ प्राथमिकताका साथ संसदमा पेश गर्न दबाब दिन बर्तमान अन्तर्रास्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्त समेत चुकेका छन् । एनआरएन अन्तर्रास्ट्रिय समन्वय परिषदको गत बर्ष भएको निर्बाचनमा नेपालको सत्ताधारी दल नेकपासंग पन्त नजिक भनेर प्रचारित भए पनि एकातिर एनआरएन संस्थाले त्यसको फाइदा भने उठाउन सकेको छैन भने अर्कोतिर एनआरएनका मागहरु पुरा गर्न नेपाल सरकारलाई जुन घनत्वका साथ् दबाद दिनु पर्दथ्यो त्यो पनि हुन सकेको छैन । जसले गर्दा एनआरएन नागरिकता बिधेयक समेत अलपत्र पर्ने अवस्था आएको छ ।

बिगत केहि बर्षदेखि एनआरएनले नेपाल सरकार र राजनीतिक दलहरुमाथी बिभिन्न किसिमका दबाबहरु सिर्जना गर्दै नेपालको बर्तमान संबिधानले गैह्र आवासिय नेपालीहरुलाई प्रदान गरेको नागरिकताको हक अन्तर्गतको एनआरएन नागरिकताको बिषयलाई बिभिन्न चरणको छलफल र बहस पछि संसदको राज्य व्यवस्था समितिले बिधेयकको रुपमा संसदमा निर्णयार्थ पेश गर्ने चरणमा पुर्याएपछि सो बिधेयक पास गराऊन एनआरएन, अमेरिका लगायत बिभिन्न देशका राष्ट्रिय समितिले आ-आफ्नै समितिहरु गठन गरि त्यस समितिका पदाधिकारीहरु नेपाल गएर सबै राष्ट्रिय पार्टीका नेताहरुसंग छलफल गरि सबै पार्टीले बिधेयक पारित गर्ने आश्वासनको पोको लिएर आउन सफल भएको भनि सामाजिक संजालमा बधाई र शुभकामनाका संदेशहरु पोतिएका थिए ।

तर ती संदेशहरुको मसी सुक्न नपाउंदै एनआरएन आइसीसीका एक जना उपाध्यक्षले आफ्नो सामाजिक संजालमार्फत र एनआरएन अमेरिकाले बिभिन्न माध्यमबाट एनआरएन नागरिकता सम्बन्धी सर्वसाधारणहरुक राय संकलन गर्न थालेबाट संसदमा निर्णयार्थ पेश गर्न पालो पर्खेर बसेको र सबै प्रमुख राजनैतिक पार्टीहरुको समर्थन रहेको भनिएको एनआरएनहरु नागरिकता बिधेयक पून: प्रारम्भिक छलफलको चरणमा फर्किने हो कि भनेर आम रुपमा आशंका गरिएको छ । त्यसैले यो विधेयकलाई कुनै पनि बहाना नबनाई बिना कुनै अबरोध संसदबाट पारित गराउनु नै तत्कालका लागी बुद्धिमत्ता पूर्ण निर्णय हुनेछ । नत्र सुझाब संकलनका नाममा विभिन्न विवादित बिषयहरु प्रवेश गराई विधेयकलाई नियतले अनिर्णयको बन्दि बनाएर टुहुरो विधेयकको रुपमा अनन्तकालसम्म कुनामा थन्क्याउने र सधैं चुनाबी नाराको रुपमा प्रयोग गर्ने षडयन्त्र सफल हुन सक्छ ।

(अमेरिकाको नर्थ क्यारोलाईना निवासी लेखक वस्ती लामो समयदेखि एनआरएनए अभियानमा संलग्न सकृय अभियान्ता हुन ) ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *