२०८१ वैशाख १५ गते | 27th of April 2024

पहिलो चरणको काम सम्पन्न नहुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम पनि सुरू

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ९ गते ११:५१
   काठमाडौ –  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम पनि सुरू भएको छ । पहिलो चरणको काम सम्पन्न नहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणको निर्माणको काम अघि बढाएको  छ।
प्राधिकरणले विमानस्थलमा टर्मिलन भवन निर्माणका लागि डिजाइनको काम भइरहेको  छ। दोस्रो चरणको आयोजनामा प्राधिकरणले टर्मिनल भवन निर्माणमा मात्र ६ अर्ब लागत अनुमान गरेको छ। यद्यपी यो प्रारम्भिक चरणमा रहेको स्रोतले बतायो।
विमानस्थलमा उडान सुरू भएपछि त्यसको ट्राफिक अनुमान भएपछिमात्र थप पूर्वाधार निर्माण गर्नुपर्नेमा प्राधिकरणले हतारो गरेको आरोप लागेको छ। प्राधिकरणकै कतिपय अधिकारीहरूले ट्राफिक अनुमान नगरी ठूलो लागतको आयोजना अघि बढाउन नहुने बताइरहेका बेला कूल १० अर्ब अनुमानको आयोजना बढ्न लागेको छ। तर पहिलेको अनुमान अनुसार हालको आन्तरिक उडान भइरहेको टर्मिनल भवनलाई प्रयोग गर्न सकिने भनिएको तर अहिले आएर सम्भव नभएकाले तत्काल नयाँ टर्मिनल चाहिएको प्राधिकरणमा राष्ट्रिय गौरवका आयोजना हेर्ने इन्जिनियर प्रदिप अधिकारीले बताउनुभयो। ‘दुई कारणले हामीले ट्राफिक विश्लेषणलाई कुर्न सकिने अवस्था रहेन। पहिलो काठमाडौं विमानस्थल साँघुरिंदै गएको छ। हामीले अहिले सुरु गरेपछि ३/४ वर्ष सम्पन्न हुन पनि लाग्छ। त्यसैले तत्काल निर्माण सुरु गर्न पर्ने भयो। त्यस्तै पहिले हामीले अहिलेको डोमेस्टिक टर्मिनललाई उपयोग गर्ने भनेका थियौं। त्यो धेरै पुरानोमात्र होइन एलाइनमेन्ट पनि नमिल्ने भयो’ अधिकारीले भन्नुभयो।
धावनमार्ग, टर्मिनल तथा टावर निर्माणका लागि प्राधिकरणले पहिलो चरणमा ६ अर्ब ७२ करोड खर्च हुने अनुमान गरिएको छ। त्यस्तै इक्वुपमेन्ट समेत गरी ९ अर्ब लागतमा पहिलोचरणको काम सकिने छ। यो काम अहिले पनि सकिएको छैन। पछिल्लो समय चिनियाँ प्राविधिक फर्किन नपाउँदा काम रोकिएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ। दोस्रो चरणको काममा टर्मिनल बाहेक समानान्तर ट्याक्सी वे, पार्किङ वे जस्ता संरचना निर्माण गर्ने बताएको छ। यी सबैको लागत कूल १० अर्बसम्म पुग्ने अनुमान गरिएको छ।
एरोब्रिजसहितको टर्मिनल बनेपछि अहिले बनेको टर्मिनल आन्तरिक उडानका लागि उपयोग हुने छ। हाल बनेको टर्मिनलमा एक भाग आन्तरिक तथा अर्को भाग अन्तर्राष्ट्रिय उडानका लागि उपयोग हुने छ। पहिलो चरणको विमानस्थल निर्माणमा लगानी गरेको एसियाली विकास बैंकबाटै ऋण लिने सरकारले तयारी गरेको छ।
यसका लागि अर्थ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सयुक्तरुपमा छलफल गरिरहेका छन्। ‘दोस्रो चरणको आयोजनामा पनि लगानी गर्न एडिबी तयार छ। ऋण दिन उनीहरुलाई कुनै समस्या छैन। तर हाम्रो तर्फबाट आयोजनाको विस्तृत विवरण तयार भएर आउने वित्तिकै ऋण सम्झौता हुन्छ’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने।
हाल परामर्शदाताले डिजाइन तथा आयोजनाको विस्तृत विवरण तयार पारिरहेको छ। अबको ६ महिनाभित्र टेन्डर भइसक्ने राष्ट्रिय गौरवका आयोजना हेर्ने निर्देशक प्रदिप अधिकारीले जानकारी दिनुभयो। पहिलो चरणको काम सकिएपछि विमानस्थलले वर्षमा करिब ४ लाख अन्तराष्ट्रिय यात्रुलाई सेवा दिन सक्नेछ। नयाँ टर्मिनल र समानन्तर धावनमार्ग बनेसँगै विमानस्थलको क्षमता विस्तार हुने छ। यो विस्तारपछि विमानस्थल ४० लाख यात्रुलाई सेवा दिन सक्षम हुनेछ। ( सेतोपाटी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *