२०८१ वैशाख १३ गते | 25th of April 2024

  आईतबार  थप १ हजार ५ सय ७३ जना संक्रमित

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ११ गते १४:३६

काठमाडौं ।    नेपालमा कोरोना भाइरसबाट  आईतबार  थप १ हजार ५ सय ७३ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले  १० हजार १ सय २३ वटा नमूना परीक्षण गर्दा १ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

देशका विभिन्न ४८ जिल्लामा गरी ५ सय २४ जना महिला तथा १ हजार ४९ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणको केन्द्र बन्दै गएको काठमाडौ उपत्यकामा आज मात्रै ८ सय ९ जना संक्रमित थपिएका छन् । आज काठमाडौका ६ सय ३३ जना, ललितपुरका १ सय ४ जना र भक्तपुरका ७२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितहरू सहित नेपालमा हाल सम्म ७३ हजार ३ सय ९४ जना संक्रमित भएका छन् ।यसैगरी आज थप ८ सय ८५ जना संक्रमण मुक्त भएका छन् । हाल सम्म ५३ हजार ८ सय ९८ जना संक्रमण मुक्त भईसकेको र निको हुने दर ७३ दशमलव ४ रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

आईतबार   विभिन्न ७२ जिल्लामा गरी १९ हजार १९ जना संक्रिय संक्रमित रहेका छन् । मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्लामा भने कोहीपनि सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित मध्ये १० हजार ६ सय ९८ जना होम आइसोलेसन तथा ८ हजार ३ सय २१ जना जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसैगरी २ सय २५ जना गम्भिर लक्षण सहितका संक्रमितको आईसियुमा र ३३ जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज १ महिला र ९ पुरुष गरी जम्मा १० जनाको कोरोना भाइरस संक्रमण पछि मृत्यु भएको छ ।  मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौका ३, ललितपुर र वर्दियाका २–२ तथा बारा, अछाम र रूपन्देहीका १–१ जनाको मृत्यु भएको छ । योसंगै हाल सम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रियल टाईम पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई सम्वन्धित प्रयोगशालाले नै परीक्षण रिपोर्ट दिने व्यवस्था गरेको जनाएको छ ।संक्रमितलाई आइसोलेसन सेन्टर सम्म पुर्याउने तथा अन्य व्यवस्थापन गर्ने कामलाई सहज बनाउन यस अगाडि इपिडिमियोलोजी तथा सारुवा रोग नियन्त्रण महाशाखामा पठाउनुपर्ने व्यवस्था गरिएको भएपनि पछिल्लो पटक होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएपछि उनिहरूको सुविधाका लागि यो व्यवस्था गरेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *