२०८१ वैशाख ७ गते | 19th of April 2024

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १६ गते १४:१०

एजेन्सी –  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ट्रम्पले शुक्रबार बिहान आफू र मेलानियालाई कोरोना पुष्टि भएको ट्विटबाट जानकारी दिएका छन्। नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावी अभियानका रहेका ट्रम्पलाई कोरोना पुष्टि भएपछि उनी क्वारेन्टिनमा बसेका छन्।

ह्वाइट हाउसले विज्ञप्ति निकाल्दै ट्रम्प दम्पत्तिको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।उनीहरू ह्वाइट हाउसमै क्वारेन्टिनमा बस्नेछन् भने चिकित्सकले निरन्तर निगरानी गरिरहने छन्।चुनावी अभियानका क्रममा मिनिसोटा पुगेका बेला एक सल्लाहकारमा कोरोना पुष्टि भएपछि ट्रम्प दम्पत्तिले कोरोना परीक्षण गराएका थिए। पछिल्लो समय राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा सञ्चारको जिम्मेवारी सम्हालिरहेकी होप हिक्स मिनिसोटामा बिरामी परेकी थिइन्। क्लिभल्यान्डमा भएको राष्ट्रपति उम्मेदवारको पहिलो बहसमा सहभागी हुन हिक्स र ट्रम्पसँगै  एयर फोर्स वन गएकी थिइन्। बुधबार ह्वाइट हाउसबाट निस्किँदा उनी र ट्रम्प मरिन वन हेलिकप्टरमा पनि सँगै थिए। हिक्सलाई संक्रमण भएपछि ट्रम्पलाई पनि कोरोना हुने धेरैले अनुमान गरेका थिए किनकी चुनावी अभियानको क्रममा केही दिनदेखि उनीहरूबीच नियमित सम्पर्क भइरहेको थियो। अहिले ३१ वर्ष पुगेकी हिक्सलाई सन् २०१६ राष्ट्रपतिको उम्मेदवार हुँदादेखि  ट्रम्पले आफ्नो चुनावी अभियानमा प्रेस हेर्ने जिम्मेवारी दिएका थिए।
ट्रम्प राष्ट्रपति बनेपछि हिक्स ह्वाइट हाउसकी सञ्चार निर्देशक बनेकी थिइन्।त्यतिबेला उनी ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जरेड कुसनरको मातहतमा थिइन्। दुई वर्ष काम गरेपछि उनले सन् २०१८ मा पदबाट राजीनामा दिएकी थिइन्।

फेरि चुनाव लड्ने भएपछि हिक्सलाई ट्रम्पले यसपालि फेरि ह्वाइट हाउस ल्याएका थिए।न्युयोर्क टाइम्सका अनुसार उनलाई ‘कन्सुलर टु द प्रेसिडेन्ट’ को पद दिइएको बताएको छ। तर उनको कार्यक्षेत्र भने स्पष्ट रूपमा खुलाइएको थिएन। उनी ट्रम्पको चुनावी अभियानमा सञ्चार रणनीति बनाउन सक्रिय थिइन्। ‘राष्ट्रपति ट्रम्पका एजेन्डा लागु गराउनमा  हिक्सभन्दा बढी समर्पित कोही थिएन,’ ट्रम्पका ज्वाइँ कुसनरले गत फेब्रुअरीमा भनेका थिए,‘उनलाई फेरि टिममा ल्याउन पाउँदा हामी निकै उत्साहित छौं।’ हिक्सले फक्स क्रप्समा पनि प्रमुख सञ्चार अधिकृतको रूपमा काम गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *