२०८१ वैशाख २९ गते | 11th of May 2024

युरोपमा पुन: लकडाउन सुरु

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १३ गते १२:५९

एजेन्सी – कोरोना महामारीको पहिलो चरणमा विश्वभर नियन्त्रणको उपायका रुपमा सुरु भएको लकडाउन फेरि संक्रमण दर बढ्दै गएपछि विभिन्‍न मुलुकहरु देशव्यापी लकडाउनमा फर्किएका छन् । युरोपका दुई ठूला अर्थतन्त्र भएका मुलुक फ्रान्स र जर्मनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै देशव्यापी लकडाउनमा जाने निर्णय गरेका छन् । फ्रान्समा शुक्रबारदेखि देशव्यापी लकडाउन हुने भएको छ । फ्रान्समा शुक्रबारदेखि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाइने नियम जारी गरिएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले मुलुकमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको र पहिलोभन्दा निकै खतरानाक हुने बताउँदै देशव्यापी लकडाउनको घोषणा गरेका हुन् ।

त्यसैगरी जर्मनमा पनि ‘सफ्ट’ देशव्यापी लकडाउन जारी गरिएको छ । जर्मनीमा सोमबार देशव्यापी लकडाउन हुने भएको छ । फ्रान्सभन्दा केही कम प्रभावित भएको जर्मनमा रेस्टुरेन्ट, बार, जिम, थिएटरहरुलगायतका प्लेटफर्महरु बन्द गरिने चान्सलर एन्जेला मर्केलले बताएकी छन् । युरोपसँगै बेलायतमा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । बेलायतका बुधबार ३१० कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो भने २४ हजार ७०१ जना संक्रमित थपिएका थिए । बेलायतको एक अध्ययनले बेलायतका दैनिक एक लाख कोरोना भाइरस संक्रमित देखिने प्रक्षेपण गरेको छ । उक्त अध्ययनले सरकारलाई तत्काल कोरोना नियन्त्रणको नीति परिवर्तन गर्नसमेत सुझाएको छ । फ्रान्समा कोरोना संक्रमणबाट हुने मृत्यु अप्रिलयताकै सबभन्दा बढी देखिएको छ । फ्रान्समा बुधबार ३६ हजार ४३७ कोरोना भाइरस संक्रमित थपिएका छन् भने २४४ जनाको मृत्यु भएको छ । त्यसैगरी जर्मनका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार हालसम्म थप ८९ जनाको मृत्यु भइसकेको छ भने १६ हजार ७७४ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *