२०८१ वैशाख ८ गते | 20th of April 2024

यस्ता छन : मतगणनाको नतिजा आउदै गर्दा असन्तुष्ट ट्रम्पले दायर गरेका मुद्दा

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २१ गते १२:४३

      अमेरिका-  अमेरिकामा राष्ट्रपतीय निर्वाचनका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले मतगणना परिणाममा अग्रता लिएका छन्। तर उनका रिपब्लिकन प्रतिद्वन्द्वी राष्ट्रपति डोनल्ड ट्रम्पले मुख्य चार राज्यमा मतगणनालाई कानुनी चुनौती दिएका छन्। ट्रम्पले कुन कुन राज्यमा के आधारमा कानुनी चुनौती दिएका छन्?

“मङ्गलवार देखिएका अनियमितताहरूका आधारमा” भन्दै ट्रम्पको चुनावी अभियान टोलीले विस्कन्सिनमा पुनः मतगणना हुनुपर्ने माग गरेको छ। राष्ट्रपतिले विस्कन्सिन राज्यमा पुनः मतगणना गराउनका लागि औपचारिक माग गर्ने ट्रम्पको चुनावी टोलीले बताएको थियो। त्यसका लागि “कतिपय विस्कन्सिन काउन्टीहरूमा भएका अनियमिताहरू” लाई कारणका रूपमा प्रस्तुत गरिने बताइएको छ।घोषणा हुन बाँकी मतगणनाको परिणामले विस्कन्सिनमा ट्रम्प र बाइननबीच मतान्तर एक प्रतिशतभन्दा पनि कम रहेको देखाएका छन्। यस्तो अवस्थामा उम्मेदवारहरूले पुनः मतगणनाको माग गर्न पाउँछन्। तर त्यस्तो मतगणनाको खर्च माग गर्ने उम्मेदवारले बेहोर्नुपर्छ।तर त्यस्तो पुनः गणना कहिले होला भन्ने स्पष्ट छैन किनकि अधिकारीहरूले मतगणना परिणामको समीक्षा सम्पन्न नगरिकन त्यस्तो कार्य सामान्यतया सुरु हुन सक्दैन।त्यो प्रक्रिया सम्पन्न गर्न उक्त राज्यलाई नोभेम्बर १७ सम्मको समय छ।

     ट्रम्पको चुनावी खेमाले मिशिगनमा जारी मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरेको छ।त्यहाँ मतपेटिका खोल्ने र गणना थाल्ने कार्यको सुरुआत गर्ने प्रक्रियाको अवलोकन गर्न आफूलाई “अर्थपूर्ण पहुँच” नदिइएको उनीहरूको दाबी छ।मिशिगनको डिट्रोइट शहरमा बुधवार दिउँसो त्यहाँको एउटा मतगणना केन्द्रको सुरक्षाका लागि प्रहरी बोलाउन परेको थियो किनकी त्यहाँ केही विरोध प्रदर्शनकारीहरूको एउटा समूहले मतगणना प्रक्रियाको पर्यवेक्षण गर्न पाउनु पर्ने माग गरेका थिए।डिट्रोइट फ्रि प्रेस पत्रिकाका अनुसार उक्त मतगणना केन्द्रको भवनभित्र पहिले नै २०० जना पर्यवेक्षकहरूले मतगणना कार्यको अवलोकन गरिरहेका थिए।

ट्रम्पको चुनावी अभियान टोलीले पेन्सिल्भेनियामा पनि त्यहाँ “अर्थपूर्ण पारदर्शिता कायम नहुन्जेलसम्म” मतगणना रोक्न दुईवटा मुद्दा दायर गरेको छ। त्यहाँ राष्ट्रपतिले तीन अङ्कको अग्रता हासिल गरेका छन् तर अझै हजारौं मतगणना हुन बाँकी नै छ। यहाँको मुद्दा मतदानको दिनको छाप लागेका हुलाकमार्फत् मतदान गरिएका मतपत्रहरू तीन दिनसम्म ढिलो गरी प्राप्त भएमा पनि तिनलाई मान्यता दिएर गणना गरिने उक्त राज्यको निर्णयसँग सम्बन्धित रहेको छ।रिपब्लिकनहरूले त्यसविरुद्ध अपील गरेका छन्।

राष्ट्रपति ट्रम्पले जोर्जिआमा पनि मतगणना रोक्न कानुनी चुनौती दिँदैछन्। उनको चुनावी खेमाका अनुसार त्यहाँको च्याटम काउन्टीमा ढिलो गरी प्राप्त हुलाकबाट मतदात गरिएका ५३ वटा मतपत्रहरू गैरकानुनी रूपमा मिसाइएको एकजना रिपब्लिकन चुनाव पर्यवेक्षकले देखेका थिए। ट्रम्पले सन् २०१६ को निर्वाचनमा विस्कन्सिन, मिशिगन र पेन्सिल्भेनियामा जित हासिल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *