२०८१ वैशाख १२ गते | 24th of April 2024

विश्वलाई उत्साहित र खुसी वनाएको बायो एनटेक, यही वर्ष पाँच करोड डोज उत्पादनको लक्ष्य

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २६ गते १४:१६

 

एजेन्सी -क्यान्सर रोगीहरूमा प्रतिरोधी क्षमता विकास गर्न लागिपरेका एक जर्मन दम्पतीको प्रयासकै निरन्तरताले अहिले कोरोनाविरूद्धको लडाइँमा महत्वपूर्ण उपाय निकाल्ने संकेत दिएको छ। जर्मन बायो टेक्नोलोजी कम्पनी ‘बायो एन टेक’ले अमेरिकी साझेदार ‘फाइजर’सँग मिलेर कोरोना भाइरसविरूद्ध बनाएको खोप सफलताउन्मुख देखिएको छ। सोमबार मात्रै फाइजरले आफ्नो खोपले कोरोना नियन्त्रणमा ९० प्रतिशत बढी प्रभावकारिता देखाएको घोषणा गरेको थियो। यो घोषणालगत्तै विश्व स्वास्थ्य संगठन प्रमुखदेखि नवनिर्वाचित अमेरिकी राष्ट्रपति र संसारभरका महत्वपूर्ण व्यक्तिले उत्साह प्रकट गरेका थिए। वैज्ञानिकहरू, जनस्वास्थ्य अधिकारीहरू र विश्वभरका लगानीकर्तामा समेत यसले खुसीको लहर फैलाएको छ। एउटा वृहत अध्ययनपछिको प्रारम्भिक तथ्यांकले यो खोपको सम्भावनायुक्त नतिजा देखाएको हो।दुवै कम्पनी मिलेर कोरोना खोप बनाएलगत्तै व्यापक हिसाबले गरिएको परीक्षण (क्लिनिकल ट्रायल)मा सरिक भएका थिए। यतिबेला सफलताको पहिलो नतिजा सुनाउने हिसाबले तथ्यांक सार्वजनिक गर्ने मामिलामा फाइजर र बायो एन टेक विश्वकै पहिलो औषधि उत्पादक बनेका छन्।

यी साझेदार कम्पनीले आफ्नो उत्पादनबाट गम्भीरतापूर्वक लिइनुपर्ने कुनै पनि समस्या अहिलेसम्म नदेखिएको उल्लेख गरेका छन्। सम्भवत नोभेम्बर अन्त्यसम्म अमेरिकामा आकस्मिक प्रयोगका लागि अनुमति दिइनु पर्ने मागसमेत राख्नेछन्।त्यो भनेको कुनै पनि खोपका लागि अनुसन्धान र औद्योगिक उत्पादनभन्दा बीचको अवधि हो। आकस्मिक प्रयोगको अनुमतिकै बेला यो खोप १६ देखि ८५ वर्षसम्मका मानिसमा परीक्षण गरिनेछ। औद्योगिक उत्पादनपछि भने यो बजारमै आउन थाल्नेछ।अमेरिकाबाट यो अनुमति पाएको खण्डमा यही वर्ष पाँच करोड डोज तयार पारिसक्ने अनुमान कम्पनीले गरेको छ। यसबाट अढाइ करोड मानिसमा खोप प्रयोग गर्न सकिनेछ। त्यसपछि सन् २०२१ मा यो कम्पनीले थप १ अर्ब ३ करोड डोज उत्पादन गर्न सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *