२०८१ वैशाख ८ गते | 20th of April 2024

लयमा फर्कदै नेपालको उड्डयन क्षेत्र

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २२ गते १३:०२

काठमाडौं –   नेपालको उड्डयन क्षेत्र पुरानै अवस्थामा फर्किने भएको छ । कोभिड–१९ को महामारीसँगै प्रतिबन्ध लाग्दै आएको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान अब पूर्ण रुपमा खुला हुने अवस्थामा पुगेको हो । अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धमध्ये अब नेपालबाट भारत र बंगलादेशबाट हुने उडानमा मात्रै प्रतिबन्ध मात्रै बाँकी छ । तर त्यो उडानलाई समेत पुनः सुरु गर्ने तयारी गरिएकोले हवाई क्षेत्र पूर्ण रुपमा खुला हुने अवस्थामा पुग्न लागेको हो ।

मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले भारत र बंगलादेशमा नियमित उडान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुमति दिएको छ । सो अनुमतिसँगै मन्त्रालयको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यी गन्तव्यको नियमित उडानका लागि प्रक्रिया थालिसकेको छ । अबको बढीमा १० दिनभित्र उडान सुरु भइसक्ने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।   भारतमा नेपाल एयरलाइन्स, इन्डिगो, इन्डियन एयरलाइन्स, भिस्तारा एयरलाइन्सले नेपालमा उडान गर्दै आएका थिए । बंगलादेशबाट भने विमान बंगलाले नेपालमा सेवा दिँदै आएको थियो । यी ५ वटाबाहेक नेपाल आउने सबै विमानहरुले सेवा सुचारु गर्ने अनुमति पाइसकेका छन् । त्यसमध्ये भुटान र थाई एयरलाइन्सले बाहेक अरु सबैले नियमित रुपमा सेवा सुरु समेत गरिसकेका छन् । यी एयरलाइन्सले अनुमति पाएपछि नेपालमा उडानका लागि लाइसेन्स पाएका सबै अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले उडान गर्न पाउने अवस्थामा पुग्नेछन् ।

सरकारले सबै प्रकारका आन्तरिक तथा बाह्य उडान, अन्तर्राष्ट्रिय सीमानाकाबाट आवागमन हुन नदिनेगरी .चैत ९ गतेदेखि नै उडान प्रतिबन्ध लगाएको थियो । त्यसको २ दिनपछि देशभर लकडाउन घोषणा गरिएको थियो । तर, विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न भन्दै जेठ मसान्तदेखि उद्दार उडान थालेको थियो । तर उद्दार उडानमार्फत् नेपालीहरु पर्याप्त संख्यामा फर्किनसक्ने अवस्था नभएपछि भदौ १६ गतेदेखि नियमित अन्तराष्ट्रिय उडान समेत खुला गरेको थियो । यद्यपि अहिले पनि यी गन्तव्यमा यात्राका लागि ७२ घण्टाभित्र पीसीआर रिपोर्ट नेगेटिभ आएको विवरण अनिवार्य नै छ ।  अहिले देशभित्र सबै गन्तव्यहरुमा आवश्यकता उडान गर्न कतै पनि प्रतिबन्ध बाँकी नरहेको क्षेत्रीको भनाई छ । अहिले सरकारले हवाई उडानमात्रै नभएर साहसिक पर्यटनहरु माउन्टेन फ्लाइट, प्याराग्लाइडिङ जस्ता क्षेलाई समेत खुला गरिसकेको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु खुल्दै जाँदा भारत र बंगलादेशको उडान भने खुला गरिएको थिएन । स्थलमार्गबाट हुने आवागमन बन्द गरिएका कारण अहिलेसम्म यी देशहरुसँगको हवाई उडानसमेत बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *