२०८१ वैशाख ७ गते | 19th of April 2024

राज्य संचालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरूबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्नेमा सभामुखको जोड

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर ३० गते १३:४८

काठमाडौ –   संवैधानिक परिषद् बैठकमा अनुपस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रस्टीकरण दिएको छ।  मंसिर २८ र ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक डाकेका थिए। दुबै बैठकमा उनी अनुपस्थित थिए।  उनी सहभागी नभएपछि बैठक स्थगित गरिएको थियो ।

‘मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत बिहान ८ : ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नुभएकोले उपस्थित हुन नसक्नु भएको यसअघि नै जानकारी गराइसकिएको छ। स्मरण रहोस्, त्यस दिन बिहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको थियो’, सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यसैगरी आज बस्ने भनिएको बैठकमा पनि उनले प्रधानमन्त्रीसँग पूर्वतयारी, गृहकार्य नभएको जानकारी गराएका थिए। ‘जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो’, उनको सचिवालयले भनेको छ, ‘राज्य संचालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरूबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *