२०८१ वैशाख ७ गते | 19th of April 2024

नेता बने टेलिभिजन प्रस्तोता

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २ गते १३:५८

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा केही समय टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा प्रस्तुत हुने भएका छन् । द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तुमाथिको टेलिभिजन कार्यक्रम ‘ऐना’ मा उनी प्रस्तोताका रुपमा देखिन लागेका हुन् ।  माघ ७ गतेदेखि प्रसारणमा आउने उक्त कार्यक्रम २६ भाग प्रशारण हुने छ । एक घण्टा समायवधिको कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे प्रसारण हुने निर्माण संस्थाले जनाएको छ ।

विहीवार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाको शीर्ष गीत समेत सार्वजनिक गरियो । देशका अधिकांश भूभागमा पुगेर विभिन्न सामाजिक घटनाका पात्रहरुलाई भेटी छायांकन गरिएको गीतमा मानवीय संवेदना र प्राकृतिक सुन्दरतालाई समेटिएको छ । कवि श्रवण मुकारुङले रचना गरेको शीर्ष गीतमा सुगम पोखरेलको स्वर र मोहित मुनालको संगीत छ ।

पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाले समेट्ने विषयलाई छोएर शिल्पी थिएटरको समूहले नाटक समेत मञ्चन गरेको थियो ।
कार्यक्रम ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले राजनीतिक व्यक्तित्वलाई सामाजिक र मानवीय मुद्दामा जोड्नुका साथै समाजका विविध घटनासँग प्रत्यक्ष साक्षात्कार गराउन पनि विश्वप्रकाश शर्मालाई कार्यक्रम प्रस्तोताका रुपमा आग्रह गरिएको बताए । प्रस्तोता विश्व प्रकाश शर्माले समाजका विविध घटनाको गहिराइमा पुगेर मानवीय संवेदनालाई छुने गरी तयार भइरहेको कार्यक्रम ऐनाको हिस्सा बन्न पाउँदा आफूलाई गर्व लागेको बताए । शर्माले सामाजिक मुद्दाका सवालमा देशमा दुईवटा चित्र रहेको र त्यसलाई ऐनाले छर्लङ्ग देखाउनेमा आशावादी रहेको बताए । देश विकासको कुरा गर्दा भौतिक बिकास र व्यवस्थामा परिवर्तन आउने तर समाजका मुद्दा ज्यूकात्यूँ रहने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले आफू राजनीतिक जिम्मेवारीको हैसियतले कतिपय सवालमा जवाफ दिनुपर्ने ठाउँमा रहे पनि यो कार्यक्रम मार्फत् समाजका विविध सवालमा प्रश्न गर्न आइपुगेको औंल्याए ।

कार्यक्रम ऐनाको मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गरेको छ भने सहप्रायोजनमा चौधरी फाउन्डेसन र आइएनजी ग्रुुुुप छन् । समाजमा भइरहेका अमानवीय घटना, विभेद, अन्याय, अपराध, अपमान, असावधानी, रुढीवादी परम्परा–सोच आदिले किन मान्छेलाई मान्छे बन्न दिइरहेको छैन ? के हो त्यसको जड ? देशका विभिन्न स्थानमा घटनास्थलमै पुगी र पीडित वा सरोकारवालाहरुलाई भेटेर तथा स्टुडियोमा छलफल गरेर यिनै प्रश्नको जवाफ खोज्ने काम कार्यक्रम ‘ऐना’ले गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *