२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपाल स्रष्टा समाजद्वारा रमेश खकुरेल र अनुपम रोशी सम्मानि

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १२ गते २:३१


काठमाडौँ, पुस ११ । नेपाल स्रष्टा समाजको १३औं वार्षिक साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रम भर्चुअल रूपमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षता एवं अभिव्यक्ति मासिकका संस्थापक सम्पादक एवं वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले नेपालमा साहित्यिक गतिविधि सञ्चालन गर्न कठिन भएको र झन् अहिलेको समयमा धेरै चुनौती थपिएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि शर्माले पुरस्कृत स्रष्टाहरुलाई बधाई दिंदै नेपाल स्रष्टा समाजले नेपाली भाषा र साहित्यको क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा सहभागीहरूलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष प्रा.डा. गोविन्दमानसिंह कार्कीले संस्थाका गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

तीन सत्रमा आयोजित सो कार्यक्रमको पहिलो सत्रमा कोषाध्यक्ष तथा महासचिवका प्रतिवेदन पेश गरिनुका साथै प्रस्तुत प्रतिवेदनहरुमाथि छलफल गरिएको थियो । चालु आर्थिक वर्षको लेखा परीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव एवम् साधारणसभाको माइन्युट प्रमाणित गर्नका लागि समाजका आजीवन सदस्यहरू किशोर पहाडी र रञ्जना निरौलाको नाम सर्वसम्मत पारित गरिएको थियो ।


कार्यक्रमको दोस्रो सत्रमा संस्थाले यस वर्ष शास्त्रीय शैलीमा काव्य रचना गर्ने वरिष्ठ साधकलाई बर्सेनि प्रदान गरिने सुभद्रा विश्वराज स्रष्टासम्मान कवि रमेश खकुरेललाई र प्रभावशाली युवा साहित्यकारलाई बर्सेनि प्रदान गरिने प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टासम्मान युवा साहित्यकार अनुपम रोशीलाई प्रदान गरिएको थियो । सम्मानपत्रसाथ नगदसमेत प्रदान गरिने ती सम्मानहरूको राशि क्रमशः रू. २१,१११ र रु.११,१११ रहेको छ ।

सुभद्रा विश्वराज स्रष्टासम्मान विधान आचार्यले मातापिताका नाममा र प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टासम्मान चेतनाथ कणेल र सीता भण्डारी कँडेलले आफ्ना छोरा प्रसिद्धका स्मृतिमा स्थापित गरेका हुन् ।

कार्यक्रममा सम्मानित स्रष्टा रमेश खकुरेलको व्यक्तित्व र कृतित्वबारे साहित्यकार देविका तिमल्सिनाले प्रकाश पार्नुभएको थियो । स्रष्टा अनुपम रोशीका बारे सुमन घिमिरे ‘वर्षा’ले जानकारी गराउनु भएको थियो । कार्यक्रममा सम्मानित स्रष्टा रमेश खकुरेलले आफ्नो जीवनका भोगाइ तथा भाषा र साहित्यको क्षेत्रका अनुभवहरू सुनाउनु भएको थियो ।


तेस्रो सत्रमा साधारणसभाले सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । त्यसमा अध्यक्ष विधान आचार्य, उपाध्यक्ष श्रीओम श्रेष्ठ रोदन, महासचिव पुष्पा खनाल, कोषाध्यक्ष नवराज तिमल्सिना, सचिव जानु धिताल र सदस्यहरूमा देविका तिमल्सिना, डा. पुष्करराज भट्ट, नवराज पुडासैनी ‘ज्योत्स्ना’, लेखजङ्ग खत्री, रश्मि रिमाल, विनोद नेपाल, सुमन थापा ‘संगम’ र सुमन घिमिरे वर्षा चयन गरिनुभएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक एवम् समाजका संरक्षक पवन आलोकले शपथग्रहण गराउनुभएको थियो ।
पुष्पा खनालले सञ्चालन गर्नुभएको त्यस कार्यक्रममा सम्मानित स्रष्टाहरू, निर्वाचन समितिका नरेन्द्रबहादुर श्रेष्ठ र ईल्या भट्टराईले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो । सभामा नेपालभन्दा बाहेक संसारका विभिन्न स्थानमा रहनुभएका स्रष्टाहरूले समेत भाग लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *