२०८१ वैशाख ७ गते | 19th of April 2024

नेकपाको दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन महिनाका लागि निलम्बन गरे

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १६ गते १४:२४

काठमाडौ- पार्टी विधान विपरीत काम गरेको भन्दै नेकपाको दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गर्नुभएको छ ।

पार्टी संसदीय दलको विधान विपरित काम गरेको भन्दै प्रदेशसभा सदस्यलाई निलम्बन गरेको बोधार्थ पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा समेत बुझाउनुभएको हो । दलका नेतालाई नसोधी वा कुनै जानकारी नगराई प्रदेशसभा समक्ष अविश्वासको प्रस्तावमा दर्ताका लागि हस्ताक्षर गरेको र अनुशासनको उल्लंघन गरिएको पत्रमा उल्लेख गरिएको छ । यसैगरी उनीहरुलाई सोधिएको स्पष्टिकरणको जवाफसमेत नदिएकाले अगामी तीन महिनासम्म दलको कुनै पनि क्रियाकलापमा भाग लिनबाट वञ्चित रहने गरी निलम्बन गरिएको उल्लेख छ ।
दलको विधान विपरीत दलका नेता मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रतावमा हस्ताक्षर गरेकामध्ये १९ जना प्रदेशसभा सदस्यलाई प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीको निर्देशनमा गत सोमबार २४ घण्टे स्पष्टिकरण सोध्नु भएको थियो । दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यहरु भीम आचार्य, इन्द्रबहादुर आङबो, जीवन घिमिरे, विजयकुमार विश्वास, टंकबहादुर आङबुहाङ, राजेन्द्रकुमार राई, मोहनकुमार खडका, लीलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, कुसुम श्रेष्ठ, सरिता थापा र सावित्राकुमारी रेग्मीलाई निलम्बन गरिएको सचेतक राजभण्डारीले बताउनुभयो । उनीहरुले स्पष्टीकरण नदिएको र तीन महिनाभित्रमा पनि नसुध्रिएको अवस्थामा प्रदेशसभा सदस्य पदबाट हटाउन पार्टीमा सिफारिस गरेर पठाइने प्रमुख सचेतक राजभण्डारीले बताउनुभयो ।
मौखिक रुपमा स्पष्टीकरण दिएका र लिखित रुपमा पछि बुझाउने जानकारी गराएकाले स्पष्टीकरण सोधिएकामध्ये चार जनालाई निलम्बन गरिएको छैन । मौखिम स्पष्टीकरण दिने प्रदेशसभा सदस्यमा तुलसीप्रसाद न्यौपाने, रामकुमार राई, झलकबहादुर मगर र उषाकला राई रहेको प्रमुख सचेतक राजभण्डारीले बताउनुभयो ।
प्रदेशसभामा नेकपाको ६७ प्रदेशसभा सदस्य रहेकामध्ये ३७ जनाले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जसमध्ये उदयपुरका प्रदेशसभा सदस्य कला घलेले अविश्वास फिर्ता लिइसकेकी छन् । अहिले मुख्यमन्त्री राईसँग २४, दाहाल–नेपाल समूहमा ३९ र पर्ख र हेरमा दुई जना प्रदेशसभा सदस्य रहेको दावी गरिएको छ ।
बिहीबार नै नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएको घोषणा गरेको छ । दाहाल–नेपाल पक्षधर नेकपा प्रदेश १ का संसदीय दलका उपनेता टंक आङबुहाङले दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएको पत्र प्रदेशसभा संसद् सचिवालयमा बिहीबार नै दर्ता गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *