२०८१ वैशाख १५ गते | 27th of April 2024

राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन भनेको कल रेकर्ड सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २० गते १४:३७

   वाशिङ्टन डिसी –  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत “खोज्न” भनेको कल रेकर्ड सार्वजनिक भएको छ। वाशिङ्टन पोस्टद्वारा सार्वजनिक गरिएको रेकर्डमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, “म मात्र ११,७८० भोट खोज्न चाहन्छु।” रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा जोर्जियाको नतिजा सही भएको बताइरहेको सुनिन्छ। अन्य राज्यहरूसहित जोर्जियामा पनि जो बाइडनले जितेका छन्।

बाइडनले कुल ३०६ इलेक्टरल कलेज मत पाएका छन् भने ट्रम्पले मात्र २३२ मत पाएका छन्। नोभेम्बर ३ को मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् तर उनले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन्। सबै ५० वटै राज्यहरूले चुनावी नतिजालाई प्रमाणित गरिसकेका छन्। त्यसका लागि केहीले पुन: मतगणना गरेका थिए भने केहीमा कानुनी सुनुवाइ पनि भएको थियो।हालसम्म अमेरिकी अदालतहरूले बाइडनको जितलाई चुनौती दिने ६० वटा मुद्दाहरूलाई अस्वीकार गरिसकेका छन्। अमेरिकी कङ्ग्रेसले भने ज्यानुअरी ६ मा चुनावी नतिजालाई प्रमाणित गर्न बाँकी नै छ। डेमोक्र्याटिक उम्मेदवार बाइडनले ज्यानुअरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन्। राज्यका दुईजना सिनेटरहरू छान्नका लागि जोर्जियाका मतदाताहरूले मङ्गलवार मतदान गर्दैछन्।उक्त नतिजाले सिनेटमा शक्ति सन्तुलन कस्तो हुनेछ भन्ने यकिन गर्नेछ।यदि दुवै डेमोक्र्याटिक उम्मेदवारले जितेमा त्यहाँ रिपब्लिकन र डेमोक्र्याटहरूको सदस्य संङ्ख्या बराबर हुनेछ र डेमोक्र्याटिक उप-राष्ट्रपति उम्मेदवार कमला ह्यारिससँग निर्णायक मत रहनेछ।डेमोक्र्याटहरूले पहिले नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा वर्चस्व कायम गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *