२०८१ वैशाख १५ गते | 27th of April 2024

माघदेखि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय क्रमशः खुल्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २४ गते १४:३५

काठमाडौ-  कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन्।गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिक सत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन्।अनलाइन तथा रेडियो/टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाव परेको हो।

कोरोना जोखिम कम भएका काठमाडौं उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मंसिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए। ती विद्यालयमा संक्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ। हाल देशभर दैनिक करिब ५०० र काठमाडौंमा २०० को हाराहारीमा संक्रमित देखिएका छन्।  काठमाडौं महानगरपालिकाका शिक्षा विभागका अधिकृत  मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताए।

उनले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रूपमा विद्यालय खोल्न सकिने जनाए। काठमाडौंमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालय छन्। यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन्। कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ।

काठमाडौंको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरूलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताए। भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ सुरू भएको थियो। विद्यालय खोल्नपूर्व अनिवार्यरूपमा निर्मलीकरण गर्नुपर्नेछ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको तर देशभर अनिवार्यरूपमा सञ्चालनका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यकपर्ने बताए।

जनस्वास्थ्य विज्ञले भने विद्यालय खोल्न हतार नगर्न सुझाव दिँदै आएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *