२०८१ वैशाख ७ गते | 19th of April 2024

“ताजा जनादेशका लागि जनतामा जान्छु भन्दा असंवैधानिक कसरी भयो ?“ : प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २५ गते १३:०४

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले न्यायलयको फैसलामाथि विश्वास गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्चमा रहेकाबेला केही दल सडक आन्दोलनमा जानु उचित नभएको उहाँले बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल बागमति प्रदेश कमिटीको भेलामा शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । “न्याय प्रभावित हुन्छ, सत्य प्रभावित हुन्छ भन्ने तपाईहरु नठान्नुस्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “ताजा जनादेशका लागि जनतामा जान्छु भन्दा असंवैधानिक कसरी भयो ? बहुमत प्राप्त सरकारले गरेको कदम कसरी असंवैधानिक हुन्छ ?”सरकारले नयाँ जनादेशकालागि निर्वाचनको घोषणा गरिसकेकाले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने बताउनुभयो । “केपी ओलीले निर्वाचन गराउँदैन भन्ने हल्ला चलाइरहेका छन्, तपाईहरु ढुक्क हुनुहोस् चुनाव तोकिएकै मितिमा हुन्छ ।” चुनावको तयारीमा लाग्न उहाँले सबैमा आव्हान गर्नुभयो ।
“सरकारले काम गर्न खोज्दा काम गर्न नदिइएकाले अवको निर्वाचनबाट काम गर्न नसक्ने तत्वलाई जनताले किनारा लगाउनुपर्छ” उहाँले भन्नुभयो, “म जब जब विमारी पर्छु तव तब कसैको चेहरा उज्यालो हुने गर्छ किन ? ” सरकारले देश विकासको काम गर्दा खुशी हुन छाडेर केही मानिस चिन्तित भएको देख्दा आफूलाई अचम्म लाग्ने गरेको उहाँले बताउनुभयो ।
संविधानको धारा ७६ को उपधारा ७ मा प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन तोक्ने व्यवस्था रहेकाले सरकारको कदम संवैधानिक भएको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । सरकार बनाउने अर्को विकल्प अहिले नरहेकाले ओलीलाई ढालेर नयाँ सरकार गठन गर्ने र पदमा पुग्ने सपना नदेख्न पनि उहाँले आग्रह गर्नुभयो । लोकतन्त्रमा जवर्जस्ती नचल्ने उहाँले प्रष्ट पार्नुभयो ।
पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउँदा नआउने कुदेर निर्वाचन आयोग जानेहरु नै पार्टी फुटाउन खोजेको उहाँले चर्चा गर्नुभयो । “हामीले बैठकमा कुरिरहेका थियौं, उहाँहरु ‘हामी यहाँ छौं’ भनेर माइतीघर मण्डला पो पुग्नुभएको रहेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कहिल्यै सूर्य चिन्हमा चुनाव नलडेकाहरुले सूर्य चिन्ह मेरो हो भन्न यिनीहरुलाई लाज लागेन ? ” जनताको अगाडि मजाक नगर्न उहाँले प्रचण्ड–माधव पक्षका नेताहरुलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *