२०८१ वैशाख ६ गते | 18th of April 2024

अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १ गते १४:२४

     अमेरिका – राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्। संसद्‌मा हिंसा गर्न आफ्ना समर्थकको भिडलाई उत्साहित गरेको आरोपमा उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।

गत बुधवार अमेरिकी संसद् भवनमा हुलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए। ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेपछि उक्त प्रस्ताव २३२ मतले पारित भएको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। महाभियोग पारित हुन २१७ मत आवश्यक थियो। तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन्। विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए।

तल्लो सदनले सन् २०१९ मा पनि उनीविरुद्ध महाभियोग पारित गरेको थियो। तर त्यस बेला कुनै रिपब्लिकन सांसदले महाभियोगमा साथ दिएका थिएनन्। सिनेटले उनलाई आरोपमुक्त गरिदिएको थियो। यस पटक भने सिनेटमा महाभियोगको छलफल उनी पदमुक्त भएपछि मात्रै हुनेछ। सिनेटले उनलाई भविष्यमा सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाउन पनि मतदान गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *