२०८१ वैशाख ७ गते | 19th of April 2024

विधिको शासन कमजोर हुने गतिविधि नगर्न राजनैतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ ४ गते १४:४९

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विधिको शासन कमजोर हुने गतिविधि नगर्न राजनैतिक दलहरूलाई आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था तथा विधिको शासनलाई  कमजोर बनाउने गतिविधि नगर्न आग्रह गर्नुभयो ।प्रधानमन्त्री ओलीले राजनैतिक दलका गतिविधिले  निर्वाचन आयोग, न्यायालय लगायतका संस्थाको काममा अवरोध पुर्‍याउँदा लोकतन्त्र कमजोर हुने अवस्था आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिले गरेका काम तथा निर्णयका बारेमा राष्ट्रपति पदको गरिमा र मर्यादा विपरीतको गतिविधि नगर्न समेत आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिका सबै निर्णय र कामहरू नेपालको प्रचलित कानुन अनुसार प्रधानमन्त्री वा मन्त्रिपरिषद्को सिफारिसमा भएको हुनाले त्यसमाथि उठेका सबै प्रश्नको जवाफ दिन आफु तयार रहेको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र सधैँ विरोध मात्रै गर्ने र काम गर्नै नदिने गतिविधिका कारण कारबाही गरेर निकाल्नुपर्ने अवस्था आएका बेला केही व्यक्तिहरू आफै निस्किएर गएका हुनाले अब पार्टी समेत निर्बाध रूपमा अगाडि बढ्ने बताउनुभयो । सरकारले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहका सबै लडाकु तथा घाइतेहरूको यथोचित सम्मान र व्यवस्थापनको व्यवस्था गर्ने बताउनुहुँदै  प्रधानमन्त्री ओलीले विगतको घटना र संलग्नता लाई लिएर विचलित नभई एकताबद्ध हुन सबै कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *