२०८१ वैशाख ७ गते | 19th of April 2024

मुकुन्द ढुंगानाको अध्यक्षतामा श्रीपशुपतिनाथ फाउन्डेशनको नयां कार्यसमिती निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ ५ गते १७:४४

लस एन्जलस – प्रवासी नेपाली समुदायको गौरवको एउटा धरोहर श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरको नयाँ कार्यसमितिमा मुकुन्द ढुंगाना निर्वाचित भएका छन । फाउन्डेशनको संशोधित बिधानानुसार आगामी दुई बर्षको कार्यकालको लागि ढुंगानाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमितिको चयन भएको छ ।

नव निर्वाचित कार्यसमितिमा मुकुन्द ढुंगाना : अध्यक्ष, बिमल श्रेष्ठ : प्रथम उपाध्यक्ष, नीरा पाण्डे : द्वितिय उपाध्यक्ष, नेत्र मैनाली : तृतिय उपाध्यक्ष, डिल्ली थापा : चतुर्थ उपाध्यक्ष र राजेश पाण्डे पांचौ उपाध्यक्ष निर्वाचित भएका छन । साथै रामेश्वर भण्डारी : महासचिव, एकदेव शर्मा : सह-सचिव, भिमप्रसाद ढकाल : कोषाध्यक्ष र कोषराज थपलिया : सह-कोषाध्यक्षमा निर्वाचित भएका छन भने सदस्यहरुमा रामबाबु पाण्डे, लालमती बस्नेत कार्की, शुसिल चौगाईं, नविन पोखरेल, चन्द्र सिवाकोटी, केशर भन्डारी निर्वाचित भएका छन ।

मन्दिर स्थापनार्थ रकम दान गरेका दाताहरुले प्रदान गरेको रकमको आधारमा ट्रस्टी र आजीवन सदस्यको निर्धारण गरेको निवर्तमान कार्यसमितिको संशोधित बिधानले नयाँ कार्यसमिती निर्माणको लागि राजेन्द्र सिवाकोटीको संयोजकत्वमा बेदभक्त जोशी, भक्त थापा, मदन पाठक र एकराज पाण्डे सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचनको अन्तिम तालिका सम्मको अवधिमा सह-सचिव पदमा सिद्दार्थ सिलवाल र एकदेव शर्मा, चौथो उपाध्यक्षमा डिल्ली थापा र ज्ञानेन्द्र गुरुङ्ग र पांचौं उपाध्यक्षमा रामचन्द्र लामिछाने र राजेश पान्डेबिच चुनाव हुने स्थितिमा सिद्दार्थ सिलवालले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । बांकी सबै पदमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको थियो ।

गत शनिवार र आईतवार तोकिएको चौथो उपाध्यक्ष पदका उम्मेद्वारद्वय डिल्ली थापा र ज्ञानेन्द्र गुरुङ्गको बिच भएको निर्वाचनमा डिल्ली थापाले १८ मत बढि ल्याएर विजयी भएका छन भने पांचौ उपाध्यक्ष पदका उम्मेद्वारद्वय राजेश पाण्डे र रामचन्द्र लामिछानेको बिच भएको निर्वाचनमा राजेश पाण्डे पनि १८ मतको अन्तरले विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

जस दिन मिल्ने निवर्तमान कार्यसमिती :

दाताहरुको रकम हेरेर संस्थाको ‘क्याटोगोरिकल सदस्य’ तोक्ने बहुचर्चित बिषयमा निवर्तमान कार्यसमितिमा पानी बराबरको स्थिती भयो । अन्तत: निवर्तमान कार्यसमितिको बहुमतले २५०० डलर तिरिसकेका दाताहरुलाई आजीवन सदस्यको मान्यता दिने निर्णय गर्‍यो । ७ हजार ७ सय ७७ डलर ७७ सेण्ट दान गर्ने दाताहरुलाई बोर्ड अफ ट्रष्टी र ५० हजार डलर भन्दा माथीका दाताहरुलाई सम्मान स्वरुप प्याटर्नको दर्जामा राख्ने निर्णय गर्‍यो ।
आजीवन सदस्य तोकिने रकम निर्धारण गर्न निवर्तमान कार्यसमितिलाई धेरै रोटी बेल्न परेको थियो । फलस्वरुप विवादका बाबजुद २५०० डलर सम्मा दान गर्नेलाई बहुमतको निर्णयानुसार आजीवन सदस्य तोकिने र तिनले निर्वाचन र उम्मेद्वार बन्न पाउने अधिकार दिएको निर्णय गरेको थियो ।

यसभन्दा अगाडीको कार्यसमितिको चयन हुंदा दर्खास्त हाल्नुपर्ने, निर्वाचन समितिले स्वाधिकार प्रयोग गर्ने र नयां आएको कार्यसमिती “टीके भएको” नजीर वा आरोपलाई तोड्दै निर्वाचन मार्फत संस्थाको कार्यसमिती चुनिने बिषय सबैभन्दा प्रजातान्त्रिक निर्णय गर्‍यो । धेरै बोलेपनि धेरै बुझेका निवर्तमान अध्यक्ष गोकुल पौड्यालकै कार्यकालमा संस्थामा मन्दिरले आफ्नो भवनको सम्पूर्ण ॠण तिर्यो । दुई कार्यकालसम्मका चर्चित र सम्मानित भद्र अध्यक्ष भक्त थापाको कार्यकालले ल्याएका योजना र थालेका कार्यहरुको निरन्तरता निवर्तमान कार्यसमितिले दियो । धेरै राम्रा कार्यको थालनी पनि भए, यस अर्थमा पौड्याल जस दिन मिल्ने अध्यक्षमा खडिए ।

भाग्यमानी ढुंगाना, अबको बाटो पत्थर :

यो कार्यकालका लागि सम्भावित अध्यक्ष पदका उम्मेद्वार बिमल श्रेष्ठ, रामबाबु पाण्डे, भिम ढकाल र रामेश्वर भन्डारी खै किन हो ?, मौन बसेपछी यतै धेरै भिजेका मुकुन्द ढुंगाना आफु अध्यक्ष पदका लागि अघि सरे । कन्ना पछाडी धारे हात लागाउनेलाई पनि पट्याउन सक्ने क्षमता राख्ने ढुंगानाको उम्मेद्वारी परेको थाहा पाए पछी कोही अघि सरेनन । चुनाव भईहाल्यो भने, जनसम्पर्कको प्रभावी भुतले पनि होला । अन्तत: सजिलै उनी अध्यक्ष निर्विरोध भएका छन ।

आँफै कार्यसमितिको सदस्यहरुको चयन गराएको र चुनावमा आफु अनुकुलको उम्मेद्वार खडा गराएको आरोपको सामना अब ढुंगानाको कार्यकालले बेहोर्ने भएको छ । यसै पनि बिभिन्न कारणले मन्दिर नजाने भक्तालुको संख्या न्यून हुंदाको अवस्थामा ‘आफुअनुकुल’को कार्यसमितिलाई कसरी नेपाली समुदायमा भिजाउने भन्ने बिषय ढुंगनालाई पत्थर जत्तिकै कडा छ । कुनै शंका नभएको निर्वाचनमा नुवाकोट, झापा, गोरखा र आफन्तीहरुको बोलवाला भएको बिषयको सामना पनि अबको कार्यसमितिलाई हुनेछ ।

जातीय कुराले प्रश्रय पाएको यो निर्वाचनमा ढुंगाना आँफै संस्थापक रहेको जनसम्पर्कको समर्थक हारेको बिषय पनि भोली उठ्नेछ । बौद्ध धर्मालम्बी भनेर उठेको उम्मेद्वारको हारको बिषयले पनि नव-निर्वाचित समितिको अबको बाटो कठिनाई हुने देखिएको छ ।

धन्यवादको पात्र निर्वाचन समिती :

ग्रेटर लस एन्जलसमा निकै प्रिय मानिएका राजेन्द्र सिवाकोटीको संयोजकत्वमा बनेको निर्वाचन समितिले यो क्षेत्रमा सम्भवत: पहिलोपतक विवादरहित कार्यसम्पादन गरेको छ । उत्तम थापा लगायत केही मतदाताको नाम छुटेको बाहेक सबै कामले यो समितिले वाह-वाही तालेको नजीर राखेको छ । निर्वाचनको दुरुस्त फेहरिस्त, तयारी, सुचना, कार्य र सम्पादनले सम्मानित बेदभक्त जोशी, भक्त थापा, एकराज पाण्डे र मदन पाठकको जिम्मेवारी अझै उंचो बनाएको छ ।Image may contain: Rajendra Siwakoti, standing

धेरै उम्मेद्वार हुंदैमा निर्वाचन राम्रो हुने होईन । एकै पदमा निर्वाचन भए पनि प्रकृया त्यही न हो । निर्वाचन संयोजक राजेन्द्र सिवाकोटीले निर्वाचन अगाडी यो प्रकृयाबारे पत्रकारहरुलाई गराउनुभएको निर्वाचन जानकारी पनि सम्झनयोग्य छ । पदको लागि निर्वाचन र त्यो निर्वाचनको लागि यस्तो समिती, यो नजीर लस एन्जलसमा रहिरहने छ ।

यहाँहरु सबैलाई हार्दिक बधाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *