२०८१ वैशाख ११ गते | 23rd of April 2024

डा. तारानाथ शर्माको सम्झनामा स्मृति सभा सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन २९ गते ४:५२

१२ मार्च, वाशिङ्टन डिसी । नेपाली साहित्यका वरिष्ठ विद्वान समालोचक, नियात्राकार तथा उपन्यासकार डा. तारानाथ शर्माको स्मृतिमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले स्मृति सभाको आयोजना गरेको छ । आज अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहरमा अवस्थित थोमस जेफरसन पुस्तकालयमा सो स्मृति सभाको आयोजनामा गरिएको हो ।
स्मृति सभामा प्रमुख अतिथि डा. गोपी उप्रेतीले तारानाथ शर्माले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै डा. शर्मा नेपाली जगतका नोम चोम्स्की भएको बताउनुभयो । उहाँले डा. शर्मा अमेरिकाको मूख्य भूभागमा घुम्न आउने क्रममा म्याडिसनमा भेटघाट हुँदाका स्मरणहरूसमेत सुनाउनुभयो ।

कार्यक्रमका विशेष अतिथि नेपाली दूतावासका इकोनोमिक काउन्सिलर होमकान्त भण्डारीले दूतावासले गर्नुपर्ने काम अमेरिका नेपाल साहित्य प्रतिष्ठानले गरेको बताउँदै डा. शर्माको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रमको शुरुमा डा. शर्माको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिनुका साथै दिवङ्गत आत्माको चीर शान्तिका लागि १ मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा कवि वसन्त श्रेष्ठले संक्षिप्त रूपमा डा. शर्माको जीवनी प्रस्तुत गर्नुभएको थियो । साहित्यकार सीता पाण्डेले डा. शर्माको अनुवाद व्यक्तित्वको चर्चा गर्नुभयो । कवि उत्तम भौकाजीले वि.सं. २०४६ सालको जन आन्दोलनपश्चात् प्रकाशित जिन्दावाद मूर्दावाद संयुक्त कविता सङ्ग्रहको विवेचना डा. शर्माले गर्नुभएको सम्झना गर्नुभयो । साहित्यकार तथा समाजसेवी कृष्ण भण्डारीले भण्डारी वंशावली तयार गर्ने क्रममा डा. शर्मासँगको सानिध्यतामा प्राप्त उहाँको सादगीपनको चर्चा गर्नुभयो ।

स्मृति सभाका अध्यक्ष, अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाले डा. शर्माको योगदान नेपाली वाङ्मयमा अतुलनीय रहेको बताउँदै उहाँको विद्वत्ताको फाइदा नेपाली समाजले लिन नसकेको उल्लेख गर्नुभयो । डा. शर्मा आख्यानमा अब्बल भएर पनि समालोचना तथा नियात्राले उपन्यासकारको परिचय छोपिदिएको बताउनुभयो ।

कार्यक्रमको आरम्भमा साहित्यकार वासु श्रेष्ठले कार्यक्रममा उपस्थित महानुभावहरूको स्वागत गर्दै डा. शर्माको जीवनको झल्को प्रस्तुत गर्नुभएको थियो । कवि, गीतकार पुष्पा खनालले कार्यक्रम सञ्चालनका क्रममा डा. शर्माको व्यक्तित्वका विविध आयामको चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा २० जना नेपाली साहित्यकार र साहित्यलाई माया गर्नुहुने व्यक्तिहरूको उपस्थिति रहेको थियो ।