२०८१ वैशाख १२ गते | 24th of April 2024

सात सय रुपैयाँमा केबुलकारमा सराङकोट

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन ३० गते १२:४६

काठमाडौं- पोखरामा निर्माण भएको अन्नपूर्ण केबलकार चैत १ बाट फुलफ्लेजमा संचालनमा आउने भएको छ। सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म संचालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए। गत फागुन ६ मा यस केवलकारको सफ्ट लन्च भएको थियो। अन्नपूर्ण केबलकारको दूरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ। सेदीबगरदेखि सराङकोटसम्मको दुरी केबलकारबाट नौदेखि १० मिनेटभित्रै पार गर्न सकिने उनले जनाएको छ।  केबलकारमा १७ वटा गोन्डोला रहेका छन्। एउटा गोन्डोलामा आठ जनासम्म बसेर यात्रा गर्न सकिने बताइएको छ। केवलकारबाट एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले केबलकारको शुल्क नेपालीहरुका लागि सात सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि आठ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको कम्पनीले जनाएको छ। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पौड्यालले जानकारी दिए।
यसैगरी, विद्यार्थीका लागि २५ प्रतिशत छुटका साथै सहकारीबाट भमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

घरजग्गा व्यवसायी कालु गुरुङसहित केबलकार परियोजनामा पोखरा र काठमाडौंका अन्य व्यवसायीहरुको लगानी छ। परियोजनाको समग्र लागत दुई अर्ब रुपैयाँ पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवम् निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए।  एक अर्ब ३० करोड रुपैयाँमा निर्माण गर्ने गरी लागत अनुमान गरिएकोमा कोभिड-१९ को संक्रमणकालीन समय र विभिन्न संरचनाहरुले गर्दा लागत बढेको कम्पनीले जनाएको छ।    कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ।