२०८१ वैशाख १५ गते | 27th of April 2024

यस कारण हुन सकेन मंगलबार मन्त्रिमण्डल विस्तार

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १० गते १६:४८

काठमाडौं १० साउन । मंगलबार मन्त्रिपरिषद विस्तार गर्ने भनिए पनि कांग्रेस पार्टीभित्र कुरा नमिल्दा विस्तार हुन सकेन । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदमा सहभागी हुने चार जनाको नाम दिन पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गरेको आग्रह पौडेलले अस्वीकार गरेपछि मन्त्रिपरिषद् विस्तारमा बाधा आएको हो।

देउवाले पौडेललाई चार जनाको नाम सिफारिस गर्न भनेका थिए । तर नेता पौडेलले आफ्नो समूहलाई ४० प्रतिशत भाग चाहिने भन्दै कांग्रेसले पाउने १३ मध्ये ६ वटा मन्त्रालय आफूलाई दिन माग गरे पछि कुरा नमिलेको हो ।जसका कारण मंगलबार विस्तार हुने भनेको मन्त्रिमण्डल विस्तार हुन नसकेको हो । ‘देउवाले मन्त्रिपरिषदमा कांग्रेसको तर्फबाट तीन जनालाई समावेश गरिसकेका छन्। तीनै जना देउवा पक्षधर हुन्। पौडेल समूहले ६ वटा मन्त्रालय माग गरे पनि देउवाले कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समूहलाई एकरएक मन्त्रालय दिनुपर्ने भन्दै पौडेल समूहलाई चार वटा मात्र मन्त्रालय दिन तयार भएका हुन्।

पौडेलले मन्त्रीको सपथको लागि दुई जनाको नाम सिफारिस गरे पनि दुई दिन पछि भनेर सारिएको थियो। देउवाले महामन्त्री डा। शशांक कोइरालालाई उपप्रधानमन्त्रीसहित रोजेर एक मन्त्रालय र महेश आचार्यलाई मन्त्री बनाउने प्रस्ताव गरेका थिए। तर पौडेलले देउवाको प्रस्तावलाई अस्वीकार गर्दै केन्द्रीय सदस्यहरु बलबहादुर केसी र रामकृष्ण यादवलाई मन्त्रिपरिषदमा राख्न सुझाएका थिए। पौडेल समूहमै रहेका महामन्त्री डा।शशांक कोइरालाले मन्त्रिपरिषदमा सहभागी गराउन नेतृ सरिता प्रसाईँको नाम लिएका थिए भने पौडेलले गोरखाकी कमला पन्तलाई मन्त्री बनाउन अडान लिएका थिए।

देउवाको तर्फबाट भने मीन विश्वकर्मा, वीरबहादुर बलायर, अम्बिका बस्नेत बन्ने सम्भावना छ। मन्त्रालय भागबण्डाका बिषयमा भएको सहमति नतोडिए अर्जुन जोशी, चन्द्र भण्डारी र भरत साहमध्ये एक जना मन्त्री हुने भएका छन्। मन्त्रिपरिषदमा नेता सिटौलाको तर्फबाट सांसद भीमसेनदास प्रधान र खड्काको तर्फबाट मोहनबहादुर बस्नेत मन्त्रिपरिषदमा समावेश हुने सम्भावना रहेको छ। सभापति देउवाले आफ्नो समूहबाट मन्त्री हुनेमध्ये विश्वकर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बलायरलाई युवा तथा खेलकुद र अम्विका बस्नेतलाई सिञ्चाई मन्त्रालय दिने तयारी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *