२०८१ वैशाख ७ गते | 19th of April 2024

पर्यटक बढाउन गोरखा संग्रहालय व्यवस्थित बनाइँदै

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २० गते १०:३८

बिकास मरहट्टा

१९ फागुन, गोरखा । पर्यटकीय आकर्षण बढाउनका लागि ऐतिहासिक जिल्ला गोरखामा रहेको संग्रहालयलाइ थप व्यवस्थित गर्न लागिएको छ ।

संग्रहालयमा तीनवटा नयाँ कक्ष थप गरी नयाँ सामग्री राख्ने तयारी भइरहेको छ । डकुमेन्ट्री, जातजाती र भाडा वर्तन गरी तीनवटा कक्ष थप्ने तयारी भइरहेको संग्रहालयकी प्रमुख करुणा राईले जानकारी दिइन् ।

अहिले ९ वटा कक्षमा संग्रहालयका सामाग्रीहरु प्रदर्शनका लागि राखिएको छ । अब त्यसमा तीन कक्ष थप हुनेछन् ।

‘सबैभन्दा पहिला डकुमेन्ट्री कक्ष हुन्छ, त्यहा संग्रहालय भित्र कुन कक्ष कहाँ छ र के के सामान छन् भन्ने भिडियो हेर्न सकिन्छ,’ राईले भनिन् । त्यस्तै भाडा वर्तन कक्षमा पुराना ऐतिहासिक भाडाहरु र जातजाती कक्षमा बिभिन्न जातजातीको भेषभुषामा सजिएको डमी राखिने संग्रहालयमा राखिनेछ ।

‘अहिले कुमाल, कुसुण्डा, शेर्पा र कामीको भेषभुषामा नक्कली मान्छे (डमी) बनाएर राखिएको छ अव भने सात अन्य जातजातीको भेषभुषामा डमी राख्ने तयारी गरेका छौ,’ संग्रहालयकी प्रमुख राईले भनिन् ।

थप हुने जातजातीमा क्षेत्री, वाहुन, नेवार, गुरुङ, मगर, बराम, तामाङ र घले रहेको राईले बताइन् । बिभिन्न जातजातीको भेषभुषामा सजिएको डमीको तयारी अन्तिम चरणमा पुगेेको संग्रहालयले जनाएको छ ।

जिल्ला बिकास समितिको पर्यटन रोयल्टी अन्तरगतको २० लाख र पुरातत्व बिभागको ऐतिहासिक संग्रहालयको बिकासमा साझेदारी कार्यक्रम अन्तरगतको ६ लाख सहयोगमा उक्त कक्षमा सामग्रीहरु थप्न लागिएको हो । यहि आर्थिक बर्षमा अन्य सामग्री सहित कक्ष थपिने राईले जानकारी दिइन् ।

अहिले संग्रहालयमा परिचयात्मक कक्ष, तयलचित्र कक्ष, जन्मकुण्डली कक्ष, हातहतियार कक्ष, पुष्पीका वाक्य कक्ष, धार्मिक कक्ष, पुरातात्विक कक्ष र बाद्यवाजन कक्ष रहेका छन् । उक्त कक्षमा पुराना हातहतियार, भाडाकुँडा, पुराना बाद्य वाजन लगायत अन्य सामानहरु रहेका छन् । दैनिक ६ सयसम्म पर्यटकले संग्रहालयको अवलोकन गर्ने राईले जानकारी दिइन् । जसबाट मासिक एक लाख भन्दा बढी राजश्व संकलन हुने गरेको छ ।

संग्रहालय परिसरमा रहेको वाल उद्यन भने व्यवस्थित हुन सकेको छैन । बालबालिकाको मनोरन्जनका लागी राखिएको पिङ, ढिकिच्याँउ, चिप्लेटी जीर्ण बन्दै गएका छन् । त्यस्तै संग्रहालय परिसरमा रहेको पानीको फोहारा निर्माण भएदेखि संचालनमा आउन सकेको छैन । रकम अभावका कारण संग्रहालयमा रहेका उक्त सामानहरुलाइ मर्मत संहार गर्न नसकिएको संग्रहालयकी प्रमुख राईले बताइन् ।

onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *