२०८१ वैशाख ७ गते | 19th of April 2024

बानाको अध्यक्ष पदमा सतिश चापागाईंको उम्मेद्वारी घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २२ गते १:४८
बाल्टिमोर, अमेरीका । मेरिल्याण्डमा रहेको नेपालीहरुको साझा संस्था बानाको अध्यक्षमा सतिस चापागाइले उम्मेद्वारी घोषणा गर्नुभएको छ । पत्रकारिता र समाजसेवालाई एक साथ अगाडि बढाउनुभएका चापागाईंले आफ्ना एजेण्डा र प्रतिबद्धता सहित चापागाईले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
पत्रकार चापागाईंका प्रतिबद्धताहरु :
बानाको अध्यक्षमा मेरो उमेद्वारी किन ?
-सतिश चापागाईं
आदरणीय मेरिल्याण्डबासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, मेरिल्याण्डमा रहेको सामाजिक संस्था बानाको २०१७/०१९ का लागि आसन्न निर्वाचनमा मैले अध्यक्ष पदमा उमेद्वारी दिएको कुरा तपाईहरु सबैलाई विनम्रतापूर्वक जानकारी गराउँदछु | मसँग नेपालमा महिला, बालबालिका, दलित जनजाति र असल शासनका क्षेत्रमा तालिम प्रशिक्षक भएर र पत्रिका प्रकाशन गरेर एक दशक बिताएको अनुभव छ | सामाजिक संस्थामा आबद्ध भएर सामाजिक कार्यमा रमाउने बानीका कारण म एक दशक अगाडी मेरिल्याण्डमा आएदेखि नै यो संस्थामा निरन्तर सक्रिय भएको कुरा पनि सर्वविदित नै छ |
बानामा सचिव र उपाध्यक्ष पदमा रहेर सफलतापुर्बक काम सम्पन्न गरेको छु भने स्थानीय अभिभावकहरुको अनुरोधमा उहाँहरुले संचालन गर्नु भएको नेपाली भाषा कक्षामा नेपाली भाषा पढाउदै आएको छु | यही बानी र आफ्नो रुचीलाई अझ उत्कर्षमा पुर्याउने उद्देश्यको निरन्तरता स्वरूप मैले अध्यक्ष पदमा उमेद्वारी दिएको हुँ | सामाजिक काम सबैको सहयोगमा र सबैसंगको सहकार्यमा मात्र सम्पन्न गर्न सकिन्छ भन्ने मेरो अटल विश्वास रहेको छ | म यही विश्वासमा रहेर बानाको आगामी जिम्मेवारी बहन गर्न चाहन्छु र सम्पूर्ण मेरिल्याण्डबासीबाट सहयोगको अपेक्षा गर्दछु | यस पवित्र संस्थाले गर्न सक्ने धेरै कामहरुको खाका हामीले सजिलै बनाउन सक्दछौं | आवश्यक नयाँ योजनाहरु बनाउनुका साथै समाजका लागि उपयोगी विगतका योजनाहरु र कामहरुलाई निरन्तरता दिइनेछ | बानाको अध्यक्ष हुन खोज्नुका पछाडिका मेरा केही उद्देश्य यहाँ प्रस्तुत पनि गरेको छु | अन्त्यमा, बानाका संस्थापकहरु, आजीवन सदस्यहरु, बिगतका पदाधिकारीहरु, बर्तमान कार्यसमिति र सम्पूर्ण साधारण सदस्यहरुप्रति हार्दिक धन्यवाद ब्यक्त गर्दै यस निर्वाचनमा बानाको अध्यक्ष पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरेर सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ |
मेरा प्रतिबद्धताहरु:
१. सदस्यता विस्तार र तथ्यांक : हाल मेरिल्याण्डमा बसोबास गर्ने नेपालीहरु मध्ये अति नै थोरै नेपाली बानामा आवद्ध हुनुहुन्छ | आगामी दुई बर्षमा सदस्यता विस्तार अभियानलाई व्यापक रुपमा संचालन गरिनेछ | मेरिल्याण्डमा बसोबास गर्ने हरेक नेपालीलाई बानाको सदस्य बनाउने लक्ष्य हुनेछ | साथै मेरिल्याण्डमा बसोबास गर्ने नेपालीको सही र भरपर्दो तथ्यांक संकलन गरिनेछ |
२. आकष्मिक कोष स्थापना: मेरिल्याण्डका नेपालीहरुको दु:ख सुखमा आर्थिक सहयोग गर्न सकियोस भन्ने हेतु ‘बाना आकष्मिक कोष’ खडा गरिने छ | उक्त कोषको रकम मेरिल्याण्डमा अप्ठ्यारोमा परेका नेपालीको सहयोगार्थ खर्च गरिनेछ | जस्तै: क. मेरिल्याण्डमा कोही नेपालीको दुर्घटनामा परेर मृत्यु भएमा तत्काल सहयोग प्रदान गरिनेछ, ख. असाध्य रोगका बिरामीलाई रोग हेरी सहयोग प्रदान गरिनेछ, ग. कागजी वा कानुनी समस्याका कारण अप्ठ्यारोमा परेको नेपाली परिवारलाई समस्या हेरी आर्थिक रकम सहयोग गरिनेछ। उक्त कोष संचालनका लागि सदस्यताबाट उठेको रकमको आधा हिस्सा सिधै यो कोषमा जम्मा गरिनेछ | र, यो रकम पहिलो छ महिनाको अवधिमा ५० हजार डलरको हुनेछ र दुई बर्षको अवधिमा २ लाख डलर पुर्याउने लक्ष्य हुनेछ |
३. मन्दिरलाई सहयोग: मेरिल्याण्डबासी नेपालीको पहल र अन्य राज्यका नेपालीको सहयोग समेतमा अति द्रुत गतीमा अगाडी बढिरहेको हिन्दु बुद्ध मन्दिर स्थापनाको पबित्र कार्यमा सहयोग गरिनेछ |
४. सामुदायिक भवन निर्माणका लागी पहल:- बानाले बाल्टिमोरमा निर्माण गर्न खोजेको सामुदायिक भवनको निर्माण प्रक्रियालाई मेरिल्याण्डबासीको निर्णय अनुसार ठोस रुपमा अगाडि बढाईने छ |
५. ‘नेपाल डे’ को निरन्तरता : बाना कार्य समिति २०१५/०१७ ले शुरु गरेको नेपाल डे लाई निरन्तरता दिईने छ |
६ .सामुदायिक संस्थाहरुसंग सहकार्य : मेरिल्याण्डमा रहेका सम्पूर्ण संस्थाहरुसंग हरेक कार्यक्रममा सह-अस्तित्वको आधारमा बिभिन्न कार्यक्रमहरु सम्पन्न हुनेछ |
७. बानालाई छाता संस्थाको रुपमा विकास गर्ने: मेरिल्याण्डमा सक्रिय सबै दर्तावाला नेपाली सामाजिक संस्थाहरुको छाता र साझा संस्थाका रुपमा बानालाई विकास गराइने छ |
८. बौद्धिक सम्पत्तिको एकीकरण र विस्तार: मेरिल्याण्डमा बसोबास गरेर अमेरिकी मूल प्रवाहमा सक्रिय वा नेपाल मै पनि आ-आफ्नो क्षेत्रमा राम्रो दख्खल राख्नु हुने बिभिन्न पेशा ब्यबसायमा संलग्न (डाक्टर, प्राध्यापक, कलाकार, पत्रकार, खेलाडी, वकिल, नर्स )हरुसंग अन्तरक्रिया गरी उहाँहरुको सीप र क्षमताका आधारमा बिभिन्न मंचको स्थापना गरी उहाँहरुको दक्षता प्रदर्शन गर्न मिल्ने र नेपाली समुदाय लाभान्वित हुने बिभिन्न कार्यक्रम संचालन गरिनेछ ।
९. बिद्यार्थीहरुका सहयोग कार्यक्रम: नेपालबाट आएर वा यही उच्च शिक्षा लिदै गरेका विद्यार्थीहरूलाई कस्तो सहयोगको चाहिन्छ भन्ने बारेमा आवश्यकता पहिचान गरेर प्रभावकारी ढंगले विद्यार्थी सहयोग कार्यक्रम र छात्रवृत्ति कार्यक्रमका लागि पहल गरिनेछ । उच्च शिक्षा पढ्दै गर्ने बिद्यार्थीहरुलाई हौसला स्वरूप सम्मान गर्ने परिपाटी शुरु गरिनेछ |
१०. स्थानिय सरकारसंग सम्पर्क स्थापना: बाना मार्फत नेपाली समुदायले स्थानीय र राज्य सरकारका बिभिन्न निकायहरुसंग सम्पर्क विस्तार गर्दै नेपाली समुदाय लाभान्वित हुने बिभिन्न कार्यक्रम संचालन गरिनेछ |
११. बानाका सदस्यहरुलाई परिचय पत्र उपलब्ध गराइनेछ |
१२. बिभिन्न भिसामा आएर कागजी प्रक्रियाको अफ्ठेरोमा परेका नेपालीहरुलाई नेपाली दुताबाससंग समन्वय गरि नियमित रुपमा परामर्श क्याम्प बाल्टिमोर मै संचालन गरिनेछ |
१३. सूचना केन्द्र: काउन्टी र राज्य स्तरबाट प्रदान गर्ने स्वास्थ्य सेवा, स्वास्थ बिमा, शिक्षा अवसर, रोजगार, लाइसेन्स प्रक्रिया र अन्य सामाजिक सुरक्षाका सहयोगहरु के-के हुन र कसरी प्राप्त गर्न सकिन्छ भनेर स्थानिय स्तरमा उपलब्ध सम्बन्धित क्षेत्रका बिज्ञ स्वयंसेवकहरु परिचालन गरि चेतनामुलक र सेवामुलक कार्यक्रम संचालन गरिनेछ र नियमित सेवा पुगोस भनेर एउटा स्थायी सूचना केन्द्र स्थापना गरिनेछ |
१४. भाषा कक्षा: स्थानिय संस्थाहरुसंग सहकार्य मेरिल्याण्डका बिभिन्न भागमा बालबालिकाहरुलाई नेपाली भाषा र अभिभाबकहरुलाई अंग्रेजी भाषाको कक्षा संचालन गरिनेछ |
१५. आर्थिक पारदर्शिता: बानाको हिसाबकिताबलाइ सर्बसाधारण सदस्यको सजिलै पहुँच हुनेगरी खुल्ला गरिनेछ |
१६. ब्यबसायीक जानकारी: मेरिल्याण्डमा साना व्यवसाय गर्ने नेपालीहरुको संख्या बढ्दै गएकोले साना ब्यबसाय सञ्चालन कसरी गर्ने, कानूनी खुट्किलो कसरी पार गर्ने र ब्यबसाय संचालन गर्नुपुर्ब र गरिसकेपछिका गाह्रासाह्राका विषयहरुमा के गर्ने भन्ने बारे नियमित छलफल चलाइनेछ र बानाको बिजनेस फोरमलाई पुन: सक्रिय बनाइने छ |
१७. सूचना सम्पर्क: बाना र समुदायबीच प्रभावकारी संचार सम्बन्ध स्थापना गर्न बानाको वेब साईटलाई प्रभावकारी बनाईनेछ | र हरेक सुचना सदस्यलाई उपलब्ध गराईने छ |
१८. कला संस्कृतीको जगेर्ना: नेपाली कला क्षेत्रका दिग्गज व्यक्तिहरुको बसोबास रहेको यस क्षेत्रमा हाम्रो कला र संस्कृती झल्काउने विभिन्न कार्यक्रम गर्ने र कलाकारलाई सम्मान र सहयोग पुग्ने कार्यक्रम गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *