२०८१ वैशाख ६ गते | 18th of April 2024

सिआइबीको प्रहरी भन्दै अपहरण गर्ने समूहका सदस्य पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १७ गते १६:१२

 

काठमाडौँ, १७ साउन । आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रहरी नायब उपरीक्षक भन्दै विभिन्न व्यक्ति अपहरण गरी फिरौती असुल गर्ने गिरोहका मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ भद्रकाली–७, कुमारीखेल बस्ने नुवाकोटको गेर्खु, फूलबारीका शुक्रराज तामाङलाई ब्युरोको टोलीले काठमाडौँ बाँसबारीबाट पक्राउ गरेको छ । विभिन्न व्यक्तिलाई सुन्दर युवतीमार्फत बोलाउन लगाई सिआइबीको प्रहरी हौ भन्दै नियन्त्रणमा लिई यातना तथा फिरौती लिने गिरोहका मुख्य सदस्य तामाङ रहेको ब्युरोले जनाएको छ ।

तामाङ यसअघि पनि ज्यान मुद्दामा विसं २०५९ सालमा अदालतबाट २० वर्ष सजाय तोकिएकामा २०६९ सालमा छुटेका थिए । सो गिरोहका कुविन भन्ने कोलबहादुर थापामगर तथा सरू केसी भन्ने आशिका परियारलाई काठमाडौँ बत्तीसपुतलीबाट गत असार २ गतेनै ब्युरोले पक्राउ गरिसकेको छ ।

सोही गिरोहका कुमानन्द भन्ने कोमानन्द खड्का र नवीनकुमार राई अपहरण तथा शरीर बन्धक मुद्दामा हाल पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेको ब्युरोले जनाएको छ । सिआइबीको नक्कली डिएसपी बन्ने निज शुक्रराज तामाङलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा निजउपर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *