२०८१ वैशाख ८ गते | 20th of April 2024

बाढीले दुई हजार घर डुबानमा, तीन जना बेपत्ता

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २० गते १४:४०

 

नवलपरासी, २० साउन । बाढीका कारण नदी र खोलामा डुबेर बेपत्ता एक बालकसहित तीन जना अझैसम्म पनि फेला परेका छैनन् ।

तीनै जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण नवलपरासीमा आज एक बालकसहित दुई जना र बिहीबार एक पुरुष बेपत्ता भएका थिए । पाल्हीनन्दन–३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् । दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीबार भने प्रतापपुरस्थित खजुरा खोलाले बगाएर इब्राहिम मिया बेपत्ता भएका थिए ।
यसैबीच बुधबारदेखि लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रका करिब दुई हजार घर डुबानमा परेका छन् । बाढीबाट सदरमुकाम परासीसहित ग्रामीण तथा सीमावर्ती क्षेत्रका चार गाउँपालिकामा बढी क्षति हुन पुगेको छ । अविरल वर्षाका कारण आएको ठूलो बाढीबाट लाखौँको खाद्यान्न बाली नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण परासीका केही भागसहित पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउ‘पालिका प्रभावित भएको प्रहरीले जनाएको छ ।

जिल्लाको पहाडी क्षेत्र हुँदै बगेका झरही, रायपुरवा, खजुरा, भलुही र पानभार खोलाका बाढी ती क्षेत्रमा बसेको बताइएको छ । ग्रामीण क्षेत्रका ती चार गाउँपालिकामा बाढीले पीडितको माटाले बनेका घर र छाप्रामा बढी क्षति पुगेको छ ।

प्रतापुर गाउँपालिकाको बरगदवा, अमहवाँ, नन्दपुर, कजडहिया, फडरहनी, ठुलोखैरेटवा, पर्सा, दरखासे, कालीबर्था, माधवपुर र गोबरकटवा टोल डुबानमा परेका छन् । सो गाउँपाालिका करिब एक हजार घर डुबानमा परेको प्रारम्भिक अनुमान गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *