२०८१ वैशाख ७ गते | 19th of April 2024

डोटीका रानाभाट बने लिगलिगे राजा

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १० गते १७:२१

गोरखा । आठौं लिगलिगे दौड प्रतियोगितामा सोमबार डोटीका खगेन्द्र रानाभाटले नगद ५० हजार ५ सय ५ सहित श्रीपेच जितेर राजा बनेका छन् ।

नेपाली सेनाका उनले एक घण्टा दुई मिनेटमा दौड पुरा गरेका थिए । उनलाई खेलकुद मन्त्री राजन केसीले श्रीपेच पहिराएर लिगेलिगे दौड २०७४ का बिजेता घोषणा गरे । गोरखाको मर्स्याङ्दी र चेपे दोभानबाट आँपपिपलको लिगलिगकोट दौडेर पहिले पुग्नेलाई बिजेता घोषणा गरि पुरस्कृत गर्ने गरिन्छ । दौडनु पर्ने १३.५ किलोमिटर छ । गत वर्ष ५६ मिनेट १८ सेकेण्डमै दौड पुरा भएको थियो ।

त्यस्तै नेपाली सेनाकै राम्जी बस्नेतले एक घण्टा ४ मिनेटमा दौड पुरा गरेर दोस्रो पुरस्कार जितेका छन् । उनले भने ३० हजार ३ सय ५ रुपैंया नगद पुरस्कार पाउने छन् । नेपाली सेनाका सबिन बस्नेत  एक घण्टा ५ मिनेट ३८ सकेण्डमा दौड पुरा गरेर तेस्रो भएको आयोजक लिगलिग कोट विकास अभियानका उपाध्यक्ष सरोज देवकोटाले बताए । उनले नगद २० हजार  दुई सय ५ रुपैंया पुरस्कार पाउने छन् । दौडमा एक सय १७ जना सहभागी थिए ।

त्यस्तै समावेशी महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भएको देवकोटाले जानकारी दिए । उनले ३९ मिनेटमा दौड पुरा गरेर १५ हजार ५ सय पुरस्कार पाएकी छिन् । गत वर्ष पनि श्रेष्ठले ४० मिनेट दुई सेकेण्डमा दौड पुरा गरेर प्रथम भएकी थिईन् । नेपाली सेनाकी सानुमाया कार्की द्धितीय र मिरा श्रेष्ठ तृतीय भइन् । उनीहरुले क्रममा १० हजार ५ र ५ हजार ५ रुपैंया पुरस्कार पाउने छन् । कार्कीले ४५ मिनेट र श्रेष्ठले ४८ मिनेटमा दौड पुरा गरेका थिए । महिलाहरुले उक्त समयमा ५ किलोमिटर दुरी तय गरेका हुन् ।

स्थानीयबासीतर्फ दौडमा पालुङटारका अमिर सिंह पहिलो, सुर्यबहादुर बिक दोस्रो र राजन नेपाली तेस्रो भएका छन् । उनीहरुले पनि समावेशी महिलातर्फको जस्तै पुरस्कार राशि पाएका छन् । नेपाल एकीककरण अघिको बाईसे चौविसे साना राज्यहरु मध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले दौड जुन अभिप्रायबाट सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्रय पर्यटकलाई लिगलिगकोट ल्याउन प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

वि.सं. १६०४ मा सुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुन: निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहको उदय पछि तत्कालिन समयमा दौडको अन्त्य भएको थियो । पहिलो लिगलिगे दौडमा दलसुर घले मगर बिजयी भई राजा भएको जनविश्वास छ ,आजको कान्तिपुरमा सुदिप कैनीले लेखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *