२०८१ वैशाख १२ गते | 24th of April 2024

भोजपुरको राजनीति दोस्रो पुस्तामा, युवा उम्मेदवारको वर्चश्व

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १८ गते १८:१८

भोजपुर । राजनीतिमा केही बर्ष यता ‘युवा नेतृत्व’ को विषयमा चर्चा र बहस हुँदै आएको छ । तर बहस जस्तै गरी युवाले नेतृत्व गर्ने अवसर भने कमै पाएका छन् ।

निर्वाचनको समय दलले छान्ने उम्मेदवार होस् या आन्तरिक प्रतिस्पर्धामा युवाहरु कमै मात्रामा नेतृत्वमा पुग्ने गरेका छन् । तर मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा भने दलहरु युवाहरुलाई उम्मेदवार बनाएका छन् । प्रमुख दल सहित अन्य साना दलहरुका उम्मेदवारहरु पनि अधिकांश युवा नै छन् ।

क दलहरुले विभिन्न जिल्लामा प्रायजसो पाको उम्मेदवार उठाइरहेका बेला यहाँ भने युवा पुस्ताका उमेदवार उठाएका छन् । यससंगै संघिय संरचनापछि हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको आसन्न निर्वाचनका लागि उम्मेदवारी मनोनयन दोस्रो पुस्तामा हस्तान्तरण भएको छ ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि २ सिट रहेको भोजपुरमा यसअघि एक्लाएक्लै भिड्दै आएका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल यो पटक भने गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

कांगे्रसको नेतृत्वको लोतान्त्रिक गठबन्धनमा संघिय समाजवादी फोरम र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागि छन् । यस्तै चाँडै पार्टी एकता हुने भनिएका एमाले र माओवादी एक ठाँउमा उभिएर चुनावमा होमिएका छन् । रोचक त के छ भने यी दुवै गठबन्धनका उम्मेदवार युवा छन् । अर्थात दोस्रो पुस्ताका नेताहरु चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभाका लागि कांग्रेसले उमेशजंग रायमाझीलाई उठाएको छ । यही गठबन्धनले प्रदेशसभा (क) मा संघिय समाजवादीका नेता अजम्बर राई ‘काङमाङ’ र (ख) बाट कांग्रेसका गोविन्द कार्कीलाई अघि सारेको छ ।

बाम गठबन्धनले प्रतिनिधिसभाका लागि माओवादीका सुदन किरातीलाई अघि सारेको छ । प्रदेश (क) बाट एमालेका राजेन्द्र राई र (ख) बाट १ नम्बर प्रदेशको मुख्यमन्त्रीकारुपमा हेरिएका शेरधन राई प्रतिस्पर्धामा छन् ।

कांग्रेसले यसअघि युवा नेतृत्वलाई स्थान नदिने भन्दै आलोचना हुने गरेपनि अहिले उसका दुवै उम्मेदवार दोस्रो पुस्ताका छन् । अघिल्ला निर्वाचनमा ज्ञानेन्द्रबहादुर कार्की, धर्मराज राई लगायत उम्मेदवार हुँदा युवा पुस्ता छाँयामा परेका थिए ।

प्रतिनिधी सभाका कांग्रेस उम्मेदवार रायमाझी ५० बर्ष पुग्दैछन् । पञ्चायती शासन विरुद्ध लड्दा थुपै्रपल्ट जेल जिवन भोगेका उनी आँटिला युवा नेता हुन् । उनी पहिलो पटक उम्मेदवार बनेका हुन् । उनी नेपाल विद्यार्थी संघको पुर्वमहामन्त्री समेत हुन् । प्रदेशसभा (ख) का उम्मेदवार गोविन्द ५२ बर्षका भए ।

उनी २००७ का क्रान्ति योद्धा दानबहादुर कार्कीका भाई हुन् । विद्यार्थी काल देखि राजनीतिमा होमीएका उनी महासमिति सदस्य हुन् । स्थानीय निकायको २०४९ को निर्वाचनबाट तत्कालिन टक्सार गाविसको जनप्रतिनिधि भएको बाहेक केन्द्रिय चुनावमा लडेको उनको अनुभव छैन ।

यसैगरी बाम गठबन्धनतर्फ प्रदेश (क) का उम्मेदवार राजेन्द्र पनि पहिलोपटक चुनावमा लड्न लागेका युवा नेता हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय उनी एमालेका केन्द्रिय सदस्य हुन् । उनले पञ्चायती शासन विरुद्ध लड्दा पटक–पटक जेलजिवन भोगेका छन् । ०६२/०६३ मा भएको जनआन्दोलनमा उनको सक्रिय भूमिका थियो । उनी एमालेभित्रकै प्रखर र निडर नेता मानिन्छन् । ४७ बर्षिय उनी युवा उम्मेदवार हुन् ।

प्रदेश (ख) का उम्मेदवार शेरधन यसअघि पटक–पटक अवसर पाएका युवा उम्मेदवार हुन् । विद्यार्थी राजनीति हुदै जनमतसंग्रहकै पालादेखि एमाले राजनीतिमा होमिएका उनी हाल ४५ बर्ष लागे । यो पल्टको उम्मेदवारी उनको चौथो हो । हाल एमाले पोलिट्ब्युरो सदस्य छन् । उनी जिल्लाका उम्मेदवारभित्रकै हेभिवेट उम्मेदवार हुन् ।

प्रतिनिधिसभाका उम्मेदवार माओवादीका ३९ बर्षका सुदन ६ जनामध्येका कान्छा उम्मेदवारभित्र पर्छन् । खम्बुवान पार्टीमा आबद्ध भएर राजनीतिमा लागेका उनी द्वन्दकालताका ०५८ सालमा माओवादी राजनीतिमा लागेका हुन् । उनी पुर्वसभासद् तथा माओवादीको पोलिट्ब्युरो सदस्य हुन् ।

लोकतान्त्रिक गठबन्धन प्रदेश (क) का उम्मेदवार संघियका अजम्बर लामो समय एमालेमा राजनीति गरेका व्यक्तित्व हुन् । संविधानसभाको दोस्रो निर्वाचनका ताका एमालेले पहिचानको मुद्धालाई नस्विकारेको भन्दै पार्टी परित्याग गरी संघियमा लागेका थिए । ५० बर्षका उनी संघियका केन्द्रिय पार्टी सचिव हुन् ।

यस्तो छ इतिहाँस

भोजपुरमा मुख्य प्रतिस्पर्धा यीनै ६ भाईबीच हुनेछ । शेरधन, सुदन र अजम्बर बाहेकका अन्य तीन नेता निर्वाचनमा पहिलोपल्ट उठ्दैछन् । शेरधन ०५६, ०६४ र ०७० तीनपटक उठेका थिए ।

०५६ र ०७० मा विजयी भएका उनी ०६४ मा पराजित भएका थिए । दुईपटक सांसद तथा एकपल्ट सञ्चार मन्त्री भएका छन् । सुदन ०६४ र ०७० तथा अजम्बरले ०७० मा चुनाव लडेको अनुभव छ । सुदनले ०६४ मा जिते, ०७० मा पराजित भए । अजम्बर विजयी हुन सकेनन् ।

यो पटक वाम गठबन्धन विगतको साख जोगाउने र लोकतान्त्रिक गठबन्धन इतिहाँस फर्काउने अभियानका साथ निर्वाचनमा होमिएका छन् । २०१५ सालको निर्वाचन यता बहुदलिय व्यवस्था पछि एकछत्र वामपन्थिले जित्दै आएको छ ।

०४८, ०५१, ०५६ र ०७० को निर्वाचनमा एमालेले र ०६४ मा माओवादीले यहाँ विजयको झण्डा गाडेको थियो । ०१५ सालको चुनावमा जितेर ३० बर्षसम्म लगातार वामपन्थिलाई जिम्मा दिएको किल्ला फर्काउने अभियानमा कांग्रेस छ ।

यस्ता छन् एजेण्डा ; 

उम्मेदवारहरु साख जोगाउन तथा फर्काउनका लागि विकासका एजेण्डा चुनावी प्रचारप्रसारमा जुटेका छन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार रायमाझीले ५ बर्षभिमा जिल्लाभरका सडक कालोपत्रे गर्ने, कम्तीमा एक सय मेगावाट विद्युत उत्पादन गर्ने, ९ वटै स्थानीय तहमा अस्पताल तथा सदरमुकाममा टिचिङ अस्पताल निर्माण गर्ने एजेण्डा अघि सारेका छन् । ‘हामीसँग दुधकोसी र अरुण नदी छन्, छिमेकी जिल्लासंग साझेदारी भएर उच्चतम फाइदा लिनसक्ने व्यवस्था गर्छु,’ उनले भने ।

करिब ३ दशकसम्म वामपन्थिका हातमा जिल्ला रहँदा विकासको सिन्को पनि नभाँचेको गाेविन्दकाे भनाई छ । जिल्लाको विकास र जनतामुखी नीति ल्याउने उनले बताए ।

पहिचानको मुद्धाका लागि विगतका बर्षदेखि लडिरहेका अजम्बर संघियता, गणतन्त्र, धर्मनिरपेक्षता सहितको समानुपातिक व्यवस्थालाई संस्थागत गर्ने आफ्नो एजेण्डा रहेको बताउँछन् ‘संविधानको विभेदपुर्ण नीतिलाई संशोधन गरेर हटाउने तथा मानव भुगोलअनुसार प्रदेश नम्बर १ को नामाकंन तथा सिमाकंन गर्ने एजेण्डा छ,’ उनले भने ।

बाम गठबन्धनबाट प्रदेश (क) का राजेन्द्र वाम एकता गरी राष्ट्रियताको लडाईलाई बलियो बनाउने, स्थायी सरकार निर्माण तथा आर्थिक समृद्धि हाँसिल गर्न वाम गठबन्धनले जित्नुपर्ने बताउँछन् । संघिय प्रणालीलाई संस्थागत र जिल्लाको बिकासमा सडकको पहिलो भुमिका हुने हुँदा त्यसैमा पहिलो प्राथमिकता उनको भनाई छ ।

प्रदेशसभा ‘ख’ का शेरधन नयाँ भौतिक संरचनाका निर्माण र आर्थिक हिसाबले बलियो जिल्ला बनाउने आफ्नो योजना रहेको सुनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *