२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपाली चलचित्रको ईतिहासमा “आर्या” ले एउटा पहिचान स्थापित गर्ने छ : सिटौला

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २९ गते १७:३६

यतिबेला नेपाली कथानक चलचित्र “आर्या” को सुटिङ युनिट दमौलीको मानुङ गाउँमा छ । प्राबिधिक ,कलाकार र निर्देशक सहित ३४ जनाको टोलीले बिगत दुई हप्ता देखि लगातार फिल्म निर्माणकार्य गरिरहेको छ। चलचित्रको छायांकनमा समेत केही दिन समलग्न भएर आउनु भएका चलचित्रका लेखक श्री लक्ष्मण सिटौलासंग गरिएको कुराकानी ।

चलचित्र :- आर्या
निर्देशन :- उपेन्द्र तिमिल्सिना
प्रोडुसर:- धर्मराज श्रेष्ठ
लेखन/ गीत:- लक्ष्मण सिटौला
सङीत:- राम सिटौला
छायांकन : दिब्यराज सुबेदी
मुख्य कलाकार :- शिल्पा पोखरेल, अनुप बिक्रम शाही,
रबि गिरी ,सुशील पोखरेल,गीता अधिकारी
निरन्जन शर्मा आदि  । 

खुल्लामन्च : तपाईंको लेखनमा बन्दै गरेको चलचित्र “आर्या” कुन धारको चलचित्र हो र दर्शकले यसमा अरु चलचित्रमा भन्दा फरक कुरो के पाउने ?

सिटौला : “आर्या ” को बिषय बस्तु सामाजिक यथार्थवाद हो । कथा पुरानो हो तर समाजले भोगेका कतिपय कुराहरू पनि भनिएका हुदैनन् , एउटा बर्गको त्रासले भयले संकोचले डरले ती कुराहरूलाई बाहिर ल्याउन दिइएको हुदैन । नेपाली समाजले भोगेका कतिपय दुखद कुराहरू अझैसम्म पनि भनिएको छैनन । ती भन्न बाकी रहेका नारी अब्यक्त अभिव्यक्ति लाई मैले आर्या उपन्यासमा भन्ने साहास गरे र त्यसैलाई पर्दामा उतार्दै हुनुहुन्छ निर्देशक उपेन्द्र तिमिल्सिनाले। अरु भन्दा फरक यो चलचित्रमा तपाईं नारी मनोबिज्ञान पाउनुहुन्छ । नारीलाइ दबाउदाको परिणाम कस्तो हुन्छ भन्ने कुराको एउटा व्यापक उथलपुथल यो चलचित्रमा पाउनुहुनेछ । नारीप्रधान चलचित्र थुप्रै बने नेपालमा तर नारीको सम्मानजनक उपस्थिति कहि कतै देखिदैन । अन्तमा गएर नारीनै रुनु पर्ने र सधैं नारीलाइ कमजोर पात्रका रूपमा उभ्याउने परम्परालाई ” आर्या” ले तोडने छ । ” आर्या ” आफै हिरो हो ।

खुल्लामन्च : अहिलेको सिनेमाको मुलधार कता गइरहेको जस्तो लाग्छ तपाई लाई ? र निर्देशकको बारेमा बताइदिनुसन ।

सिटौला : सिनेमा साहित्य हो । द्र्श्यात्मक साहित्य । तर हामीले सिनेमालाइ कहिले पनि साहित्य मानेनौ।सधैं मनोरञ्जनको साधन मात्रै मान्यौ । चलचित्र एउटा बिश्वबिद्धालय पनि हो । भारतमा सत्यजित रे का सिनेमा ले दिने ज्ञान् बुझ्ने हो भने मानिसमा कति परिवर्तन आउथ्यौ होला । नेपालमा सिनेमा लाई केवल हलमा चल्नु मात्रै लाई सफलता मानिन्छ । तर त्यो होइन । देशमा परिवर्तन ल्याउने बाटो पनि हो चलचित्र साहित्य ।

No automatic alt text available.

अहिले नेपालमा निर्माण भैरहेका नेपाली चलचित्रको मुलधार सस्तो मनोरञ्जन मात्रै हो । साढे दुई घन्टा दर्शकले सस्तो र भड्किला डायलग, हाउभाउ, कटाक्ष, नारीको नाङ्गा नर्तक, यौन प्रदर्शन, अनावश्यक फाइट र समाजको भल्गारिटिलाई मात्रै हेर्नुपर्ने बाध्यता छ । त्यही हेरेर क्षेणिक आनन्द लिन्छन दर्शक। हल बाट बाहिर आउदा बिर्सनु पर्छ किनकि त्यस्ले दर्शकको मुटुमा मस्तिष्कमा स्थाइ प्रभाव पारेकै हुदैन । त्यस्तै गीत । जबर्जस्ती मिडियाले पेलेर गीत हिट होइदिन्छन । केहि सिनेमा राम्रा पनि बनेका छन । तर चलचित्र आफू हिरो हिरोईन बन्नको लागि पैसा हालेर बनाउने होइन र कसैलाई हिरो बनाइदिन्छु त पैसा राख भनेर बनाउने पनि होइन । “आर्या” का निर्देशक उपेन्द्र तिमिल्सिना भित्र एउटा सिनेमा सस्कृती भेटेको छु मैले र उहाँले एउटा इतिहास निर्माण गर्दै हुनुहुन्छ । एउटा लेखकको रूपमा म उहाँले बुझ्नुभएको चलचित्र सस्कारलाइ मान्छु । भोलि चलचित्र हलमा आएपछि थाहा हुने कुरा हो । सुटिङ अवधीमा उहाँले कलाकारलाई देखाउनु भएको माया सम्मान र हौसलाले म ज्यादै प्रभावित भए । उहाँसंग काम गर्ने सबै युनिटको अभिभावकत्व बहन गर्न सक्ने खुबीलाई मान्नुपर्छ ।

खुल्लामन्च : राम्रो चलचित्रमा लगानी गर्नेहरू हिजोआज नाफामा गइरहेको अवस्था देखिन्छ । यो चलचित्रका निर्माण कर्ता धर्मराज श्रेष्ठको अपेक्षा केहो । नाफा कमाउने उदेश्य बाट अभिप्रेरित हो कि देशको पहिचान प्रतिको मोह ?

सिटौला : वास्तवमा डुब्छु भनेर कसैले ब्यापार गर्दैन । सिनेमामा लगानी गर्ने मान्छेले करोड कमाउछु यो नै रोजीरोटि बन्छ भनेर आशा राख्दैनन । र घर घडेरी धितोमा राखेर चलचित्रमा लगानी पनि कसैले गर्दैनन् । जो सग अलिकति पुजि पनि छ ! जस्ले लगानी उठाउन सक्छु भन्ने सहास पनि गर्छ, जो समाज परिवर्तनको अपेक्षा राख्छ, जो यो देशका लागि केहि योगदान गरु भन्छ उस्ले बनाउने हो चलचित्र । पैसा बढी भएर चलचित्र बनाउने होइन । जहाँसम्म धर्म राज श्रेष्ठज्यूको कुरा छ -जस्ले आर्यामा लगानी गर्नुभएको छ – उहाँ एक सामाजिक अभियन्ता, एक राजनैतिक सुझ्बुझ भएका ,शिक्षा क्षेत्रमा लागेका ब्यक्तित्व हुन ।मेरो उपन्यास पढ्नुभो उहाँ लाई मन पर्यो अनि सुदर्शन सिलवाल भाइ मार्फत मलाई खबर गर्नुभो आर्या लाई सिनेमा बनाउने कुरा । उहाँको सपना छ ” आर्या ” लाई अमेरिकाको धेरै स्टेटमा प्रदर्शन गर्ने। नेपाली सस्कृतिलाइ बिश्वब्यापी बनाउने । हाम्रो पहिचान स्थापित गर्ने। आर्या बाट धन बटुल्ने कुरा भन्दा पनि नेपाल चिनाउने सपना उहाँले देख्नुभएको छ । सिनेमा लाई जुवा सम्झिनेहरुले यो क्षेत्रमा हात नहाल्दा पनि हुन्छ भन्छु म। सिनेमा सिर्जना हो, सिनेमा शिक्षा हो, सिनेमा साहित्य हो , सिनेमा कलाको अभिव्यक्ति हो ।सिनेमा हामी बाचिरहेको युगको जीवन्त कथा हो । सिनेमा केवल क्षणिक मनोरंजन दिने सस्तो माध्यम होइन । जस्ले सस्तो रूपमा यस्लाइ परिभाषित गर्ने कोसिस गर्छ उ निश्चितरूपमा डुब्छ र उहाँहरुले नेपाली सिनेमा बिगार्ने । धर्म दाइ एक बौद्धिक ब्यक्ति हुनुहुन्छ । उहाँले एउटा बौद्धिक चलचित्र निर्माणकार्यमा हात हाल्नुभएको छ ।

Image may contain: one or more people and food

खुल्लामन्च : कहिले सम्ममा “आर्या” दर्शक माझ आउने छ ? अहिले त गीत चल्यो भने फिल्म चल्छ भन्छन कस्तो खालको गीत राख्नुभएको छ ?

सिटौला : आउंदो नयाँ बर्ष २०७५ लाई लक्ष्य बनाएर काम गरिरहनु भएको छ निर्देशकज्यूले । यो चलचित्र नेपाल बाहिर पहिला प्रदर्शन गरिने योजना रहेको छ। गीत म आफैले लेखेको छु र सङीत सिर्जना गर्नुभएको छ राम सिटौलाले।नेपाली सङीतको परम्परागत धार नारायण गोपाल , बचुकैलास नातिकाजी भक्तराज तारादेवीले निर्माण गर्नुभएको पथलाइ पुन ब्युझाउने प्रायास गरिएको छ । राम सिटौला त्यहि छायांमा हिंड्न् र बाच्न रमाउने सङीत सर्जक हुन र म पनि त्यही युगको सुगन्धमा जीवन खोजिरहन्छु । सङीत धेरै मेलोडियस छ । सङीतको नाउँमा एक दुई महिना बजार तताउने दर्शक फसाउने काम गरेका छैनौ । ” आर्या ” चलचित्रको गीतलाइ कालजयी बनाइएको छ। गीत हिट हुनुपर्छ भन्ने भन्दा पनि गीत कालजयी हुनुपर्छ र गीतले त्यो युगको बिम्ब उतारेको छ । जतिबेलाको युगको कथा लेखिएको छ। गीतमा सस्तो भावुकता छैन।सस्तो प्रेम छैन। आर्याको आफ्नै पहिचानको आफ्नै कलरको गीत छ। दर्शकलाइ त्यो युगमा फेरि हामी लिएर जानेछौ जतिबेला नेपाली सङीत नेपाल देखि दार्जिलिङ आसाम मेघालय डिब्रुगड, जहाँ जहाँ नेपाली गीतले त्यतिबेलामा आफ्नो पहिचान स्थापित गरेको थियो ।” आर्या ” को गीतमा नेपाल छ नेपालीत्व र रास्ट्र सुवासित भएको छ ।

खुल्लामन्च : मुख्य कलाकारको बारेमा भन्नुपर्दा के भन्नुहुन्छ ?

सिटौला : आर्या नारी प्रधान चलचित्र हो। उपेन्द्रजीको नजरमा पर्नु भएकि शिल्पा पोखरेलज्यूले मुख्य भुमिका निर्वाह गर्दै हुनुहुन्छ । अर्का मुख्य कलाकारमा हुनुहुन्छ अनुप बिक्रम शाही ।दुवै जना लाई कुर्दाकुर्दै निर्माण कार्यमा अझै ढिलाइ हुन पुहेको हो ।आर्या पात्र बढाे अजीव पात्र हो । शिल्पा पोखरेल शिल्पा होइन अब “आर्या” भनेर चिनिनुहुन्छ नेपाली सिने जगतमा ।यो कुरा तपाईं लेखेर राख्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *