२०८१ वैशाख ६ गते | 18th of April 2024

‘बाबुरामले मामा आशिर्वाद चाहियो भन्नुभयो, मैले चिरञ्जीवी रहनु भनें ।’

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ३० गते १८:४३

गोरखा । गोरखा कांग्रेसका पुराना नेता चन्द्रप्रसाद न्यौपानेले मानुषी यमी भट्टराईमार्फत् नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई मत दिन नसक्ने सन्देश पठाएका छन्। छोरीमार्फत् भोटको आग्रह गर्दापनि सफल नभएपछि भट्टराई आजै (बुधबार) न्यौपानेसँग भोट माग्न गोरखाको छोप्राक जाँदैछन् ।

जिल्ला विकास समितिको पूर्व सभापति समेत रहेका न्यौपानेले अघिल्लो हप्ता गोरखा जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरेर कांग्रेस बाहेक अरु कसैलाई भोट नदिने घोषणा गरेका थिए। मामा नाता पर्ने न्यौपानेले कांग्रेसबाहेक कसैलाई भोट नदिने बताएपछि अप्ठेरोमा परेका भट्टराईले छोरी मानुषीलाई न्यौपानेलाई भेट्न गोरखाको छोप्राकस्थित निवास पठाए।

‘३–४ दिन भयो, मानुषी आएर बुबालाई भोट दिनुपर्‍यो भनेकी थिइन्, तर मामाले रुख बाहेक अरु कुनै चुनाव चिन्ह खोज्दैनन् रे भनिदिनू’ मानुषीलाई आफूले भनेको कुरा सम्झँदै न्यौपानेले भने, ‘चुनावमा म रुखमात्र खोज्ने मान्छे हुँ, कान, खुट्टो, आँखा कहाँ छ भनेर खोज्दै हिँड्ने कांग्रेसी म होइन भनेर पठाएँ।’

सम्भवतः छोरी मानुषीमार्फत् न्यौपानेलाई आफ्नो पक्षमा भोट हाल्न सहमत गराउन सकिएला भन्ने आशा भट्टराईको थियो। तर, मानुषीको प्रयासपनि सफल नभएपछि भट्टराई आफै न्यौपानेकहाँ जाने निधो गरे।

Image result for baburam bhattarai

निष्ठावान कांग्रेसीको परिचय बनाएका न्यौपानेलाई आफ्नो पक्षमा तान्न सके असन्तुष्ट कांग्रेसजनको भोट तान्न सकिने विश्लेषण भट्टराईको होला।

त्यसैले, बुधबार बिहानै नयाँशक्तिका नेता समेत रहेका पूर्व माओवादी सांसद ज्ञानेन्द्र कुमालले न्यौपानेलाई फोन गरे। सम्पर्क भएपछि कुमालले फोन भट्टराईलाई दिए। मामा-भाञ्जाबीच फोनमा कुराकानी भयो। फोन कुराकानीको बृत्तान्त सुनाउँदै न्यौपानेले भने, ‘भाञ्जाले मामा आशिर्वाद चाहियो भन्नुभयो, मैले चिरञ्जीवी रहनु भनें।’

‘चुनावमा सहयोग गरिदिनुपर्‍यो भन्नु भएन भट्टराईले?’ यो प्रश्नमा बुधबार अपरान्ह न्यौपानेले भने, ‘म आफै मामालाई भेट्न आउँछु भन्नु भएको छ भाञ्जाले। आज बेलुकी ५–६ बजे घरमै आएर मामालाई भेट्छु भन्नु भएको छ। म उहाँको प्रतीक्षामा बसेको छु।’

भट्टराईले पक्कै पनि न्यौपानेसँग चुनावमा सहयोगका लागि आग्रह गर्नेछन्। तर न्यौपाने भने टसमस नहुने निधोमा छन्।

न्यौपानेले थपे, ‘मैले मानुषीलाई जे भनेर पठाएको छु, भाञ्जालाई पनि त्यही भन्ने हो। यो चुनावमा पनि मतपत्रमा म रुखमात्र खोज्छु। कान, खुट्टो, घुँडो, आँखा कहाँ कहाँ छ भनेर खोज्दिनँ। रुख भेटे, त्यसैमा भोट हाल्छु, नभेटे कुनैमा पनि भोट हाल्दिनँ भनेर उहाँलाई पनि भन्छु।’

नेपालखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *