२०८१ वैशाख १४ गते | 26th of April 2024

पोखरा महानगरको प्रमुखमा १७ उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते २:४७

प्रकाश ढकाल
पोखरा, १९ बैशाख ।
स्थानीय तहको पहिलो चरणको चुनावका लागि उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दिने स्थानीय तहबाट सबै उम्मेदवारले मंगलबार मनोनयन बुझाएका हुन् । देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकामा प्रमुखका लागि १७ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा ११ जना छन् । प्रमुखका पाँचजना स्वतन्त्र छन् भने १२ जनाले राजनीतिक पार्टीबाट उम्मेदवारी दिएका हुन् । प्रमुखमा नेपाली काँग्रेसबाट रामजी कुवँरले मनोनयन दर्ता गर्दा एमालेबाट मान बहादुर जिसीले उम्मेदवारी दिएका छन् । माओबादी केन्द्रबाट विश्वप्रकाश लामिछाने, राप्रपाबाट गीता गुरुङ, नयाँ शक्ती र संघीय समाजबादी फोरम नेपाल बीचको गठबन्धनबाट हुम गुरुङ, नेकपा मालेबाट टेकनाथ भण्डारी, अखण्ड नेपाल पार्टीबाट मोति गिरी, राष्ट्रिय जनमोर्चाबाट चन्द्र बहादुर केसी, नेपाल परिवार दलबाट कल्पना बराल, राष्ट्रिय मुक्ती आन्दोलनबाट ऋषि तिमिल्सीना, नेकपा संयुक्तबाट प्रेमकाजी गुरुङ र पूर्व राष्ट्रसेवक लोकतान्त्रीक पार्टीका मधुकर न्यौपानेले प्रमुखमा दावेदारी प्रश्तुत गरेका छन् । यस्तै अमन विक्रम थापा, रेशमराज पन्थी, महेन्द्र कुमार थापा, भीम श्रीस र पदम बहादुर गुरुङले स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन गरेका छन् ।
उपप्रमुखमा काँग्रेसबाट सरस्वति गुरुङ, एमालेबाट मञ्जुदेवी गुरुङ, माओबादी केन्द्रबाट गोमा ढकाल, राप्रपाबाट रमेशबहादुर खत्री, नयाँ शक्तीबाट लक्ष्मी खाती, अखण्ड नेपालबाट गोमा कुमारी रायमाझी, राष्ट्रिय जनमोर्चाबाट दाल कुमारी खत्रीले मनोनयन दर्ता गराएका छन् । सिरोज कोइराला, कल्पना थापा र चन्द्र बहादुर थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
१ लाख ६८ हजार ६७ जना मतदाता रहेको महानगरमा मेयर र उपमेयर सहित १ सय ६७ जना निर्वाचित हुनेछन् । दलित तथा अल्पसंख्यक समुदायबाट तीनजना थप गरी १ सय ७० जनाको नगरसभा बनाईने छ भने ४३ जनाको नगर कार्यपालिका गठन हुनेछ । भोट हाल्नका लागि पोखरामा ९८ मतदान स्थल र २ सय २१ वटा मतदान केन्द्र कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *