२०८१ वैशाख १४ गते | 26th of April 2024

‘फेसबुके ज्वाइँ’को विश्वास गर्दा २१ लाख स्वाहा !

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २९ गते १०:२२

काठमाडौँ । संखुवासभा स्थायी घर भएकी शर्मिला गुरुङ्ग (नाम परिवर्तन) धरानमा नर्सिङ पढ्दै थिइन् । सामाजिक सञ्जाल (फेसबुक) चलाउन बानी परेकी शर्मिलालाई एकदिन सुदीप लामा नामका युवाले फ्रेन्ड रिक्वेस्ट पठाए । सुदीपको रिक्वेस्ट एक्सेप्ट गरेको दिनदेखि नै उनीहरु बीच म्यासेन्जर मार्फत् कुरा हुन थाल्यो ।

‘फेसबुकमा साथी बनेको करिब एक महिनापछि ऊ मलाई भेट्न धरान आएको थियो,’ बिहीबार काठमाडौँमा भेटिएकी शर्मिलाले भनिन्, ‘भक्तपुरमा घर छ, मोडलीङ गर्छु भन्थ्यो ।’

अमेरिकन आर्मीको जागीर छाडेर नेपाल आएको र अहिले मोडलिङमा राम्रै करिअर बनाइसकेको भन्दै सुदीपले शर्मिलालाई मायाको जाल फ्याँके । लप्पन–छप्पन उतिसारो नजानेकी गाउँकी सोझी युवती शर्मिला सजिलै सुदीपको मायाजालमा परिन्, उनी भन्छिन्, ‘सुदीपले उनीसँग स्वार्थका लागी मायाको नाटक गर्दैछ भन्ने थाहै पाइँन !’

‘नर्सिङको पढाई लगभग सकिएको थियो, मैले भागेर सुदीपसँग विवाह गरेँ, तर अहिले यस्तो दिन आइलाग्यो,’ शर्मिलाले आँशु खसाल्दै आफ्ना दुई भाईहरु र अनुहारमा बुढ्यौलीको रंग चढिसकेको बुवातिर हेरिन् । सबै नाजवाफ थिए !

बिहीबार शर्मिला आफ्ना दुई भाईहरु र बुवासहित काठमाडौँको हात्तिसारस्थित आफन्तको ट्राभल्समा थिइन् । उनीहरु अहिले उही ‘फेसबुके नातेदार’ ले सिर्जना गरिदिएको समस्या लिएर काठमाडौं आएका छन् ।

‘चोरको स्वर’ बुझाएपछि २१ लाख ठगी !

सिन्धुपाल्चोकको माङ्खा स्थायी घर भएका सुदीपको पास्तविक नाम तुल बहादुर तामाङ्ग थियो । उनको सक्कली नाम त्यतिबेला खुल्यो जत्तिबेला शर्मिलाले विवाह दर्ताको लागी निकै ठूलो दबाव सृजना गरिन् । सिन्धुपाल्चोकको माङ्खास्थित गाविस कार्यालयमा पुगेर विवाह दर्ताको ‘कागजी खोस्टो’ दिए पनि तुल बहादुरले शर्मिलालाई आफ्नो घर कहिल्यै देखाएनन् ।

बरु गुरुङ्ग संस्कृति अनुसार छोरी भगाएपछि बुझाउनुपर्ने रक्सी अर्थात ‘चोरको स्वर’ बुझाउन संखुवासभा गए । ‘चोरको स्वर’ बुझाउन जाँदा सुदीपले शर्मिलाको परिवारको आन्द्राभुँडी पढ्ने मौका पाएका थिए ।

‘गत साल हामी इन्डियन लाहुरे भिड्दा रनिङमा फेल भएर बसेका थियौँ, त्यो कुरा सुदीपलाई थाहा भयो’ शर्मिलाको भाईमध्येका एक कैलाश गुरुङ्ग भन्छन्, ‘अनि उसले पाँच–पाँच लाखमा हामीलाई युएस आर्मी बनाईदिने सपना देखायो । हामी लोभियौँ ।’

आफ्नो दिदीसँग विवाह गरिसकेको हुनाले कैलाश र राजेश दुवै जना अमेरिकन आर्मीमा जागिर खान तयार भए । ‘हामीले अरुण–३ को मुआब्जा पाएकी छ्यामासँग ऋण खोजेर दश लाख सुदीपलाई पठायौं’ कैलाशले भने, ‘हाम्रो परिवारसँग जोडिएको दुई महिनाभित्र हामीले १० लाख दियौँ, पछि उसले फेरि प्लेन टिकटका लागी भन्दै ६ लाख माग्यो, त्यसपछि हामीलाई शंका लाग्यो ।’

गुरुङ्ग परिवारले भनेकै समयमा ६ लाख बुझाउन नसकेपछि आफ्नो मोटरसाईकल फईनान्समा राखेर हालिदिएको गफ दिने सुदीपले अन्तमा ‘१५ दिन पोखरामा बसेर ट्रेनिङ लिनुपर्ने’ भन्दै गुरुङ्ग परिवारबाट थप ४ लाखसहित कुल २१ लाख ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

‘म तिमीहरुको भिनाजु हुँ, काम गर्न नसके मैले तिमीहरुको अगाडी कसरी मुख देखाउनु ?,’ भन्ने सुदीप २१ लाख पैसा हातमा परेपछि शर्मिलासँग पनि टाढिँदै गए ।

‘मंसिर लागेपछि मलाई एउटी महिलाले फेसबुकबाटै मेरो बुढाको पछि किन लागिस् भन्दै धम्की दिन थालिन्,’ शर्मिलाले भनिन्, ‘ पछि त सुदीपले नै मलाई नै मार्ने धम्की दिन थालेको थियो । त्यसपछि मंसिर ६ गतेबाट ऊ सम्पर्कविहीन भयो ।’

सँगै जिउने, सँगै मर्ने बाचा गरेका सुदीपले ‘मार्ने धम्की’ दिएपछि शर्मिला आफ्ना भाईहरुसहित काठमाडौँको टेकुस्थित महानगरीय अपराध महाशाखा पुगिन् । ‘त्यहाँ पुगेपछि त, छाँगाबाट खसेजस्तै भएँ’ उनले भनिन्, ‘त्यहाँका प्रहरीले सुदीपको फोटो देखाउँदै डेढ बर्षअघि म जस्ता दुईजना युवतीहरुलाई बिहेको नाटक गरेर लाखौँ ठगेको अभियोगमा सजाय काटेर निस्केको रहेछ ।’

शर्मिला र उनका भाईहरुको उजुरीपछि अपराध महाशाखाले सुदीपलाई सिन्धुपाल्चोकको माङ्खाबाट नियन्त्रणमा लिएको छ ।

‘फेसबुकबाट चिनजान गर्ने र बिहेलाई ठगीको माध्यम बनाउने गरेको पाईएको छ’ अपराध महाशाखाका एसपी उमाशंकर पञ्जियारले भने, ‘तुल बहादुर तामाङ्गलाई ठगीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेका छौँ ।’

आफुलाई फरक–फरक नामबाट चिनाउने तुल बहादुरले सुदीप गोले नामबाट ‘लेकाली शेर्पेनी’ नामक तामाङसेलो गीत समेत बजारमा ल्याएका छन् । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट प्रतिनिधीसभाका उम्मेद्वार मोहन बस्नेको कार्यक्रममा भोट मागेको फोटो उनले आफ्नो फेसवुकमा पोष्ट गरेका छन् ।

अरु को–को ठगिए ?

सिन्धुपाल्चोककी कविता दोङ (नाम परिवर्तन) वैदेशिक रोजगारीको सिलसिलामा लेवनानमा थिइन् । ‘जेभी’ नामबाट फेसवुक चलाउने तुल बहादुरले आफू अमेरिकाको ग्रीनकार्ड होल्डर नागरिक भएको बताए । ‘विवाह गरेर डिपेडेन्ट भिसामा अमेरिका लैजाने’ आश्वासन दिएर तुलबहादुरले कवितालाई नै क्यानडा जाने मानिस खोज्न लगाई १३ लाख ठगी गरिसकेका छन् ।

टिकामाया लामा (नाम परिवर्तन) वैदेशिक रोजगारीको सिलसिलामा साइप्रसमा थिइन् । टिकामायासँग फेसबुकमा साथी बनेपछि क्यानडामा आफ्नी आमा डाक्टर रहेको झुट बोलेका तुलबहादुरले टिकामायालाई सँगै क्यानडा जाने सपना बेच्न सफल भए । त्यहि सपनाको त्यान्द्रोले तानेर टिकामाया साइप्रसको रोजगारी छाडेर नेपाल आइन्, यहाँ आएपछि अनेक बहानामा तुलबहादुरले उनीसँग ९ लाख ठगी गरेर सम्पर्कविहीन भए । टिकामायाको साइप्रसको जागीरमात्रै गुमेन, क्यानडा सपना काठमाडौँमै बिलायो ।

२०७३ साउनमा टिकामाया र कवितालाई ठगी गरेको अभियोगमा पक्राउ परेका तुल बहादुरले सजाय काटेपछि फेरि ठगी धन्दा शुरु गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

‘म विश्वासमा फसेँ,’ अहिले महाशाखा धाईरहेकी शर्मिलाले गहभरी आँशु पारेर भनिन्, ‘अब यो केटाबाट अरु दिदीबैनी ठगिनु नपरोस् !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *