२०८१ वैशाख १२ गते | 24th of April 2024

हेल्लो जनसंपर्क !

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २९ गते २०:०६

गोकुल ढकाल
लस एन्जलस ।

धेरै बर्ष पहिले अमेरिका भ्रमणमा आएका चिन्तक प्रदिप गिरीले भनेका थिए, ‘तपाईंहरु जनसंपर्क होइन, धन-संपर्कतिर लाग्नुस् ।’ शायद बुढाको मतलब थियो; कर्म गर्नुस्, पैसा कमाउनुस्, सबल बन्नुस् । प्रवासमा अफ्ट्यारो राजनीति गरेर आपसी सम्बन्ध बिगार्नुभन्दा सकेको पैसा बरु गाउंमा बाख्रापालन गर्नुस् अनि पार्टीलाई पनि सम्झनुस् । दुरगामी विचारका अब्बली गिरीको सल्लाह सफल भए, लागु भए या भएनन, त्यो त वर्तमानले देखाईरहेको छ नै । तर बुढाले भनेको जस्तो ‘प्रवासमा राजनइत नगर्नुस्’ भन्ने चाही सफल भएन किनकी बुढा आउनुभन्दा अगावै शुरु भएको जनसम्पर्क समितिको कार्यक्रममा आँफैं अतिथिको रुपमा आमन्त्रित थिए । सबैलाई थाहा छ, संस्था खोल्न तछाड-मछाड गर्ने नेपालीहरु खोली सकेको संस्था किन बन्द गर्थे, गिरी बुढाका कुराहरु घाममा सुके, आग्रहरु चिसोले कठाङ्रियो ।

स्थापना पछि धेरै राम्रा काम भए, नराम्रा कुराहरुका ठेली होलान, तर गिरीले भनेका जति सबै लागु भएनन । जन्मेदेखी दुई कित्तामा बांडियो, जनसंपर्क । चुनावी माहौलमा, पिकनिकमा कतै घाम ताप्दा वा रक्तदान गर्दा पनि कसैले ‘जनसंपर्क एक छ’ भन्यो भने त्यो गलत थियो । कहिल्यै मिलेन यो । न आफ्नै चुनावमा मिल्यो, न च्याप्टरहरुका अधिवेशनमा मिल्यो, न कुनै संस्थाहरुका बिषयमा मिल्यो न त एनआरएनमै मिल्यो । यी कुराहरुमा ‘मिलेको प्रमाण’ पेश गर्नेहरु गिरिको भाषामा जनबहादुर या धनप्रसाद हुनेछन ।

यि हरफहरु कोर्दै गर्दा आफु पनि बैधानिक रुपमा ‘जनसंपर्क समिती’ को निर्वाचित सदस्य भएको ‘अवधी सकिएको’ आज करिब तेस्रो साता लागेको छ । त्यसैले देखेका कुरा लेख्दा मलाई हुने कारवाहीको कुनै डर छैन । फेरी कारवाहीको डरले पदावधि सुरक्षित राख्न नलेखेको चाहीं होईन । जसका खास कारण छन । महाभुकम्प, बिनाशकारी बाढी र बिभिन्न चरणमा भर्खरै सम्पन्न भएको संघीय नेपालको प्रथमा एेतिहासिक निर्वाचनका कारणले बिशेषत: अमेरिकामा रहेका संस्थाहरु प्रभावित भएजसै जनसंपर्क समिती पनि स्वाभाविक रुपमा सुस्त देखियो, जुन सान्दर्भिक होला । तर समयमै केन्द्रिय अधिबेशन गर्न सकिने या पार्टीको आदेश मानेर ‘आधिकारीक पत्र’ प्रकाशन गरेर नेजसको अधिबेशन समयमै नहुनाका कारण देखाउन हामी चुक्यौं ।

जनसम्पर्कका प्रमुख पदाधिकारीहरु हिजो देशको दु:खका बेलामा या निर्वाचनको बेलामा नेपालमा सकृय हुनुहुन्थ्यो । निर्वाचनको महा-संग्राममा सहभागी हुन सक्ने पदाधिकारीहरु पार्टीका लाग्नु खट्नुजस्तो उत्तम कुनै कुरा नै छैन । तर पदावधी सकिएको च्याप्टर र संस्थाको केन्द्रिय अधिबेशनको बारेमा ‘समर्थकहरुको चासोलाई सम्मान गर्दै पार्टीबाट एउटा अधिकारिक चिठी पठाईदिनुहुन हामी बबुराले गरेको आग्रह’ सुनिएन । जति नै ब्यस्त भए पनि सुगम सानेपाबाट कार्यालय सचिवले सजिलै बनाउन सक्ने एउटा चिठी छाप्न सकेनौं । यो कुनै सिफारिश पत्र थिएन । सामान्य लागे पनि केन्द्रिय अधिबेशन र यसको बैधानिक अवधीलाई सम्बोधन गर्ने चिठी संस्थाको ईमान र साख जोगाउने चिठी हुनेथियो । धेरै कुरा प्रकाशमा आए, जुन अहिले पनि विचाराधिन वा असम्भव जस्ता लाग्छन । तर महासचिव र अध्यक्षलाई ‘भोली समस्या आउलान, बैधानिकताको बिषयबोधको चिठी पठाउनपर्‍यो भन्ने अनुनय सुनिएन, खै किन हो !

प्रसंग बैधानिकताको होईन । प्रसंग बिधानले तोकेको समयमा नेपाली जनसम्पर्क समितिको अधिबेशन हुनुपर्थ्यो, हुंदैछ या हुंदैन भन्ने कुराको हो । ‘एक दिन पनि अधिबेशन ढिला नगराउने’ भनेर हामीले बोलेका सुन्नेहरुले सोध्लान, खै भनेर ! चुनावले रोकिको भन्न पाइन्न जस्तो लाग्छ किनकी प्रवासकै जनसंपर्क समिती – जर्मनमा यसको केन्द्रिय अधिबेशन सम्पन्न भएको छ । लामो समयदेखी अमेरिकामा सकृय एउटा शक्तिशाली संगठनको अधिवेशन झिना-मसिना कुराहरुले अल्झिन हुंदैन भन्ने मान्यता मात्र हो । किन रोकियो त, खै संस्था वा पार्टीको अधिकारिक धारणा ? त्यसैले यो बिषय पहिले लेखिएन ।

नेपाली जनसम्पर्क समितिमा रहेका हामीहरुको वास्तविक अवधी सकियो । बैधानिकताको कुरा गरेर आफु ठुलो, पवित्र र जान्ने बन्न कदापी खोजेको होईन । एउटा कुरो चाँहीं पक्क के हो भने, धेरै आन्तरिक राम्रा नराम्रा कुराहरु थांती राखेर पनि नेपाली जनसम्पर्क समिती अमेरिकाको केन्द्रिय अधिबेशनको मिती अब तोकिनुपर्दछ ।

कुनै बिषय यस्ता हुन्छन, जुन बिषयका पक्षमा निर्णय लिनाका लागी कोरम पुर्‍याउनु पर्दैन । सुखी ‘घरमा छोरीको बिहेको निर्णय गर्न’ माहिलो छोरो दुबई भए पनि हुन्छ भन्छ, ठाइंलो अस्ट्रेलिया भए पनि राम्रो भन्छ, अमेरिका भएको ठुलो छोरोले त बहिनीको बिहेको सम्पूर्ण खर्च म बेहर्छु, धेरै गर्नुभयो बुवा-आमा तपाईंले, अब मेरो पालो पीर नगर्नुस् भन्छ ।

आदरणीय सभापती, सिंगो केन्द्रिय समिती र शुभचिन्तकहरुमा आफु जान्ने बन्नाका लागि यो भनिरहेको छैन । कसैप्रती पुर्वाग्रह छैन । एउटा साधारण सदस्यको नाताले ‘शक्तिशाली संगठन’को छिन्न भिन्न शक्ती एकिकरणका लागि आग्रह मात्रै हो । मिटिगं हुन्छ, निर्णय गरौंला भन्ने बिषय पनि अब धेरै पछि नलगौं । पार्टीले ब्यहोरेको लाजमर्दो हारमा हामी पनि जिम्मेवार छौं । हामीले गर्ने हरेक कृयाकलापहरुले पार्टीमा अर्थ राख्दछ । बिचार, घटना र परिबेशले परिमार्जन नहुने हो भने, ‘कांग्रेसको झन्डा बोक्ने कार्यकर्ताले रुकुममा बिपिको फिटो देखाउंदै, यो बुढो पनि यही पार्टीमा हो ?’ भन्ने अरुहरु जन्मनेछन । गिरी बुढाले बरु धनसम्पर्कतिर लाग्नोस भनेको बाटो सहि हुनेछ । पार्टीको शर्मानक हारलाई प्रवासबाटै सांगठानिक एकरुपताको लहर ल्याउने अवसर हो, यो ।

भाई फुटे गवांर लुटे जस्ता धेरै नेपाली नकरात्मक उखानहरुको पर्यायवाची बनेको छ, कांग्रेस । गुट उपगुटले ग्रस्त संगठन, बिपि को हो रे भन्ने जस्ता लाजमर्दो प्रश्न, विश्वप्रकाश, रामहरी, चन्द्र र प्रदिपहरुलाई हराउने गुटलाई धुलो चटाउने बेला हो, अबको पांच बर्ष । म त भन्छु, नेपाली कांग्रेसका कुनै नेतालाई खर्च बेहोरेर, खादा माला लगाएर, दारु खुवाएर, सकी नसकी बाचाएको पैसाले ग्यांस हालेर घुमाएर अनि तिनैका हातले अधिबेशन उद्घाटन गर्नेतिर नलागौं, अब । त्यो पैसा बरु हुम्ला पठाम, एउटा गरीबले भात खान्छ । जुम्लाको बिद्धालयलाई दिम, दुई जनाले किताब पढ्छन । शुरुवात आँफैंबाट शुरु गर्ने हो । कसैलाई ईज्जत दिएर चुनाव जिथ्यो पार्टीले भने कांग्रेसका सम्पूर्ण नेताहरुले जित्नुपर्ने !

पार्टी तल झर्यो, ईतिहास खस्कियो । तर यो अवसर हो । यत्रा बर्ष सरकारमा रहेर कांग्रेसले गरेका हरेक कृयाकलापहरुको जोखना गर्नुपर्दछ । सत्ताको भोकले र्याल चुहाईरहनेहरुलाई सबक सिकाउनु पर्छ । दरिलो प्रतिपक्षमा बस बुढा हो भन्ने सिकाउन पनि हामी एक हुनु जरुरी छ । हाम्रो संस्थाको अधिबेशन यथाशाक्य आवश्यक छ । हामी संगठित भएको अमेरिका आउने नेताहरु पाल्न मात्रै होईन । तिनिहरुलाई पाठ सिकाउन पनि हो । धेरै खादाहरु खुईलिए, हाम्रा । अब त हलिवूडको टिकट पनि महंगो भाको छ । आईफोन अफर त पहिलेदेखी नै सक्दिन भन्देको हो, मैले त । सक्दिन पनि । य्स्ता तिक्तताहरुको हिसाब-किताब मिलनअको लागि पनि जनसंपर्कको केन्द्रिय अधिबेशन जरुरी छ ।

हिजो साधारण सभा भयो । एकताका हिमायातीहरु हामी कैयौं शुत्रधारीहरु सहभागी भयौं अनि भएनौं । त्यसका पनि आफ्नै पाटाहरु होलान । केन्द्रिय अधिवेशन सम्पन्न भएपछिका राम्रा नराम्रा कुराहरुका आफ्नै दस्तावेज बन्नेछन । आंफैमा समयदिन गार्हो प्रवासमा ‘बल्ल बल्ल भेटिने’ अवसरलाई एकताको तिर्खा फेरी एकचोटी मेटिन नेपाली जनसंपर्क समिती अमेरिकाको ईतिहास लेख्ने महायज्ञमा सरिक हुने बेला होईन र, यो ? हेल्लो जनसंपर्क !

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *