नेपाली कांग्रेसको नेतृत्वमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर त्यसको परिणाम पनि आइसक्यो । तर परिणाम कांग्रेसको पक्षमा आएन । यसको कारण के हो जस्तो लाग्छ ? के कमी कमजोरी भए जसले तपाईहरुलाई इतिहासमै पहिलो पटक तेस्रो हैसियतको दल बनायो ?

पहिलो कुरा त नेपाली कांग्रेसको पक्षमा भोट कम भएर नै हारेको हो । जनताले नेपाली कांग्रेसलाई भोट किन दियो भने यहाँ दुईवटा कुरा छन् । एकातिर त हाम्रो व्यवस्थापन, स्रोत साधनको परिचालनदेखि लिएर हाम्रा एजेण्डाहरु जस्तै हामीले सैद्धान्तिक कुराहरु मात्रै गर्यौँ । जनताले अधिनायवाद बुझेनन् । हामीसंग गतिलो एजेण्डा नभएकाले हामी हार्नुपर्यो भनेर एकथरीले विश्लेषण गरिरहेका छन् । तर त्यो भन्दापनि खतरनाक कुरा के हो भने मैँले बारम्बार तपाईको मिडियामा पनि भन्ने गरेको छु कि प्रजातन्त्रवादी जनताको उपस्थिति अल्पमतमा छ । ६० प्रतिशत भन्दा बढी जनताको सङ्ख्या कम्युनिस्टमा विश्वास राख्ने देखिन्छ । माओवादीले सुरु गरेको मान्छे मार्ने काम जसलाई उहाँहरु ‘जनआन्दोलन’ भन्नुहुन्छ । त्यसको मिसन राजतन्त्रको अन्त्यसंगै प्रजातन्त्रिक व्यवस्थाको पनि अन्त्य गर्नु थियो । जुन कुरामा उनीहरु अहिले आएर सफल हुँदैछन् ।

त्यतीबेला उनीहरुले प्रजातन्त्रवादीलाई घरमा बस्न नदिएर टाउका रेट्नुको एउटै मात्र अर्थ के थियो भने प्रजातान्त्रिक व्यवस्थामा हुन लागेको विकासले आफूलाई कमजोर बनाउँदै कांग्रेसले जरो गाड्छ भनेर माओवादीले हिंसात्मक गतिविधि गरेको थियो । त्यतीबेला कांग्रेसले अघि सारेका विकासका काम पनि माओवादीको रबैयाका कारण सम्पन्न गर्न सकिएन । अनि ६२ देखि ७० सम्मको अवधिमा वाईसिएल र युथ फोर्सका नाममा प्रजातन्त्रवादी त्रासमा रहे । यो १८र२० वर्षको अवधीमा हामीले काम गर्न सकेनौँ । उनीहरुले बारम्बार अवरोध गरे । हामीले अघि सारेका विकासका कामहरु सम्पन्न गर्न नदिने, जनतालाई त्रासमा राख्ने गर्नाले हामी त्यस समयमा जनताको बीचमा जान सकेनौँ । जसको परिणाम आज हामीले बेहोरिरहेका छौँ । अझ ५ वर्ष पनि यसले प्रभाव गरिराख्न सक्छ । त्यस कारण अहिलेको हारलाई मल्हम लगाउने भनेको कांग्रेसको नेविसंघको संगठन सबैभन्दा दह्रो बनाउने सवालमा पार्टीको नेताहरुले सहयोग गरेर पार्टी भित्रका गुठलाई अन्त्य गर्नु पर्छ । यदि त्यो भयो भने कांग्रेसको उत्पादन नेविसंघ मार्फत हुन्छ ।

हारको अर्को कारण भनेको कसैले पार्टीसभापतिलाई भनिरहेका छन् । कसैले शीर्ष नेतालाई भनिरहेका छन् । तर मलाई के लाग्छ भने अहिलेको केन्द्रिय कार्यसमितिमा नेविसंघको राजनीतिबाट गएका युवाहरुको संख्या ५२ प्रतिशत भन्दा बढी छ । तर तिनीहरु आफ्नो स्वार्थपूतिका लागि गुटगत बाटोमा लागे । कांग्रेसलाई रुपान्तरण गर्नसक्ने, देशले खोजेको एजेण्डाहरु लिएर कोही पनि आएनन् । युवाको प्रतिनिधित्व गर्ने तर युवाका पक्षमा काम गर्न नसक्ने जुन किसिमको परिस्थिति सिर्जना भएको छ । त्यसले अझ युवाको भविष्य बिलखबन्धमा पर्ने हो कि भन्ने चिन्ताको विषय बनेको छ ।

अहिले सबै नेताहरुले पार्टी सभापतिलाई मात्रै दोष दिइरहेका छन् । तर यसको सबै जिम्मा उहाँले मात्र लिनुपर्छ र ? के यो पार्टी नेतृत्वको मात्रै कमजोरी हो त ?

होइन , यसमा सबैको सामूहिक जिम्मेवारी हुन्छ । पार्टीको सभापति भइसकेपछि स्वभाविक रुपमा केही बढी जिम्मेवारी त होलान् । तर चुनावका लागि एजेण्डा तयार गर्ने विषयमा सबै केन्द्रिय समितिका सदस्यले राय दिएको हो नि । हिजो सरकारमा बसेर मन्त्री बनेका नेताहरु पनि त्यहाँ हुनुहुन्छ । उहाँहरुले पार्टीको सुधारको लागि कतीपटक आफ्नो प्रजातन्त्रको स्थापना, शान्तिप्रक्रियादेखि संविधानको निर्माण र कार्यान्वयनसम्म नेतृत्व गर्ने पार्टी आज खुम्चिएको छ । अब हरेक सदस्यले आफ्नो भूमिका जिम्मेवार भएर पूरा गरेँ कि गरिन भनेर सोच्नेबेला आएको छ । पार्टी र देशका लागि मैँले के गरेँ र अब के गर्छु भनेर सोच्ने बेला आएको छ । कसैलाई ठाडो औँला सोझ्याएर मात्रै हुँदैन । तर एउटा कुरा सत्य हो कि दुनियाँ युवा खोजिरहेको छ । युवाको उपस्थिति हरेक क्षेत्रमा आवश्यकता महुशुस हुँदैछ । चाहे त्यो राजनीति होस् वा व्यापार व्यावसायमा । त्यस कारण युवाको भूमिकालाई नेपाली कांग्रेसमा बढी स्थान दिन जरुरी छ ।

युवाहरुको उपस्थितिलाई दह्रो बनाउनका लागि तपाईहरुले अब के रणनीति अपनाउनुहुन्छ ? पार्टीलाई बलियो बनाउनका लागि तपाईको भूमिका अब के हुन्छ ?

मैँले भनिरहेको छु कि उत्पादन गर्ने पहिलो नर्सरी नेविसंघ नै भएकोले पार्टीको हस्तक्षेपबिना हामीले काम गर्न पाउनुपर्छ । यसलाई प्रशिक्षित नेविसंघ बनाउने र लाखौँ युवाहरुलाई सदस्यता वितरण गरेर नेपाल विद्यार्थी संगठनमा समाहित गराउने काममा म लाग्छु । अर्को कुरा पार्टीले पनि प्रशिक्षित कार्यकर्ता निर्माण गर्नु जरुरी छ । विचारको प्रशिक्षण दिने स्कुलिङ विभाग सक्रिय भएर हिजो भएका गल्तीलाई सच्याउनका लागि एक पटक फेरि मौका मिलेको छ । बलेको घरको खरानी बेचेर धनी हुन्छु भन्ने नसोचेर यसको पुनर्निताजगी गर्न आवश्यक छ । कांग्रेस बलियो बनाउनका लागि संस्था बलियो हुन जरुरी छ । तर यहाँ व्यक्ति बलियो हुन थाल्यो । व्यक्ति पपुलर हरने तर संस्था कमजोर हुने अवस्थाको अन्त्य गरिनु पर्छ । पार्टीका युवा नेतालाई भन्न चाहान्छु कि अब व्यक्ति होइन संस्था बलियो बनाउनतिर लाग्नु पर्यो ।

निर्वाचनमा कांग्रेसले पनि केही ठाउँमा गठबन्धन गरेको थियो । तर त्यसले उचित नतिजा दिन सकेन । जसरी एमाले माओवादी मिलेर वाम गठबन्धन भयो त्यसरी नै नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याएर मजबुद लोकतान्त्रिक गठबन्धन गर्न किन सकेन ?

सबैभन्दा दुर्भाग्यपूर्ण घटना त्यही थियो । लोकतान्त्रिक शक्तिहरु एक ठाउँ भएर जान सकेको भए राम्रो हुन्थ्यो । समय पनि कम थियो होला । किनकी कम्युनिस्ट गठबन्धन बनाउँदा उनीहरुले धेरै गृहकार्य गरेका थिए । अकस्मात लोकतान्त्रिक गठबन्धन निर्माण गर्नु पर्ने, त्यसमा पनि सबै पार्टीमा छिप्पीएका नेताहरुको सुनुवाई हुने र आफ्नो सुरक्षित अवतरण कसरी हुनसक्छ भन्नेमा मात्रै हाम्रा नेताहरु केन्द्रित भए । हामीसंग समयपनि कम भयो र केही त्याग पनि गर्न सकेनौँ । पार्टीले जुन किसिमको त्याग गर्नु पर्ने थियो त्यो गर्न सकेन । तर एउटा कुरा के हो भने तपाई लोकतान्त्रिक गठबन्धन बनाएर लड्नुस् वा एक्लै लड्नुस् । जबसम्म प्रजातन्त्रवादी जनताको बहुमत नेपालमा हुँदैन, तबसम्म प्रजातन्त्रप्रति आस्था राख्ने दलको सत्तारोहणको सपना पूरा हुँदैन ।

वाम गठबन्धनले बहुमत ल्याइसकेकोले उनीहरुको सरकार बन्ने पक्का भइसकेको छ । अब तपाईहरु त प्रतिपक्ष मै सिमित हुनुहुनेभयो हैन ?

देशको लागि कांग्रेसले आफ्नो सक्रियता बढाउनुपर्छ । वास्तवमा कांग्रेस जनताकै पार्टी हो । सबै परिवर्तनको नेतृत्व लिने बेला कांग्रेसले गर्नुपर्ने बाध्यात्माक परिस्थिति छ । हामी ले सम्वृद्धिको नेतृत्व पनि हामी नै गर्छौँ भनेका थियौँ । हाम्रो त्यो एजेण्डालाई जनताले अनुमोदन गरेनन् । नेपाली कांग्रेसको भोट त बढ्यो । तर अधिकांश जनताले वाम गठबन्धनलाई भोट हाले । त्यस कारण जनताले नेपाली कांग्रेसलाई जुन किसिमको प्रतिपक्षको भूमिका दिएको छ । त्यो भूमिका अन्तर्गत रहेर नेपाल विद्यार्थी संगठनलाई मजबुद बनाउँदै हामी जनताका सामू जान्छौँ । कम्युनिस्ट अधिनायकवादका केही खतराहरु देखिन सक्छन् । किनकी हिजो ओली र प्रचण्ड सबैलाई सरकारमा देखेका थियौँ । ती खतराका सङ्केतलाई टार्नका लागि पनि जनतालाई सचेत गराएर जनताकै माध्यामले काम गछौँ ।

भनेपछि तपाईँहरु पाँच वर्षसम्म सरकार बाहिरै बस्नुहुन्छ ?

पाँच वर्ष पूरा जनताको साथमा हामी रहन्छौँ । नेविसंघको साथमा नेपालको शैक्षिक प्रणाली सुधार गरेर नेपालका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिलाउने सवालमा, जनताका जनजीविकाका सवालमा, देशको आर्थिक उन्नतीका सवालमा र राज्यले जनताप्रति भोलिका दिनमा गर्नसक्ने सम्भावित दमनको विपक्षमा उभिने सवालमा हामी निरन्तर लागिरहन्छौँ । एउटा मजबुद प्रतिपक्षको भूमिकामा बस्छौँ ।

कांग्रेसले घोषणापत्रमा पनि विविध किसिमका योजनाहरु अघि सारेको थियो । देशमा बेरोजगारी व्याप्त छ । अन्य विविध समस्याहरु छन् । अब मुलूकलाई आर्थिक समृद्धिको यात्रातर्फ लैजानका लागि नेपाली कांग्रेस कसरी अगाडी बढ्छ ? किनकी जनताले त प्रतिपक्षमै सीमित पारिदिएको छ नि ?

कांग्रेसले लिएको एजेण्डा अहिले कार्यान्वयन हुनसक्ने अवस्था छैन । किनकी हामी प्रतिपक्ष मै बस्नुपर्ने छ । तर हामी पहरेदारको भूमिकामा जनताका अधिकारको लागि काम गरिरहने हो । हामीले हाम्रो घोषणापत्रमा युवा बेरोजगार भत्ताका कुरा गरेका छौँ । शैक्षिक बेरोजगार भत्ताका कुरा गरेका छौँ । आर्थिक अभावका कारण शिक्षाको उज्यालोबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि शैक्षिक ऋणको कुरा गरेका छौँ । विश्व विद्यालयलाई अनुसन्धानमूलक बनाउनुपर्छ भनेका छौँ । परिवारको क्षमता अभिवृद्धिको कुरा गरेका छौँ र देशको आर्थिक उन्नतीको कुरा गरेका छौँ । ती सबै कुराहरुलाई लागू गर्नका लागि हामी सरकारसमक्ष ती कुराहरु राख्छौँ । हामी सरकामा नभएता पनि अबको सरकारले जनताको समृद्धिको लागि काम गर्नुपर्छ । यदि त्यो भएन भने हामी जनतालाई साथमा लिएर प्रतिपक्षीले गर्नुपर्ने सबै किसिमका भूमिका निर्वाह गछौँ ।

कांग्रेसमा नेतृत्वको पुस्ता हस्तान्तरणको सम्भावना कत्तिको छ ? उमेर हद लागू हुन सक्दैन ?

हामीले यस अघि पनि भनेका थियौँ । समानुपातिक वा प्रत्यक्ष जे सुकै होस् पार्टीको तर्फबाट तीन पटकभन्दा बढी पटक उम्मेदवार भइसकेका केन्द्रिय समितिका पदाधिकारी बाहेक सबैले विश्राम लिएर नयाँ लाई भूमिका दिनुपर्छ भनेर भनेका थियौँ । तर त्यो कार्यान्वयन हुन सकेन । ४६ सालदेखि सँधैभरी एउटै व्यक्ति उम्मेदवार हुन्छ भने निर्वाचन सधैँ जित्न सकिँदैन । अहिले त्यही भएको हो । र अर्को तीन पटक पार्टीको कुनै एउटै पदका लागि उम्मेदवार भएको व्यक्तिले छाडिदिने हो भने उमेर हद लागू गर्ने पर्दैन । तर यहाँ त सँधैभरी एउटैले राज गरिरहने परम्परा छ । समस्या यसले पैदा गरेको हो ।

यसमा तपाईहरुको भूमिका कस्तो हुन्छ रु यसको बारेमा पार्टीमा कुरा उठाउनुहुन्छ ?

पदाधिकारी भएको सवालमा हामीले त्यो पनि सोच्नु पर्ने हुन्छ । पदाधिकारी बाहेकका सवालमा तीन पटकभन्दा बढी एउटै पदका लागि दाबी नगर्ने परम्पराको विकास गर्नुपर्ने हुन्छ । पार्टी सभापति त दुईभन्दा बढी पटक हुन नपाउने हाम्रो विधानमा नै छ । यती कुरा भयो भने पार्टीलाई मजबुद बनाउन सकिन्छ ।

तपाईले भनेका यी कुराहरु पार्टीमा कार्यान्वयन हुन्छन् त ?

कार्यान्वयन नगरेर त सुखै छैन नि । या त मैले पार्टी सुधारका विषयमा बोल्नु पर्छ या त मेरो भविष्य सकिन्छ । मैँले दुई मध्ये एक अपनाउँदा त मैँले अवश्य पनि मेरो र म जस्तै युवाको भविष्यको बारेमा सोच्छु नि ! युवाको जोश र बूढाको अनुभवलाई समायोजन गरेर मात्रै पार्टी चल्छ र यसको लागि अवसरको समान वितरण नै हो । युवा र बूढा भन्दा पनि सबैले अवसर पाउने बारेमा सोच्नुपर्छ ।