२०८१ वैशाख ७ गते | 19th of April 2024

आचारसंहिता भित्र उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते ३:२४

प्रकाश ढकाल
पोखरा, २० बैशाख ।
स्थानीय चुनावमा उम्मेदवार बन्न मनोनयन दर्ता गराएका उम्मेदवारलाई मंगलबारदेखि नै आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चैत महिना मै चुनाव लक्षित आचारसंहिता जारी गरेको थियो । जारी संहिताले उम्मेदवारको प्रचारप्रसार देखि खर्च सीमा समेत तोकेको छ । आयोगका अनुसार महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारले चुनाव प्रचार प्रसार गर्न बढीमा दुईवटासम्म चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न पाउँनेछन् । उनीहरुको चुनाव खर्च बढीमा ७ लाख ५० हजार रुपैयाँ मात्रै हुनेछ । आयोगका अनुसार मतदाता नामावली (भोटर लिस्ट) किन्न एक हजार खर्च गर्न सक्नेछन् भने प्रचार प्रसारमा २ लाख २० हजार खर्च गर्न पाउँनेछन् । प्रचार प्रसारमा पोष्टर टाँस्न रोक लगाइएको छ । तर, छापा तथा विद्युतीय माध्यममा प्रचार प्रसार गर्न अबरोध हुनेछैन ।
महानगरका वडाअध्यक्ष तथा सदस्यको उम्मेदवारले एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र एउटा मोटरसाइकल प्रयोग गर्न सक्नेछन् । यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले चाहीँ सवारी साधानका रुपमा एउटा सानो गाडी र दुईवटा मोटरसाइकल प्रयोग गर्न पाउँछन् । उनीहरुको चुनावी खर्च बढीमा ३ लाख ५० हजार रुपैयाँ हुनेछ । मतदाता नामावली किन्न एक हजार खर्च गर्न सक्नेछन् भने वडाध्यक्ष र सदस्यहरुले बढीमा ५ सय खर्च गर्न पाउँनेछन् । गाउँपालिका स्थित वडाध्यक्ष र सदस्यहरुले दुईवटा मोटरसाइकल मात्रै प्रचारका लागि प्रयोग गर्न मिल्छ । सवारी साधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रचारका लागि प्रयोग गर्न पाईने आयोगले जनाएको छ । तोकिएभन्दा बढी सवारी प्रयोग गरे आचारसंहिता विपरित हुनेछ । आचारसंहितामा भएको व्यवस्था विपरित गतिबिधी गर्ने उम्मेदवारलाई कारबाही हुने क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *