२०८१ वैशाख १४ गते | 26th of April 2024

एमालेसंग पार्टी एकीकरण भए माओवादीमा विद्रोह

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ४ गते ११:१६

काठमान्डौं । प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा पार्टी एकतासम्म गर्न सक्ने भन्दै बाम तालमेल गरेर निर्वाचनमा होमिएको माओवादी केन्द्रका लागि त्यही तालमेल र एकताको बिषय घाडो हुने भएको छ ।
देशैभरी आफ्नो पक्षमा निकै कम मत खस्ने आँकलन गरेका प्रचण्डले सत्तासाझेदार काँग्रेसलाइ छोडेर एमालेसँग तालमेल गर्दै बाम एकताको कार्ड बिछ्याइएका थिए । उनको उक्त प्रस्तावबाट एमाले भने खुसी भएको थियो ।
त्यत्रो जनयुद्धबाट आएको माओवादी नेतृत्वलाइ आफ्नो पार्टीमा बिलय गराउन पाए ठुलै युद्द जितिने भन्दै एमाले नेताहरुले एकाएक बाम तालमेल र एकताको बिषयलाई स्वीकार गरेका थिए ।
चुनाव सकिएपछि चुनाव अगाडी आफ्ना कार्यकर्ता र एमालेलाई दिएको बचनअनुसार माओवादी हेडक्वार्टरले एमालेसँगको एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउने निर्णय गरेको थियो ।
पार्टीको उक्त निर्णयसँगै केन्द्रीय समितिमा चरम असन्तुष्टि बढेपछि प्रचण्डले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएका थिए । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा चलिरहेको बैठकमा भने एकताको विषयलाई लिएर चरम असन्तुष्टि बढेको छ ।
असन्तुष्ट समूहले पार्टीको केन्द्रीय समितिमा माओवादी आन्दोलनको विसर्जन अहिले नै सम्भब नभएको भन्दै जोडदार बिषयबस्तु राखेपछि पार्टीको हेडक्वार्टरलाई विवाद मिलाउन हम्मेहम्मे परिरहेको छ ।
यदी माओवादी केन्द्रको केन्द्रीय समितिमा देखिएको यो विवाद हल भएन भने या त एमालेसंगको एकता भाडिने छ, या त माओवादी केन्द्र ३ टुक्रामा विभाजन हुने देखिन्छ ।
पार्टीको मूल नेतृत्वले जसरी पनि एमालेसँग एकता गरेरै अगाडी बढ्नुपर्ने अडान लिएर छलफल चलाइरहेको बेलामा बढिरहेको यस्तो विवादले सम्भवतः पार्टी विभाजन नै हुने देखिन्छ ।

विद्रोही पक्षको तयारी !
एमालेसँगको एकताको विषयमा फरक मत राख्ने केही केन्द्रीय सदस्यहरुले माओवादी आन्दोलनलाई नै अगाडी बढाउने भन्दै भरसक एकता प्रयास विफल पार्ने र पार्टीलाई एमालेमा बिलय हुन् नदिने नीति लिएका छन् ।
माओवादी केन्द्रका एक केन्द्रीय सदस्यकानुसार – ‘विद्रोही नेताहरुले एमालेसँग हुने एकतालाई रोक्न अधिकतम प्रयास गर्नेछन् । नसके पार्टी एकताको विरोध गर्दै पार्टीबाट अलग्गिएर माओवादी आन्दोलनको पुनर्गठन गर्न तिर लाग्ने छन् ।’
उनले भने- ‘लामो समय माओवादी पार्टीभित्र बहसको विषय बनेको संसदीय राजनीतिक अगाल्दै अगाडी बढ्ने कि जनप्रतिरोधमार्फत आफ्नो रणनीतिक लक्षतिर अगाडी बढ्ने भन्ने हो । बिगतमा सिङ्गो माओवादी पार्टी विभाजन हुनुको प्रमुख कारण पनि यही हो ।’

माओवादी विभाजनको शृंखला !
अघिल्लोपटक २०६९ सालमा एकीकृत माओवादी विभाजन हुँदा पनि मोहन बैद्यले यही बिषयलाई उठाएर पार्टी विभाजन गर्दै नेकपा-माओवादी गठन गरेका थिए । त्यतिबेला माओवादी आन्दोलनबाट आएका पार्टीका बरिष्ठ नेताहरु सिपी गजुरेल, राम बहादुर थापा’बादल’ देब गुरुङ, नेत्र बिक्रम चन्द ‘विप्लव’ले बैद्यलाई साथ दिएका थिए ।
पार्टी विभाजनको साढे २ बर्षसम्म पार्टीले भनेजस्तो गति लिन नसकेको भन्दै विप्लवले आफ्नै नेतृत्वमा पुनः नेकपा माओवादी गठन गर्दै ड्यास माओवादीसँग पनि सम्बन्ध विच्छेद गरेका थिए ।
शान्ति प्रक्रियामा आइसकेपछि ५ खेमामा विभाजन भएको माओवादी अहिले पनि ३ खेमामा विभाजित नै रहेको छ । यद्दपी मातृका यादव र मणि थापा भने प्रचण्ड नेतृत्वको पार्टीसंग एकता गर्दै पुनः पुरानै घर फर्किएका छन्। मातृका ,माणि मात्र नभएर बैद्यमा रहेको बादल समूह पनि माओवादी केन्द्रमै बिलय भएपछि पार्टीको नाम माओवादी केन्द्र बनेको थियो ।
प्रचण्ड बाबुराम नेतृत्वको माओवादी नव संशोधनबादी बाटोमा पतन भइसकेको भन्दै बैद्य र विप्लवले अलग्गै पार्टी बनाएर आ-आफ्नो राजनीतिक कार्यक्रम लिएर अगाडी बढिरहेका छन् भने बाबुरामले प्रचण्डलाइ छोडेर नयाँ शक्ति नेपाल बनाएर बसिरहेका छन् ।
एमालेसँग एकता भए पार्टीमा ३ खेमामा विभाजित हुने निश्चित !
अहिले माओवादी केन्द्रमा उठिरहेको बिषय तत्काल हल नभए पार्टी ३ खेमामा विभाजित हुने निश्चितजस्तै देखिएको छ । एउटा खेमा पार्टीको मूल नेतृत्व प्रचण्ड, कृष्णबहादुर महरा, जनार्दन शर्मासहितको समूह र अर्को एकताको बिपक्षमा रहेकाहरुको समेत दुई समूह हुने देखिएको छ।
हाल एउटा खेमाको नेतृत्व गोपाल किरातीले गरिरहेका छन् भने अर्को खेमाको नेतृत्व विश्वभक्त दुलाल ‘आहूति’ले गरिरहेका बताइएको छ । पार्टी एकता गर्न नहुने भन्ने तर्क पनि दुई नेताको फरक-फरक छ । किरातीले एमालेसँग एकताको कुरा गर्दा नेतृत्वले माओवाद र पहिचानको मुद्दा अलपत्र पारेर एमालेमा समाहित हुन खोजेको आरोप लगाएका छन् ।
यस्तै यता आहूतिले भने माओवादी एमालेमा मिसिनुलाई ‘परम्परागत संसदीय भासमा फस्नु’ भएको भन्दै एकता प्रयासबारे विमति राख्दै आएका छन् । किराती पूर्वमा सशस्त्र संघर्ष गरेको तत्कालिन किरात वर्कर्स पार्टी र आहूति नारायणकाजी श्रेष्ठ नेतृत्वको तत्कालिन एकता–केन्द्र मसालसँगै पार्टी एकतामा आएका हुन् ।
किरातीमाथि अतिजातिवादीको आरोप लाग्दै आएको छ । तर, किराती त्यसलाई अस्वीकार गर्छन् । उनले आफूले उठाएको पहिचानको मुद्धा विगतमा पार्टीले लिएको ‘अफिसियल’ धारणा भएकाले आफूलाई जातिवादी भन्न नमिल्ने बताउदै आएका छन । तत्कालिन नेकपा माओवादीले वर्गीय मुक्तिसँगै जातीय मुक्तिको नारा दिएकाले विचार मिलेका कारण माओवादी आन्दोलनमा समाहित भएको तर्क किरातीको छ ।
किरातीले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको घोषणा भएलगत्तै माओवादी केन्द्र पुनगर्ठन गर्ने भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यतिबेला अध्यक्ष प्रचण्डसहितका नेताले मार्क्सवाद र पहिचानको मुद्दा नछाडेको बताएपछि उनि तत्कालका लागि चुप लागेका थिए ।
चुनावी तालमेलदेखि नै पार्टी मुख्य नेतृत्वसँग असन्तुष्ट रहेका किराती सोमबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा समेत उपस्थित नभएको बताइएको छ।
आहूति माओवादीमा मार्क्सवादको गहिरो शास्त्रीय अध्ययन गरेका वैचारिक नेता हुन् । आफूहरुको असहमतिबीच पार्टी एकता भए त्यसमा सहभागी नहुने निस्कर्षमा आहूति पुगेका छन् ।
एमालेसँगको एकताका बारेमा पार्टीभित्र फरक मत राखिरहेका भएपनि अन्ततः यी दुवै नेताको पनि आ-आफ्नो रणनीति छ । एमालेसँग एकता गर्न नहुने बिषयमा एकै ठाउँमा देखिएको भए पनि यि दुवै नेताले आफूसँग समान धारणा राख्ने पार्टी नेता कार्यकर्तासँगको अलग-अलग छलफल तिब्र पारेको बताईन्छ ।
पार्टीको मूल नेतृत्व एकतामा जाने निश्चित भएपछि उनीहरु पार्टीबाट बाहिरिने र अरु माओवादी खेमाका पार्टीहरुसँगको एकतालाई जोड दिने बताइएको छ । उनीहरु दुवै समुहले बैद्य र विप्लव नेतृत्वका पार्टीसँग पनि छफल अगाडी बढाईरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *