२०८१ वैशाख १४ गते | 26th of April 2024

काँग्रेस–माओबादी तालमेल

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते ३:५०

प्रकाश ढकाल
पोखरा, २१ बैशाख ।
नेकपा माओबादी केन्द्रबाट पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका विश्वप्रकाश लामिछाने बिहिबार दिउँसो ४ बजेसम्म चुनाव प्रचारप्रसारमै ब्यस्त थिए । चुनावी कार्यक्रमकै तालिका अनुसार उनी पोखरा २ बगालेटोलमा सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोन आयो । बोली रोकेर फोन उठाए । कुरा सकेपछि फोन राखे, मन्तब्य छोट्याएर कार्यकर्तालाई धन्यबाद मात्रै भने । प्रचारकै गाडीमा चढेर मुख्य निर्वाचन अधिकृतको कार्यालय बैदाम पुगे । उम्मेदवारी फिर्ता गर्ने निवेदन भरेर बुझाए र निस्के । लामिछानेले मंगलबार दर्ता गराएको महानगर प्रमुखको मनोनयन पत्र फिर्ता भएको छ । पार्टीकै निर्देशन अनुसार उम्मेदवारी फिर्ता लिएको उनले प्रतिक्रिया दिए । ‘म पार्टीको प्रतिबद्ध कार्यकर्ता हुँ । पार्टीको निर्देशन मान्ने मेरो धर्म पनि हो, उनी भन्छन्–पार्टीले नै भनेर उम्मेदवारी दिएको थिएँ । पार्टीकै निर्देशनमा खुशीसाथ फिर्ता लिएँ ।’ उम्मेदवारी फिर्ता लिएपनि संविधान कार्यान्वयन र तालमेललाई मजबुत बनाउनका लागि आँफुले सक्दो पहल गर्ने उनको प्रतिबद्धता छ । ‘मैले लिएका पोखरा समृद्धीका एजेण्डा काँग्रेसका उम्मेदवारको पनि एजेण्डा बनेको छ । सच्चा हृदयले गरिएको समझदारी त्यतिबेला मात्रै पूरा हुन्छ, जतिबेला एजेण्डा कार्यान्वयन हुन्छ, उनले भने–एजेण्डा कार्यान्वयनमा मेरो पूर्ण समर्थन हुनेछ । खुशीसाथ सघाउन तयार छु ।’ पार्टीको निर्देशन अनुसार काँग्रेस उम्मेदवारको प्रचार प्रसारमा पनि सहभागी हुने उनले बताए ।
सत्तारुढ दल काँग्रेस र माओबादी केन्द्रको चुनावी तालमेलका कारण लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् । चार महानगरमध्ये पोखरामा काँग्रेस र भरतपुरमा माओबादी केन्द्रका उम्मेदवारलाई जिताउने गरी सहमति भएको हो । सहमति पछिको गठबन्धनमा काँग्रेसका रामजी कुवँर प्रमुखको उम्मेदवार बनेका छन् भने उपप्रमुखमा दुवै पार्टीका उम्मेदवारले चुनावमा प्रतिश्पर्धा गर्नेछन् । उपप्रमुखमा काँग्रेसको तर्फबाट सरस्वति गुरुङ र माओबादी केन्द्रको तर्फबाट गोमा ढकाल उम्मेदवार हुन् । पहिलो र तेश्रो राजनीतिक शक्तीबीच भएको तालमेलले पोखरामा नयाँ माहोल सिर्जना गरेको कास्की काँग्रेसका सभापति कृष्ण केसीले बताए । नीतिगत सहमतिका आधारमा माओबादीले उम्मेदवारी फिर्ता लिएको हो । फिर्तासँगै काँग्रेसलाई सघाउनुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ, उनले भने–यो सहकार्य दीर्घकालीन र राजनीतिक होस् । वहाँले देखाउनुभएको परिपक्कतालाई सह्राना गर्दै स्वागत गर्छु ।’ आपसी समन्वयमा चुनावी कार्यक्रम सञ्चालन गर्ने केसीले बताए । काँग्रेसबाट प्रमुखका उम्मेदवार रामजी कुवँरले माओबादीको निर्णयले पोखरामा काँग्रेसलाई जिताउने बलियो आधार तय भएको प्रतिक्रिया दिएका छन् । उनले लामिछानेलाई पनि सँगै लिएर नयाँ एजेण्डा तय गर्ने प्रतिबद्धता जनाए । ‘एजेण्डा जसको भएपनि पोखरा लेखनाथकै विकासका लागि हो, उनले भने–वहाँका एजेण्डा मेरो पनि हो । आपसी समन्वयमा एजेण्डा पूरा गर्न प्रतिबद्ध छु ।’ कास्कीमा एमाले र राप्रपा बीच पनि तालमेलको लागि छलफल भएको थियो । यद्यपी छलफलले अन्तिम रुप लिन सकेन । काँग्रेस र माओबादी बीच पनि पोखरा लेखनाथ बाहेक कुनैपनि स्थानीय तहमा तालमेल भएको छैन ।
महानगर प्रमुखका उम्मेदवार लामिछानेसँगै पोखरा लेखनाथ महानगरपालिकामा २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसमध्ये ११ जना वडाध्यक्ष छन् भने ४ जना महिला सदस्य, १ जना दलित महिला सदस्य र ६ जना खुल्ला सदस्यको उम्मेदवारी फिर्ता भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडाध्यक्षमा सबैभन्दा बढी अखण्डका उम्मेदवारले फिर्ता लिएका छन् । अखण्डबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका मध्ये १६ मा होम बहादुर खड्का, २५ मा अम्बर बहादुर थापा र ३० मा मोहन बहादुर थापाले फिर्ता लिए । यस्तै ३० मै संघीय समाजबादी फोरम नेपालका पूर्णसिंह गुरुङको उम्मेदवारी पनि फिर्ता भएको छ । स्वतन्त्र तर्फका ५ जना उम्मेदवारले पनि फिर्ता लिए । ६ नम्बर वडाका स्वतन्त्र उम्मेदवार गिरीराज अधिकारी, २१ मा रघुनाथ पराजुली, २६ मा बीमाया विश्वकर्मा, ३१ म उमानाथ तिवारी, ३३ मा बिष्णु प्रसार आचार्य र भीम बहादुर सार्कीको उम्मेदवारी फिर्ता भएको छ । १२ मा राप्रपाका खड्क बहादुर लाभाजुको पनि फिर्ता भएको मूख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिए ।
खुल्ला सदस्यमा पनि १६ नम्बर वडाका रामप्रसाद गौतम चुनावमा प्रतिश्पर्धा नगर्ने भएका छन् । २५ मा अखण्डका टिकाराम तिमिल्सीना, ३० नम्बरमा संघीय समाजबादी फोरमका नारायण बहादुर गुरुङ, ११ मा माओबादी केन्द्रका कुमार बहादुर केसी र १२ मा गोविन्द प्रसाद घिमिरेको नाम फिर्ता भएको छ । महिला सदस्य ७ मा स्वतन्त्र उम्मेदवार सुनिता सुनार, १३ मा संघीय समाजबादी फोरमकी चिनिमायाँ नेपाली, १४ मा जनमोर्चाकी देवीकला तुलाचन र १६ मा अखण्ड नेपालकी खेमकुमारी जिसीको उम्मेदवारी फिर्ता भएको छ । दलित महिला सदस्य तर्फ १५ नम्बर वडामा माओबादी केन्द्रकी मिना कुमारी कामीले उम्मेदवारी फिर्ता लिईन् । उम्मेदवारी फिर्ता लिएका सबैको नाम हटाएर शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने सहायक निर्वाचन अधिकृत खुम प्रसाद भण्डारीले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका स्वतन्त्र उम्मेदवार गोपाल गुरुङले फिर्ता लिएका छन् । उनी नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हुन् । यस्तै १ नम्बर वडामा अध्यक्षका स्वतन्त्र उम्मेदवार अनन्त सुवेदी, ११ नम्बर वडाअध्यक्षमा राप्रपाका उम्मेदवार मीन प्रसाद गुरुङ, ५ नम्बर वडामा माओबादी केन्द्रका वडासदस्य दिपेन्द्र गिरी र नयाँ शक्तीबाट १० नम्बर वडाको वडा सदस्यमा उम्मेदवारी दिएका नविन थकालीले फिर्ता लिएका निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिए ।
माछापुच्छ«े गाउँपालिकामा काँग्रेसबाट बागी उठेका दुवैजना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिकामा अध्यक्षका स्वतन्त्र भनिएका उम्मेदवार भीम बहादुर गुरुङ र वडा नम्बर ६ को वडाध्यक्षमा उम्मेदवारी दिएका चित्र प्रसाद गुरुङले फिर्ता लिएका हुन् । मादी गाउँपालिकामा वडा नम्बर ७ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार बिष्णु प्रसाद सापकोटाले उम्मेदवारी फिर्ता लिएका छन् भने रुपामा कुनै पनि उम्मेदवारले फिर्ता नलिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *