२०८१ वैशाख १३ गते | 25th of April 2024

निती र नेता बदल्न कांग्रेसभित्र दबाव

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ६ गते १७:४७

काठमान्डौं । आमनिर्वाचनमा नेपाली काङ्ग्रेसको महापराजयपछि पार्टीसभापति शेरबहादुर देउवाप्रति चर्को असन्तुष्टि बढेको छ र उहाँको राजीनामा माग भएको छ । तर, ०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा काङ्ग्रेस पराजय हुँदा पनि तात्कालिक सभापति गिरिजाप्रसाद कोइरालाले राजीनामा नदिएको उदाहरण दिँदै आफूले पनि सभापति पद त्याग नगर्ने देउवाले स्पष्ट गर्नुभएको छ ।

देउवाविरुद्ध आक्रोश बढ्न थालेपछि निकटवर्ती केही नेताहरूले उहाँको पक्षमा प्रतिवाद गर्दै ‘राजीनामा माग्नेहरूलाई कारबाही गर्ने’सम्मका चेतावनी दिएका छन् । खासगरी नेताहरू डा. प्रकाशशरण महत, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र विमलेन्द्र निधिले पराजयकै कारण देउवाले पदत्याग गर्नु नपर्ने भनी प्रतिवाद गरेका छन् ।

त्यसैगरी महामन्त्री डा. शशांक कोइरालाले पनि ‘पराजयको जिम्मेवारी सबैको हो’ भन्दै देउवाले राजीनामा दिनु नपर्ने धारणा सार्वजनिक गरेका छन् । महामन्त्री कोइरालाले त्यसरी देउवाको पक्षपोषण गर्नुलाई लिएर काङ्ग्रेसभित्र विभिन्न टीकाटिप्पणी भएका छन् । कतिपयले देउवाको ‘मायाजाल’मा परेर शशांकले देउवाको पक्षपोषण गरेको भनेका छन् भने कतिले विकल्प बन्नुपर्ने शशांक देउवाको उत्तराधिकारी बन्ने कसरतमा लागेको टिप्पणी पनि गरेका छन् ।

अहिलेसम्म देउवाको पक्षमा उभिनेहरूमा डा. शशांक र आरजुबाहेक मुख्य चारजना नेताहरू देखिएका छन् । रमेश लेखक, एनपी सावद र वीरबहादुर बलायरहरू पनि देउवाकै पक्षमा उभिने विश्वास गरिएको छ । तर, यतिबेला काङ्ग्रेसमा जुन आक्रोश र असन्तुष्टि पैदा भएको छ, त्यसको सामना गर्न देउवाको टिम सक्षम हुने विश्वास गरिएको छैन ।

नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, खुमबहादुर खड्का, अर्जुननरसिंह केसी, डा. नारायण खड्का र गगन थापालगायतले सभापति पदबाट राजीनामा दिन देउवालाई आग्रह गर्ने र आग्रह अस्वीकार भएमा विशेष महाधिवेशनको निम्ति प्रक्रिया सुरु गर्ने सोच बनाएको बताइन्छ । केही दिनभित्रै काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक हुँदै छ र चुनावी स्थितिको समीक्षा गर्न आयोजना गरिने बैठकमा सभापति पदबाट देउवाको राजीनामा मागिने बुझिएको छ ।

राजीनामा दिन आनाकानी गरे विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु गर्न नेताहरू नै अग्रसर हुने भएका छन् । प्राप्त जानकारीअनुसार प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला र गगन थापा हस्ताक्षर अभियान सुरु गर्ने मानसिकतामा भएको पाइएको छ । तर, रामचन्द्र पौडेल र कृष्ण सिटौलालगायत कतिपय नेताहरू भने देउवाले पदत्याग गरेपछि सभापति को बन्ने भन्ने कुराको टुङ्गो लगाएर मात्र अघि बढ्ने सोचमा रहेका छन् ।

ज्ञातव्य छ, महाधिवेशन प्रतिनिधिहरूको पच्चीस प्रतिशतले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेमा महाधिवेशन आयोजना गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ । यसरी महाधिवेशनको मागलाई मत्थर गर्न देउवाले महासमितिको बैठक बोलाउने सम्भावना देखिएको छ । महासमितिको बैठक मात्र बोलाइएको अवस्थामा पनि देउवाप्रति हाल उत्पन्न आक्रोश केही शिथिल हुन सक्ने ठानिएको छ ।

त्यसअघि नेपाली काङ्ग्रेस संसदीय दलको नेता चयन गर्ने विषयमा पनि काङ्ग्रेसभित्र गम्भीर बहस हुने सम्भावना छ । समानुपातिक सदस्यहरूको टुङ्गो लागेपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुनेछ । संसदीय दलको नेतामा देउवा आफैँ दोहोरिन चाहनुभएको छ । तर, अन्य नेताहरू देउवालाई दलको नेता बनाउने पक्षमा छैनन् । प्रकाशमान सिंह र डा. शशांक कोइरालाले दलको नेता पदमा दाबी गर्ने बुझिएको छ । प्रत्यक्षतर्फ निर्वाचित सांसदहरू (२३ जना) मध्ये बहुसङ्ख्यक देउवाको विपक्षमा रहेका छन् । समानुपातिकतर्फ धेरैजसो महिला सदस्य चयन हुने हुनाले कसको पक्षमा बहुमत हुन सक्छ भनी अहिले नै अनुमान गर्न सकिने स्थिति छैन ।

जे होस्, चुनाव परिणामले नेपाली काङ्ग्रेसलाई आफ्नो नेतृत्व र नीतिबारे पुनर्विचार गर्नुपर्ने अवस्थामा पुर्याएको छ । नीति र नेतृत्व नबदलीकन काङ्ग्रेसले गति र दिशा पाउने विश्वास काङ्ग्रेसभित्र यतिबेला गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *