२०८१ वैशाख ८ गते | 20th of April 2024

फेवाताल किनारमा १९ औँ सडक महोत्सव शुरु

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १३ गते २०:३९

पोखरा। अंग्रेजी नयाँ वर्ष २०१८ आगमनको पूर्वसन्ध्यामा रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा १९औँ पोखरा सडक महोत्सव आजदेखि शुरु भएको छ। ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’भन्ने नाराका साथ शुरु हुने उक्त महोत्सव पोखराको सहिदचोकदेखि खहरे(डिहिकोपाटन)सम्मको करिब तीन किमी क्षेत्रमा सञ्चालन हुनेछ। महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ।

पर्यटकीय नगरी पोखराको मुटु लेकसाइडमा व्यावसायिक हकहितको संरक्षण तथा संवद्र्धनका साथै पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा विकास गर्ने मूल लक्ष्यका साथ यो महोत्सव आयोजना गर्दै आएको महोत्सव संयोजक तथा रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए।

महोत्सव उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीले पोखरा धेरै पर्यटकीय सम्भावनायुक्तस्थल भएको बताउँदै यस किसिमका महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने धारणा व्यक्त गरे।

प्रदेशसभा सदस्य राजीव पहारी, दीपक कोइराला, बिन्दुकुमार थापा, क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा लगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गरे। सो अवसरमा नेपालका सातै प्रदेशका सांस्कृतिक झलक देखाइको थियो भने पोखराका विभिन्न आमा समूह, भजन समूह लगायतको झाँकी प्रदर्शन गरिएको थियो।

महोत्सवको आकर्षणका रुपमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटन खेलकुद, वृत्तचित्र प्रदर्शनी, बाल उद्यान, कार्यक्रमस्थलमै स्वास्थ्यसम्बन्धी जानकारी तथा निःशुल्क सुगर जाँच, ख्यातिप्राप्त कलाकार सविन राई एण्ड दि फारोअ ब्याण्ड, दि स्याडोज ब्याण्ड, मन्त्र, नवीन के भट्टराई एण्ड अतृप्त ब्याण्डका सांगीतिक प्रस्तुति रहने जनाइएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *