२०८१ वैशाख ८ गते | 20th of April 2024

पूर्व मिस नेपालहरु के गर्दैछन ? (फाेटाे फिचर)

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १३ गते २३:०७

काठमान्डौं । मिस नेपाल’ नेपालमा हुने सुन्दरी प्रतियोगिताहरुमा सर्वाधिक प्रतिष्ठित प्रतियोगिता हो । भलै, यसको व्यवस्थापन समस्यारहित छैन र यस प्रतियोगिताको निष्पक्षतामाथि पनि बेला–बेलामा औला ठडिने गरेको छ । यति हुँदाहुँदैं पनि मिस वल्र्ड, मिस इन्टरनेशनलजस्ता अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गर्ने मिस नेपालले नै भएकाले यसको प्रतिष्ठा र गरिमा राष्ट्रको गरिमासँग जोडिने गरेको छ ।

राष्ट्रको प्रतिनिधित्व कुनै व्यवसायिक प्रयोजनको नीजि क्षेत्रलाई पूर्ण विश्वासका साथ सुम्पिने वा राज्यले नै त्यसको स्वामित्व लिने भन्ने कुरामा पनि बहसहरु भएका देखिदैंन् । तर, यसमा बहसको अपरिहार्यता भने जरुरी देखिन्छ ।

‘मिस नेपाल’ हिडेन ट्रेजर नामक निजी कम्पनीले गर्दै आएको छ । हालसम्म यसले २० नेपाल सुन्दरीहरु जन्माइसकेको छ । यसरी मिस नेपाल छनौट भएकाहरु केही वर्ष चर्चा रहन्छन र विस्तारै गुमनाम हुन्छन् । कतिसम्म भने केही नेपाल सुन्दरीहरुको त कहीँ चर्चा भएको समेत सुनिदैंन् ।

मिस नेपालको बिसौं संस्करणबाट अश्मी श्रेष्ठले मिस नेपालको ताज जितेकी छन् । २२ वर्षीय श्रेष्ठले १८ प्रतियोगीलाई पछि पार्दै मिस नेपाल २०१६ को ताज पहिरिएकी हुन् । नेपालले नयाँ मिस नेपाल पाइरहँदा यसअघिका मिस नेपालहरु कहाँ के गर्छन सबैको चासोको विषय भएको छ । यस्तो छ पूर्व मिस नेपालहरुको व्यस्तता :

१. रुबी राणा- (१९९४)

सिंगो संस्करणकै पहिलो मिस नेपाल बनेकी राणा उमेरमा ४० नाघि सकिन् । फाट्टफुट्ट सिनेमामा पनि देखिएकी उनी केही वर्षयता जावलाखेलमा रुबी ब्यूटी पार्लर सञ्चालन गर्दै आएकी छिन् । श्रीमानले पनि उनलाई ब्यवसायमा साथ दिएका छन् ।

मिस नेपाल बनेपछि मिस एसिया प्यासिफिक, फिलिपिन्समा सहभागी बनेकी राणाले त्यसयता उपलब्धिमुलक काम केही गर्न सकिनन् ।
भारतीय सेनाका भूतपूर्व क्याप्टेन जनकबहादुर राणाकी छोरीका रुपमा वीरगन्जमा जन्मिएकी उनले २०५२ सालमा प्रजय विक्रम शाहसँग विवाह गरिन् ।

२. सुमी खड्का- (१९९५)

काठमाडौंमा जन्मिएकी हुन्, दोस्रो नेपाल सुन्दरी सुमी खड्का । यी सुन्दरी पनि नेपालमा मिस नेपाल बनेपछि मिस एसिया प्यासिफिक, फिलिपिन्समा उपस्थित भइन् । तर, उनको असफल उपस्थिति मात्रै रह्यो ।

उनले मोडल र अभिनेत्रीका रुपमा त काम गरिन तर त्यसमा सफलता भने हात पार्न सकिनन् । अन्ततः कतार एयरवेजमा एयर होस्टेस छिन्, खड्का । उनको पनि चर्चाभन्दा बढी छायाँमा परेकी मिस नेपाल हुन् ।

३. पुनम घिमिरे- (१९९६)

काठमाडौंकी घिमिरेको त आम रुपमा चर्चा पनि भएन । नत नेपालका सुन्दरीका रुपमा उनले विशिष्ट छाप नै छाड्न सकिन् ।अम्बर कर सफ्टवेयर कम्पनीको प्रबन्ध निर्देशकको रुपमा कार्यरत घिमिरे पनि मिस नेपाल बनेपछि मिस एसिया प्यासिफिक फिलिपिन्समा सहभागी मात्रै भइन् । र उनको यात्रा त्यसमै सिमित रह्यो ।

४. निलिमा गुरुङ- (१९९७)

एसिया प्यासिफिक फिलिपिन्सकी एक सहभागी गुरुङ अन्ततः एक उद्यमी हुन् ।पोखरामा जन्मिएकी निलिमाको आफ्नै एक ब्यवसाय छ । र, यी सुन्दरीले पनि आफ्नो ताजको खासै उपयोग गर्न सकिनन् ।

५. झरना बज्राचार्य- (१९९७)

अरुको तुलनामा अहिलेसम्म बढी चर्चामा रहने मिस नेपाल हुन्, झरना । त्यसो त, उनी अध्ययनशील सुन्दरी मानिन्छिन् । सन् १९८१ मा जन्मिएकी झरना १६ वर्षमै मिस नेपालको ताज जित्न सफल भएकी थिइन । मिस नेपाल बनेपछि मिस वर्ल्ड, सेचलेसमा सहभागी बनेकी बज्राचार्य नेपाली फिल्मी क्षेत्रमा केही वर्ष जमेरै बसिन् । उनले झण्डैं डेढ दर्जनको हाराहारीमा फिल्ममा अभिनय गरेकी छिन् ।

कुनै समय उनलाई ‘म्युजिक भिडियो क्वीन’ भनेर पनि भनिन्थ्यो । तर, पछिल्लो समय भारतीय मूलका एक मलेसियन ब्यवसायीसँग विहे गरेर सामान्य जीवनयापन गर्दै आएकी छिन् । सामाजिक सञ्जालमा पोष्ट भएका उनका पछिल्ला केही अभिव्यक्तिले के देखाउँछ भने झरनाले मोडलिङ र फिल्म चटक्कै छोडेर मलेसियामै रमाउने सम्भावना बढी छ ।

६. निरु श्रेष्ठ- (१९९८)

ज्योती प्रधानको ताज खोसिएपछि निरु श्रेष्ठ मिस नेपाल बनेकी हुन् । मिस एसिया प्यासिफिक फिलिपिन्सकी एक सहभागी थिइन् । तर, उनले पनि मोडलिङ वा फिल्मलाई आफ्नो करिअर बनाइनन् । अमेरिका बस्दै आएकी श्रेष्ठ अहिले पाइलटका रुपमा कार्यरत छिन् ।

६. श्वेता सिंह- (१९९९)

श्वेता पनि मिस वल्र्ड यूकेको सहभागी मात्रै बनेकी थिइन् । तर, अहिले मिस नेपाल छान्ने जिम्मा छ, उनलाई । पछिल्लो केही वर्षयता उनी हिडन ट्रेजरको कार्यकारी अधिकृतको रुपमा आफ्नो भूमिका देखाउँदै आएकी छिन् । उनले पनि मिस नेपाल जितेपछि आर्जित गर्नुपर्ने ग्ल्यामरस र चर्चा हासिल गर्न सकिनन् ।

७. उषा खड्गी- (२०००)

सुन्दरताको बयान निकै हुनेमध्ये एक सुन्दरी हुन्, उषा खड्की । तर, उनको सुन्दरता यात्रा भने सन्तोषजनक देखिएन । वीरगन्जबाट रुबीपछि मिस नेपालको ताज जित्न सफल भएकी उषाले मिस वल्र्ड यूकेको सहभागी भएकी थिइन । उनले एक उद्यमी तथा टेलिभिजन प्रस्तोतासँग विहे गरिन् । केही विज्ञापनमा फाट्फुट्ट देखिन्छिन् । पछिल्लो समय भने उनले युआर स्टाइलिस बुटिक सञ्चालन गरी काठमाडौंमै बसेकी छिन् ।

८. माल्भिका सुब्बा- (२००२)

धेरै युवाहरुको ‘आइडियल लेडी’को रुपमा चिनिने सुब्बा मिस नेपाल बनेपछि पनि केही वर्ष टेलिभिजन प्रस्तोताको रुपमा अनुहार देखाइन् ।
मोडलिङको साथै उच्च रकममा केही विज्ञापनमा पनि उनलाई प्रयोग गरिन्छ । अन्ततः उनले पनि काठमाडौंकै एक ब्यबसायीसँग विहे गरी औसत जीवनयापन गर्दै आएकी छिन् । उनले केही फिल्म र म्युजिक भिडियोमा अभिनय समेत गरेकी छिन् । उनले एउटा म्यागेजिनको समेत सम्पादन गर्दै आएकी छिन् ।

९. प्रीति सिटौला- (२००३)

१६ प्रतियोगीलाई पछि पार्दै मिस नेपाल सन् २००३ बनेकी हुन् काठमाडौंकी प्रिति सिटौंला । मिस वल्र्ड चाइनामा सहभागी बनेकी सिटौला पनि टेलिभिजन कार्यक्रममा प्रस्तोताको रुपमा केही वर्ष देखिइन् ।तर, पछिल्लो समय भने हिडेन ट्रेजरमा प्रोग्राम संयोजकको भूमिका पाएकी छिन् ।

१०. पायल शाक्य- (२००४)

सुन्दरी मिस नेपालको चर्चा हुँदा पायलको पनि विशेष चर्चा हुने गर्छ ।सन् २००४ मा पायल मिस नेपाल भएकी थिइन । चकलेटी अनुहार, आकर्षक जिउडाल पायलका विशेषता हुन् । उनी गैडा संरक्षण र विभिन्न सामाजिक काममा समेत सक्रिय भएकी थिइन । शाक्य पनि मिस वल्र्ड चाइनाको एक सहभागी थिइन् । सन् १९८६ मा जन्मिएकी पायलले २०११ मा अग्लिज ब्याण्डका सरुण ताम्राकारसँग बिहे गरिन् । शाक्य अन्ततः अस्ट्रेलिया पुगिन । अहिले सिड्नीमा बस्दैं आएकी छन्, उनी ।

११. सुगरिका केसी- (२००५)

मिस नेपाल बनेकी केसीको आउटलुक आकर्षक छैन भनेर सधैं आलोचना भइरह्यो । तर, अनुहारको सुन्दरता कमजोर भए पनि ‘एकेडेमिक’ भने हुन् उनी । रेडियो प्रस्तोताको रुपमा आफ्नो करिअर सुरु गरेकी केसीले मिस नेपालको ताज पहिरिएपछि मिस वल्र्ड चाइनामा सहभागी भइन् र सुन्दरताको यात्रा त्यतिमै सिमित भयो । पछिल्लो समय उनी एक सोसल इन्टरप्रेनरको रुपमा चिनिन्छिन् । –  नेपालीपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *