२०८१ वैशाख ८ गते | 20th of April 2024

काँग्रेसको पोखरा परिकल्पना

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २४ गते ५:४१

प्रकाश ढकाल
पोखरा, २४ बैशाख ।
नेपाली काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकालाई पाँचबर्षभित्र सुविधासम्पन्न र आधुनिक सहरको रुपमा विकास गर्ने जनाएको छ । स्थानीय चुनावको सम्मुखमा सबैजसो पार्टी र स्वतन्त्र उम्मेदवारले स्थानीय तहको विकास खाका सार्वजनिक गरिरहेका बेला काँग्रेसले नगरको घोषणापत्र सार्वजनिक गर्दै पोखरालाई अन्तराष्ट्रिय रुपमै नमूना शहर बनाउने प्रतिबद्धता जनाएको हो । महानगरको सडकसञ्जाल स्तरोन्नती गरी सुविधासम्पन्न यातायात सञ्चालन, सञ्चार र खानेपानी सुविधा, ढल र फोहोर ब्यवस्थापन गरेर प्रदुषण मुक्त शहरमा पर्यटन मैत्री वातावरण सिर्जना गर्ने घोषणापत्रमा उल्लेख छ ।
पोखरामा बढ्दै गएको ट्राफिक जामलाई न्यूनिकरण गर्न फ्लाई आभेर टनेलमार्ग र आकासे पुल निर्माणलाई प्राथमिकता दिने काँग्रेसको योजना छ । यस्तै सम्भाब्यता अध्ययन गरेर मोनोरेल निर्माणका लागि पनि जोड दिने जनाएको छ । स्थानीय तहमा उद्यमशीलताको लागि युवाको सीप विकास गर्दै कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र पर्यटकीय गतिविधिको चहलपहल बृद्धी गर्ने काँग्रेसले जनाएको छ । उन्नत बीउ, कर्जा र बीमा मार्फत कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धिमा जोड दिने, वैकल्पिक ऊर्जा, साना जलविद्युत् र सिँचाइका आयोजनामार्फत उत्पादकत्व बढाउने बिषयलाई प्रमुखताका साथ उठाईएको छ ।
बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीपलाई उत्पादनमुलक प्रयोजनमा लगानी गर्ने र लाभांश पाउने गरी रेमिट हाईड्रो, रेमिट पूर्वाधार, रेमिट आवास जस्ता आधुनिक कार्यक्रम सञ्चालन गर्ने काँग्रेसको योजना छ । महानगरका प्रत्येक वडामा उद्यान, शान्तीवन बाटिकामा नमूना बोटानिकल गार्डेन निर्माण, महानगरभित्रै एक घर एक रुख, एक गाउँ एक वन र एक नगर अनेक उद्यान कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । सबैलाई भरपर्दो, स्तरीय र सुलभ स्वास्थ्य सेवा भन्ने मूल लक्ष्यका साथ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति उत्पादन तयार गर्ने, माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्ने नीति काँग्रेसको छ ।
महानगरका ३३ वटै वडा जोड्ने गरी चक्रपथ निर्माण गर्ने, सबै वडाबाट केन्द्र जोड्ने पक्की सडक बनाउने, राजमार्गबाट पोखरा भित्रिने र महानगरमा चल्ने सवारीका लागि छुट्टा छुट्टै बसपार्क निर्माण गर्ने, महानगरभित्रै मेट्रो रेल सञ्चालनका लागि आवश्यक काम गर्ने घोषणापत्रमा छ । ‘सबै कामहरु बिज्ञको सल्लाहमा योजनापूर्वक गरिनेछ । २०४९ सालमा काँग्रेसका उम्मेदवारले थालनी गरेका कामहरु पूरा गर्नेछौं, घोषणापत्रमा भनिएको छ–महानगरका विभिन्न ठाउँलाई स्मार्ट सिटी र पोखरा लेखनाथलाई मेट्रो सिटीको रुपमा विकास गरिनेछ ।’ पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण यथासक्य सम्पन्न गर्न दवाव दिने, तालतलैयाको संरक्षण र प्रवद्र्धन, सबै ताल जोड्ने लिकं रोड सहित साईकल तथा फुट ट्रयाक निर्माण र तालहरुको उपयोग गरी उर्जा उत्पादन तथा मत्स्यपालनमा जोड्ने योजना काँग्रेसको छ । नगरभित्रको फोहोरमैला ब्यवस्थापन सहित बैकल्पिक उर्जा उत्पादन गर्ने, धार्मिक तथा साँस्कृतिक क्षेत्रहरुको विकास र संरक्षण गर्ने, हातहातमा स्मार्ट फोन, वाईफाई र इन्टरनेट तथा पुस्तकालय सहित सामुदायिक श्रोत केन्द्र ब्यवस्थापन गर्ने जनाईएको छ ।
महानगरको प्रमुखमा दावेदारी प्रश्तुत गरेका रामजी कुवँरले घोषणा पत्र कार्यान्वयन आफ्नो पहिलो प्राथमिकता हुने बताए । उनले पोखरालाई पाँचबर्षभित्र श्रोत साधन सहितको समृद्ध महानगरका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हामीसँग अथाह श्रोत साधन छन् । परिचालन मात्रै हुन नसकेको हो, उनले भने–यहीँको श्रोत उपयोग गर्न सके केन्द्रिय अनुदानमा भर पर्नु पर्दैन । यो हाम्रै कार्यकालमा सम्भव छ ।’ कुवँरले प्रविधीमैत्री संरचना तयार गरेर कागज विहिन कार्यालयको रुपमा विकास गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *